18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

असमका साहित्यकार युद्धवीर राणासँग कुराकानी

वार्ता ॠतु आसीक February 21, 2010, 5:22 am
ॠतु आसीक
ॠतु आसीक

भारतीय नेपाली असमका युद्धवीर राणालाई साहित्यकार, शिल्पकार बहुमुखी प्रतिभाका धनीका रुपमा चर्चा गरिन्छ । उहाँमा भएको सोझोपन तथा फरासिलो व्यवहारबाट जो कोही पनि प्रभावित हुन्छ । उहाँको शिल्पकलायात्रा डिगवोईमा सन् १९५६ मा माटोको हात्ती बनाई प्रथम पुरस्कार प्राप्त गरेपछि शुरु हुन्छ । सन् १९६६ मा भएको काष्ठकला प्रतियोगितामा असम राज्यभरिमा प्रथम पुरस्कार पाउनु भएको थियो ।

सिक्किम नेपाली साहित्य परिषद्बाट २००५ मा कृष्ण स्मृत्ति पुरस्कार पचास हजार रुपैया र मान पत्र र सम्मान प्राप्त गर्नु भएको थियो । उहाँका गीत एल्वमहरुमा गीत रेकर्ड भइरहेका छन् ।

उहाँका प्रकाशित कृति (२००२) मा मानव यात्रा, नेपाली संस्कृति : हाम्रो अस्तित्व (२००६) ४ थान कृति प्रकाशित भएर अन्य पाण्डुलिपी अप्रकाशित अवस्थामा छन् । शिल्पकार युद्धवीर राणाद्वारा निर्मित तेल नगरी डिग्वोई स्थित नेपाली मन्दिरको परिसरमा अग्रज कवि भानुभक्त आचार्यको पूर्ण कदको मूर्तिलाई प्रतिष्ठापित गरिएको छ ।

शिक्षक पेशाबाट निवृत हुनु भएका साहित्यकार एवं शिल्पकार युद्धवीर राणा जो २ नं. असमिया गाउँ, टिराईमा बसोबास गरिरहनु भएको छ । उहाँको निवास पुग्दा आफैद्वारा निर्मित विभिन्न शिल्पकारिता उहाँको बैठक कोठामा देख्न सकिन्छ । शिल्पकार एवं साहित्यकार युद्धवीर राणासंग स्वतन्त्र पत्रकार ऋतु आसिकद्वारा लिइएको अन्र्तवार्ता ।

(यस अन्र्तवार्तामा असमका साहित्यकार कविरसिंह क्षेत्रीको सहयोग रहेको छ )

(१) तपाईको दृष्टिमा साहित्य एवं शिल्प विधा भनेको के हो ? साहित्य किन लेखिन्छ ? शिल्प किन निर्माण गरिन्छ ? साहित्य र शिल्प बारेमा के भन्नु हुन्छ ?

मेरो दृष्टिमा साहित्य भनेको भाषाको परिमार्जित रुप हो, जस्तै कि भाषा भनेको ध्वनियुक्त संकेत हो । भाषामा व्याकरण हुँदैन । तर साहित्यलाई व्याकरणले बाँधेको हुन्छ अथवा यसो पनि भन्न सकिन्छ कि भाषालाई व्याकरणले माझेर साहित्य वनाइन्छ । साहित्य हुनुको अर्थ हो भाषामा एकै रुप वा एकता ल्याउनु ।

साहित्य र शिल्प एउटै शरीरका दुई हात तुल्य हुन् । साहित्यले लेखेर भाव वर्णन गर्छ भने शिल्पले नबोली, नलेखी भाव प्रकट गर्दछ । कुनै चित्रकला वा शिल्पकला हेर्ने बित्तिकै हामी अड्कल काट्छौं वा बुझ्छौं त्यो कलाले के भन्न खोजेको छ ।

साहित्य किन लेखिन्छ औं शिल्प किन निर्माण गरिन्छ भन्ने प्रश्नको उत्तर म एकैचोटी दिन चाहन्छु । यी दुवैको उद्देश्य हो इतिहास निर्माण गर्नु । मानिसका मनमा उब्जेका विभिन्न भावना, कल्पना आदिलाई लेखनीद्वारा प्रकाश गर्नु तथा जाति, समाज र राष्ट्रमा पु¥याउनु, सन्देश दिनु । अन्तिम प्रश्न खण्डको उत्तर यसरी दिऊँ – साहित्य–कला वा शिल्प छ र नै मनुष्य जातिको अस्तित्व छ, चेतनशील छ र नै मानिस श्रेष्ठ प्राणी भएको छ । नत्र भने पशु र मानिसमा अन्तरै रहन्न ।

(२) साहित्य लेखनका साथै शिल्प निर्माणका लागि प्रेरणा कसरी पाउनु भयो ?

साहित्यप्रति प्रभावित त कलिलै उमेरमा भएको थिएँ । तर लेखनमा प्रेरणा दिने व्यक्तिको नाउँ लिनुपर्दा स्व. कवि तथा गीतकार हरिभक्त कटुवालको नाउँ लिनुपर्छ । अँ शिल्पकला तथा चित्रकला भने मेरो जन्मगत प्रवृत्ति हो भन्दा अत्योक्ति हुँदैन । शिशुकालमा चार पाँच बर्षबाटै माटाका मूर्ति बनाई खेल्ने गर्थे । त्यसबेला मलाई मार्ग दर्शन गर्ने कोही त्यस्तो व्यक्ति वा गुरु थिएन । आफ्नै कल्पनाले बनाउने गर्थे । तर एकलव्यको साधना झैं गर्दै जाँदा सन् १९५६ मा डिगबोई शहरभित्र माटाको हात्ती बनाई प्रथम पुरस्कार जित्न सक्षम भएँ । यसै रितले काष्ठकला साधना पनि चलिरह्यो । सन् १९६६ मा काष्ठकला प्रतियोगितामा असम राज्यभरिमा प्रथम पुरस्कार ९द्यभकत एचष्शभ० जितें । यसपछि मात्र कवि कटुवाल, साथी डा. सुनिल थापा (वर्तमान काठमाण्डौं) आदिले प्रोत्साहन दिन्थे – साधना नछोड्नु हैं भन्थें । साँचो भन्नु हो भने प्रथम अवस्थामा मलाई कसैले प्रोत्साहित गरेको होइन । यो मेरो आफ्नो कल्पना, भावना र साधना हो ।

(३) जीवनको उत्तरार्धमा आफूभित्र साहित्यकार एवं शिल्पकार हुने सपना कतै पाल्नु भएको थियो ?

बाल्य कालमा त्यस्तो सपना पालेको सम्झिन्न । आफ्नै सुरमा मूर्ति बनाउने गर्थे, आफैं रमाउँथे साथै गीत लेख्थें, गाउँथे । तर कसैको प्रेरणा र मार्ग दर्शन पाइन । कक्षा नौं मा पढ्दा संस्कृत श्लोक पढ्ने मौका पाएँ –

“साहित्य संगीत कला विहीन साक्षात पशु पुच्छ विषाणहीण

त्रिणाम् नखादन्नपि जीवमानस तत् भाग्यध्ययम् परम पशुनाम ।”

यो श्लोकले भने मलाई ठूलो प्रेरणा दियो र साहित्य–कलाप्रति दृढ साधक बन्न पुगें । त्यसैको परिणाम हो आजको म ।

(४) तपाईका बाल्यकालका क्षणहरु बारे केही भन्न चाहनु हुन्छ ?

कला मेरो जन्मगत प्रवृत्ति हो । टुकुर टुकुर हिड्ने भएपछि ताछ्न, काट्न मलाई आँसी वा छुरी कटारी केही चाहिन्थ्यो अरे भनेर आमा भन्नुहुन्थ्यो । आठ दश बर्ष हुँदा घरको एउटा कुनामा धार नभएको एउटा आँसी भेटेर आमालाई सोधेको थिएँ – “ आमा । यो आँसीमा धार किन छैन ?” तलाई आँसी नभई नहुने, हात काट्ला भनेर धार नभएको आँसी तेरो निम्ति बनाएको हो । यसरी बालक कालबाटै काट्न, ताछ्न रुचाउँदो रहेछु पछि थाहा लाग्यो । त्यसैको फलस्वरुप होला आज म काष्ठ कलाकार भएँ ।

एउटा घटना पाँच बर्षतिरको हो । एउटा माटाको गोरु बनाएर अगेनाको डिलमा सुकाएको थिएँ । आमाले चुल्हामा काम गर्दा ठक्कर लागेर भाँचियो । मलाई साह्रै दुःख लाग्यो । रिस र दुःखले आमाको चुल्ठो समाती पिठ्युँमा मुड्कीले हानेको थिएँ । त्यही कलाको आग्रह र अभ्यासले आज म मूर्तिकार भएँ । सानैबाट चित्र कोर्थे, तर सिकाउने गुरु कोही थिएन र पनि आफ्नै प्रयास र लगनले चित्रकारको रुपमा पनि म चिनिन्छु । चौथो कक्षामा पढ्दा लेखनाथ पौड्यालको कविता पढ्दा मेरो आँखा रसाउँथे । त्यसैको फलस्वरुप “चिहान नपाएका तक्माहरु” कविता लेख्ने कवि भनी चिन्हिएँ ।

बालक कालबाटै ती टाढा देखिने नीला पर्वतहरु नीलो आकाशमा आच्छादित सेता बादलका पुञ्जहरुले मेरो मन हर्थे, म मोहित हुन्थें । म कल्पनामा जाल बुन्थें । रुखका बाङ्गा टिङ्गा आकारका हाँगा, जरा आदिमा के के जाति रुप पाउँथे । यसरी बिस्तारै ठूलो हुँदै जाँदा समझदारी बढ्दै गयो, प्रयास गर्दै गएँ र आज साहित्य, संगीत, कलामा थोरै भए पनि परिचित भएँ ।

(५) जीवनको उद्देश्य, जीवनको मूल्य, जीवनका अवसान यी तीन पहललाई कसरी हेर्नुहुन्छ ?

बिना उद्देश्य वा लक्ष्यले बाँच्ने मानिसले कहिल्यै केही गर्न सक्तैन । साँचो भन्ने हो भने त्यस्तो मानिस खानका लागि मात्र बाँचेको हुन्छ । त्यसको जीवनले सार्थकता पाउने कल्पनै गर्न सकिन्न र जीवन सार्थक पार्नका लागि उद्देश्य मानिसमा हुनै पर्छ । तर लक्ष्य प्राप्तिका लागि साधना, दृढ संकल्प, मनोबल, आत्मविश्वास र परिश्रमको आवश्यकता पर्छ । यिनै कुराले मानिसलाई लक्ष्य प्राप्ति गराउँछ वा उद्देश्य पूर्ति हुन्छ ।

अब आयो जीवनको मूल्य बारे प्रश्न । श्रेष्ठ जीव मानव भएर जन्मेपछि उसले मानवका निम्ति अर्थात् जाति, समाज, राष्ट्र आदिका निम्ति केही न केही जीवनमा गर्ने पर्छ औं त्यही नै हो जीवनको मूल्य । उपरोक्त कुरासँग संलग्न रहेर अघि बढ्ने मानिसको जीवनको मूल्य मूल्यवान मात्र नभएर अमूल्य हुन्छ ।

अवसान वा मृत्यु यो त स्वतः सत्य हो । जन्म र मृत्यु दुवै सत्य हुन् । जन्म लिएपछि मृत्यु हुन्छ नै । त्यसो भनेर एक दिन मर्नुपर्छ भनेर केही नगरी बस्नु त्यो धरतीलाई बोझ मात्र हुन्छ । मर्ने बेलासम्म मानव समाजका निम्ति जसले केही गरेर मर्छ त्यो मरेर पनि बाँचेको हुन्छ । मृत्युको भयले भागिहिड्ने वा मर्नैपर्छ भनेर मृत्यु पर्खेर बस्नेले मानवताका निम्ति केही गर्न सक्तैन र उसको मानव जीवनले सार्थकता लाभ गर्न सक्तैन । भगवान बुद्ध, गान्धी आदि मरेर गए, रामकृष्णले पनि चोला फेरे । यहाको अमर भयो र ? तर पनि उनीहरुले मानव जाति र राष्ट्रलाई केही दिएर गए र नै आज उनीहरु मरेर बाँचेका छन् । यही तत्व उजागर गरेको छ घाँसीको कुवाले, भानुभक्तको रामायणले । त्यसो भए मृत्युले मानिसलाई मानवताका निम्ति अथवा भनौं पिंढी – परपिंढी आदिका निम्ति केही गरिछोड्ने चेतना दिंदोरहेछ भन्ने प्रष्ट ज्ञान दिन्छ । त्यसैले मलाई त यस्तो लाग्छ मृत्यु समाप्ति नभएर सृष्टि हो ।

(६) साहित्यकार एवं शिल्पकारले विकृति विसंगतिका विरुद्ध कसरी तालमेल गर्दै आफ्ना भावनाहरु अभिव्यक्त गर्नुहुन्छ ?

सकेसम्म विकृति र विसंगतिको विरुद्धमा विरोध आवाज उठ्नुपर्ने, उठ्दैन । म एक्लै लड्न पनि सक्तिन । तर जहाँसम्म सकिन्छ लेख, कला आदिद्वारा मानिसलाई सही कुराको जानकारी भने बेला बेलामा दिइराखिएको छ र दिनु पनि पर्छ । यस्तै कुरालाई ध्यानमा राख्दै आफ्नो संस्कृति नविटुलिओस् भनेर “नेपाली संस्कृति हाम्रो अस्तित्व” लेखें । असममा बस्ने नेपाली मानिसको भाषा–संस्कृति यहाँको स्थानीयताको प्रभावले विटुलिनु त स्वभाविकै हो । तर नेपालका नेपालीहरुको भाषा–संस्कृति विटुलिनु उदेकको कुरा हो । अचेल नेपालमा पञ्चेबाजा, नौमती बाजाका ठाउँमा पश्चिीमे बाद्ययन्त्रको चलन बिहेबटुलोमा धेरै भइरहेछ । विशेष गरी नेपाली युवतीहरुको पहिरन देख्दा कतै हामी ढुंगे युगतिर त गइरहे छैनौं जस्तो लाग्छ । जिन्स् पेण्ट लगाउँछन्, नाइटो देखाएर पाँच छ इन्च तल अथवा मिनी स्कर्ट भुइँ कोप्रो देखाएर । आधा वक्ष उदाङ्गो यस्तै यस्तै ......... । हामीले गाउने झ्याउरे, मालश्री, सोरठी गीतमा अचेल रक, पप, क्याबे्र, डिस्को आदिले ठाउँ पाएको छ । जेन होस् यस्ता सुनामी लहरहरु आइरहेछन् र पनि म आफ्ै स्वच्छ संस्कृति, भाषामा अडिग छु ।

साहित्यकार भनाउँदाहरुले पनि धेरै जसो बलात्कार, यौन उपभोग, सस्तो प्रेम, प्रायडवादी मनोभावलाई प्राधान्य दिएका हुन्छन् । धेर जसो विकृति चलचित्रले ल्याएको छ । चलचित्रमा यस्ता दृश्य पनि प्रचार भइरहेछन् । जसमा प्रतिबन्ध लाग्नु पर्ने, लाग्दैन । सब थोक पैसामा बेचिएको छ । बाबु–आमा, छोरा–छोरीसंगै बसेर चलचित्र हेर्न सकिन्न, टि.भी. सिरियल हेर्न सकिन्न, दृश्यले सीमा नाघेको हुन्छ । जे नै हो म त मूल सडकमै हिड्न रुचाउँछु, फोहोर नालामा र फोहोर गल्लीहरुमा म पस्न चाहन्न । साहित्यकार शिल्पकार भए पनि म चोखो साहित्य सृजना गर्न चाहन्छु रं कलाका माध्यमबाट पनि समाजलाई चोखो सन्देश दिन चाहन्छु जसले मानव जातिको हित होस् ।

(७) तपाई आफूले रचना गरेका कृतिहरुमा सबभन्दा बढी मनपर्ने रचना कुन होला ?

लामो कविता – “चिहान नपाएका तक्माहरु” ।

(८) महिला बर्गको शोषण उत्पीडनका लागि अश्लील साहित्यको झन झन गहिरो प्रभाव पारेको परिप्रेक्ष्यमा त्यसका विरुद्ध जुध्न कस्तो रणनीति आवश्यक होला ?

हामी साहित्यकारले मात्र लेखेर कसले पढिदिने, कसले सुनिदिने, कसले मानिदिने ? दिनहुँ चलचित्रमा सोही कुरा प्रदर्शित भइरहेछ । अश्लीलता, बलात्कार बिना चलचित्र अचेल बन्दैन भन्दा अत्युक्ति नहोला । शुद्ध भाषा–साहित्य, संस्कृतिलाई जोगाउने कतिजना होलान् र ?

यो भेल रोक्ने उपाय एउटै छ, त्यो हो कानुनी प्रतिबन्ध र दण्ड विधान एवं जरिमाना । यसरी नै अश्लील साहित्य लेख्ने प्रति पनि सोही प्रकारको बिधान होस् र यस्ता पुस्तक, पत्रिका पनि कानुनी विधानद्वारा खारेज हुनुपर्दछ ।

(९) नेपाली साहित्यकारहरुमा तपाईलाई कुन साहित्यकारको रचनाले बढी हृदय छोएको छ ?

स्व. नाटककार बालकृष्ण समको “चिसो चुल्हो” महाकाव्यले ।

(१०) साहित्यकारले कुनै आस्था र विश्वास बेगर जीवन्त साहित्य लेख्न सक्छ ?

असल साहित्य सृजनामा यी दुवै थोक त हुनै प¥यो । नत्र जीवन्त साहित्य सृजना कसरी होला र ?

(११) भारतीय नेपाली समाजमा गोर्खा भाषा र नेपाली भाषाको साँध लगाएर कतै धमिलो पानीमा माछा मार्ने कुरा सुनिएको छ नि ?

तपाईंले सुनेको कुरा साँचो हो, तपाईंका कान टाठा रहेछन् । तर सुनेर मात्र हुँदैन, असल कुरा जनसाधारणलाई बुझाउन तपाईहरुले पनि कलम चलाउनु पर्छ । के गर्नु म त एक्लो वृहस्पति झुटो भएको छु, अझ प्रश्न म माथि खन्याईदिनु भयो ।

कुरा यसो भयो – हाम्रा नेपाली जनता शिक्षित त भए तर बुद्धिमान हुन सकेनन् । यो त जेप तताउने बाटो हो । स्वार्थसिद्धका निम्ति जसो गर्दा पनि भयो, जे बोल्दा पनि भयो । फेरि वर्तमान विद्यालयहरुमा भूगोल र इतिहास विषय पढाइँदैन । त्यसैले पनि यस्तो हुन गएको छ । भनाइ छ – “जसले इतिहास जान्दैन उसले केही जान्दैन ।” हाम्रो बानी, बेहोरा, समझदारी पनि त्यस्तै कमजोर छ भन्न मन लाग्छ । भेडाको थुम्मा जता गयो अरु भेडा उतै लाग्छन् । हामी पनि नेताको कुरा बुझ्दै नबुझी ताली पिट्छौं । न सोची न सम्झी भेडा भएर उसैका पछि लाग्छौं ।

यहाँ असममा कस्तो हल्ली छ भने नेपाली भन्नु नेपालको नागरिक हुन्छ र गोर्खा भन्नु पर्छ, बल्ल स्वेदशी हुन्छ । यो वाक्य थियो गो.रा.मु.मो. का नेता सुवाष घिसिङको – मलाई कसैले आएर बुझाइदिउन् नेपाली नेपालको हुन्छ भने गोर्खा चैं कहाँ प¥यो ? भारतमा कि नेपालमा ? नेपाल भारतका निम्ति विदेश हो त गोर्खा (गोरखा) नेपालको जिल्ला भारतमा स्वदेश कसरी भयो ? गोर्खा भाषा कसरी स्वेदशी हुन्छ ? हो भने गोर्खा ÷ गोर्खाली वा नेपाली भन्नु एउटै हो । नेपाली र गोर्खा भाषा भनेको एउटै हो । होइन भने नेपाली भाषालाई गोर्खा भाषामा अनुवाद गर्न सक्ने पण्डित देखापरोस् ।

(१२) असमको जुनसुकै भेगमा बसेका नेपालीहरुको पहिचान, नेपाली जातिले बोलेको भाषा भेषप्रति जगेडा गर्नुपर्नेमा कतै अवरोध खडा गरिनु कत्तिको न्यायसंगत लाग्छ ?

कुनै पनि जातिको परिचय अथवा परिचय उनीहरुको भाषा, भेष–भूषा, संस्कृति आदिबाट हुन्छ । यिनीहरु हरिनु वा हराउनुले जाति नै हराउँछ । जाति बचाउनलाई यिनै कुराहरुको संरक्षण गर्नुपर्छ । असमका कैयौं यस्ता जिल्लाहरु पनि छन् जहाँ नेपालीहरुले घरमा अथवा सभा आदिमा असमिया भाषा बोल्दछन् त्यसमा उनीहरु गौरव ठान्दछन् । मेरो सोचाइले यसलाई स्वीकार्दैन । हामी नेपाली भाषी संसारको कुनै कुनामा किन नबसँु तर आफ्नो भाषा संस्कृतिको जगेडा गरेर जातीयतालाई ज्यूँदो राखुँ । हो, हामी स्थानीय समाजमा पनि मिलेर बसुँ आवश्यकता अनुसार भाषा बोलिदिऊँ, पढिदिऊँ, नाचिदिऊँ, गाइदिऊँ । तर आफ्नो घरमा, नेपाली समाजमा शुद्ध नेपाली भाषा, धर्म–कर्म, सांस्कृतिक आचार व्यवहार अक्षुण्ण राखेर एउटा ज्यूँदो जातिको परिचय दिऊँ । झन अचेल त गोर्खा शब्दले सारा परिवेश घोत्ल्याएर धमिलिएको छ । मयुरका प्वााख टाँसेर कौवा कति दिन नाच्ने ? टाँसेका प्वाँख दुईचार दिनमा झरेपछि कौवा कौवै हुन्छ ।

(१३) गोर्खा भाषा भन्नाले “गोरखा” स्थान विशेषको मात्र इंगित गर्ने बुझिदैन र ? यसभित्र लुकेका अन्य कुराहरु पनि छन् ?

हो नेपाली भाषा भन्नाले नेपालको भाषा बुझिन्छ यसरी नै गोर्खा गोरखाको भाषा नै बुझिन्छ । जस्तै असमिया भाषा असमको, बंगला भाषा बंगालको, उडिया भाषा उडिस्याको, पंजाबी भाषा पंजाबको । यसरी प्रत्येक भाषाले ठाउँ विशेषलाई इंगित गरेको त हामी सबैलाई थाहा छ । गोर्खा भाषाले गोरखा ठाउँलाई इंगित गर्छ । यो ठाउँ वर्तमान नेपालको एउटा ठाउँ वा जिल्ला हो । त्यसैले गोर्खा, गोर्खा भाषा, गोर्खाली आदि सबै नेपालकै सम्पत्ति हुन् भारतमा कसरी स्वदेशी हुन्छ ?

अहिले नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसुचीमा मान्यता पाइसकेपछि यस कुरालाई घोत्ल्याउनु अनुचित हुँदैन । अब त यस भाषालाई वा नेपाली साहित्यको कसरी उन्नति गर्ने भन्ने सोच्नु परेको छ । वृथा जाति तथा भाषालाई दुई फ्याक पारेर आफनो झोला भर्ने नीति भाइमारा कहलाउँछ । यही नीति लिएर हिड्ने सुवाष घिसिङको चालामाला बुझ्न अझैं बाँकी छ र ? गोर्खाल्याण्ड शुरु भएपछि गोर्खा पार्वत्य परिषदले मान्यता पाएको पनि सात बर्ष वितिसक्यो । यस अवधिमा दार्जिलिङमा कति उन्नति भयो त्यहाँका बासिन्दालाई सोध्दा प्रष्ट भैहाल्छ ।

(१४) तपाईलाई आफ्नो जीवनमा सबभन्दा बढी प्रभाव पार्ने पुस्तक कुन हो ?

मेरो जीवनमा सबभन्दा बढी प्रभाव पार्ने पुस्तक माथि उल्लेख गरेकै हो सो नाटककार बालकृष्ण समको “चिसो चुल्हो” हो । यस पुस्तकमा जात पात, छुवाछुत आदिले मानव जातिलाई कसरी हनन गरेको छ देखाईएको छ । यसै भावनालाई समेटेर मानव जातिलाई एक ईश्वरको एउटै जाति भेदाभेद नहोस् भन्न मैले सन् २००२ मा “मानव–यात्रा” पुस्तक लेखे ।

(१५) जीवनको यो दौडमा आइपुग्दा आफूले लेखेको साहित्यबारे कतै आत्मनिरीक्षण गर्नुपर्ने महशुस गर्नुभएको छ ?

खै यस कुरामा आजसम्म त्यस्तो महशुस गरेको छैन । मैले भटाभट पुस्तकको संख्या पनि बढाएको छैन । जाति र समाजलाई आवश्यक परेमा विषयमा मात्र पाइला चालेको छु । मैले सिर्जेका साहित्य कृतिको निरीक्षण पाठकले गर्नेछन् ।

(१६) साहित्यमा प्रेम र यौनको महत्वको बारेमा कसरी व्याख्या गर्नुहुन्छ ?

प्रेम र यौन एकै वस्तु होइनन् । प्रेम त एकै लिङ्गीसंग पनि हुन्छ, माता–पिता, छोरा–छोरी, पशु–पंक्षी सबैंसंग हुनसक्छ । तर यौन संयोग सबैसंग हुँदैन । त्यसैले यी दुई विषय पृथक हुन् । प्रेम मानसिक सुखका निम्ति हो भने यौन सुख दैहिक हो, भौतिक हो । यस अन्तरलाई नबुझेर साहित्यकारहरुले मुछेर पस्केको पनि देख्न पाइएको छ । त्यसर्थ कबिरदासले एक ठाउँमा लेखेका छन् – “प्रेम प्रेम सबकोउ कहत प्रेम नजानत कोय” । अर्थात् प्रेम प्रेम र सबैले भन्छन् तर प्रेमको अर्थ बुझेका हुँदैनन् । अझ स्पष्ट रुपले यी दुईको अन्तर यसरी देखाउन सकिन्छ – प्रेमको व्यापार हुँदैन, तर यौन व्यापार भइरहेछ, हुन्छ, बलात्कार हुन्छ । यो भयो यौन पिपासाको विकृत रुप । यस कुरालाई धेर नलम्याएर यत्ति मै राखें ।

(१७) तपाई जहाँ जुन परिवेशमा हुनुहुन्छ, त्यहाँ त्यस क्षेत्रका कुन भाषाले नेपाली साहित्यमा प्रभाव पारेको छ ? यसबारे भनिदिनु हुन्छ कि ?

उत्तर ः म बसेको परिवेश असमिया भाषाीद्वारा नै बनेको हुनाले नेपाली साहित्यमा पनि यसको प्रभाव पर्नु स्वभाविकै हो । त्यसैले हामी बोल्ने भाषामा कतै कतै असमिया शब्द वृहत हुन्छन् । विशेष गरी लेख्ने बोल्ने शैली, व्यवहारका विधि विधान तथा गीत नृत्य आदिमा समेत चोखो नेपाली पन रहन गएको छैन । साहित्यमा पनि आदान प्रदान अनुवाद कार्य नेपालीबाट असमिया र असमियाबाट नेपाली भइरहेछन् । मैले पनि हालै “नया पिंढीलाई” पुस्तक असमियाबाट नेपालीमा अनुवाद गरें ।

(१८) तपाईको दृष्टिमा अश्लील साहित्य र श्लील साहित्यको मापदण्ड के हो ?

म कलाकारको रुपमा चिनिएको हुनाले म त्यस पक्षबाट उत्तर दिन चाहन्छु । जुन दृश्यले, जुन कलाले (चित्र, भाष्कर्य), जुन साहित्यिक विवरणले कामोत्तेजना वृद्धि गर्छ अथवा मानव समाजमा त्यो खड्किन्छ त्यो अश्लील हो । एउटी युवतीको सर्वाङग नाङ्गो चित्र वा भाष्कर्य अश्लील होइन । हामीले नाङ्गै छोरा–छोरी, नाति–नातिना खेलाउँछौं, म्वाइँ खान्छौं, छातीमा अँगाल्छौं त्यो अश्लीलता होइन । त्यो हो आन्तरिक माया–प्रेम ।

तर काम वासनालाई प्रोत्साहित तुल्याउने प्रकारको दृश्य, चित्र, भाष्कर्य वा वर्णना भयो भने त्यो अश्लील हो । व्यापारको धन्धामा यस खालका अश्लील दृश्य, वार्ता समावेश गरिएको हुन्छ जसबाट पैसा कमाउन सजिलो पर्छ । नारीका भेष–भूषा त्यस्तै अर्धाङ्ग ढाक्ने बनाएका हुन्छन् । एउटा नाङ्गो शरीर उभ्याउनु भन्दा अर्धाङग ढाक्नु अश्लीलता हो । वर्तमान यसै अर्धनग्नतालाई आधुनिकताको परिचय दिएर श्लीलताबाट अश्लीलतातिर गइरहेछन् मानिस ।

(१९) भारतीय नेपाली साहित्यमा मानव अधिकार पक्षपोषणको उद्घोषले ल्याएका सन्देहहरु र विकसित राष्ट्रहरुमा मानव अधिकार दोहनका विरुद्धमा भएका कृयाकलापलाई कसरी हेर्नु भएको छ ?

भारतीय नेपाली साहित्यमा मानव अधिकार पक्षपोषण भएता पनि यो हाम्रो कमजोरी नै भनौं हामी जुन ठाउँमा पुग्नु पर्ने थियो । त्यो ठाउँमा पुग्न सकेका छैनौं । आजसम्म मानव संसाधन मन्त्रालयमा हाम्रो कुनै त्यस्तो मागबारे दर्ता पुगेको छ होला जस्तो मलाई लागेको छैन । त्यसैले होला नेपाली साहित्यको गति बेगिलो हुन सकेको छैन ।

प्रश्नको दोश्रो खण्डमा भन्नुपर्दा खै यही नै होला भनेर ठम्याउन सकेको छैन । यसको परिणति वा फलाफल अन्त्यमा यसमा गएर टुंगिएला भन्न त गाह्रो पर्छ ।

(२०) भारतीय नेपाली साहित्य विधामा आफूले आफैंलाई मूल्यांकन गर्नुपर्ने स्थितिमा आफूलाई के भन्नुहुन्छ ?

यस प्रश्नको उत्तर माथि नै दिइसके । अर्थात् आफैले आफैलाई मूल्यांकन गर्न मिल्ने कुरा होइन । परिक्षार्थीले परिक्षा दिन्छ मूल्यांकन गर्ने व्यक्ति अर्कै हुन्छ । साहित्य, कला, संस्कृतिको सेवा गर्दा गर्दै जीवनको प्राय अन्तिम चरणतिर आइपुगेको छु । मैले के के गरें, कस्तो गरें, किन गरें वा कसका लागि गरें त्यो पहिल्याउने वा मूल्यांकन गर्ने काम पाठक, दर्शक र श्रोताहरुको हो ।

(२१) गोर्खाल्याण्ड आन्दोलनको गन्तव्य बारे तपाईंको जिज्ञासा के होला ?

यस आन्दोलनले अघिल्लो खेपको आन्दोलनबाट केही ज्ञान पाएको भए लक्ष्य प्राप्ति होला नत्र दुईचार जना मात्र लाभान्वित हुनेछन् । कुन्नि त्यहाँका जनताले कति बुझ्न सकेका छन् ? कसैको विरुद्धमा तोडफोड गर्नु एउटा कुरा हो, आन्दोलनमा लक्ष्य प्राप्तिको निम्ति सही दिशा र सही बाटो पहिल्याउनु अर्को कुरा हो ।

दागोपापका नायक सुवाष घिसिङको वक्तव्य नेपाली भन्ने मानिस नेपालका नागरिक हुन् । अर्थात् विदेशी हुन भन्ने कुराले असमका नेपाली भाषी मानिस क्षुब्ध छन् । एउटा अगुवा व्यक्तिको त्यस्तो फाटो पर्ने, भाइ पिरिने वक्तत्व दिनु अति नै क्षतिकारक हो र यस खेपका गोजमुमोका नेता श्री बिमल गुरुङ्गको वक्तत्व कुन्नि कस्तो छ । सही बाटो हिंडे लक्ष्यमा पुगिन्छ नै, पुगोस् । तर त्यहाँको आन्दोलनले भारतका अन्य राज्यमा बसोबास गरेका नेपाली भाषी जनता नपिरिउन् ।

(२२) नेपालको दक्षिणी भेगमा “सम्पूर्ण मधेश एक प्रदेश” का स्वरहरु आउनुलाई के भन्नुहुन्छ ?

यो कुरा दुईचार हरफमा छर्लङ पार्न सकिन्न । यसका धेरै कारणहरु देखा पर्छन् । एउटा मुख्य कारण हो यस खण्डमा भारतीय मूल जस्तै यु.पी., विहारका मानिसको संख्या धेर हुनु औं उँधोबाट उनीहरुलाई उचाल्नु । अर्को कुरा पहाडे भन्दा मधेश धेरै बाठा हुन्छन्, खाई खाँदा हुन्छन् । बाठाले लाटालाई च्याप्छ नै । अर्को एउटा कुरा हिन्दु भन्दा कट्टरपन्थी इस्लामीको संख्या धेर भएकाले पनि थिचो मिचो भएको परिलक्षित हुँदैछ । अझ एउटा मुख्य कारण यो पनि होइन भन्न सकिन्न त्यो के भने नेपालमा युवा शक्ति छैन बराबर छ । कारण उपयुक्त शिक्षा नभई नब्बे प्रतिशत युवक कमाउन विदेश जान्छन् । कमाएर ल्याई खरका झुपडी फालेर महल बनाउँछन् र मख्ख पर्छन् । राष्ट्र निर्माण होइन गृह निर्माण गर्छन् । त्यसैले देश गरीब छ तर मानिस धनी छन् । युवा शक्तिको अभाव नै जनशक्तिको अभाव भएकाले हेपिदै गएको हो । अरु पनि कारण छन् जो यहाँ उल्लेख गर्न खोजिन् ।

(२३)जीवनमा भोग्नु भएका आनन्दको क्षण बारे के भन्नुहुन्छ ?

जीवनभरि संघर्ष गरें गर्दैछु, शायद कलाकारको जीवनै यस्तो हुन्छ । साहित्य, संगीत, कलाले मलाई बेला बेलामा आनन्द दिएका छन् । काष्ठकला प्रतियोगितामा सन् १९६६ मा असमभरिको सर्वश्रेष्ठ पुरस्कार प्राप्त गरेको थिएँ, फेरि सन् २००५ मा राष्ट्रिय स्तरको कला विधामा कृष्ण स्मृति पुरस्कार पचास हजार एक रुपियाँ, मान पत्र र सम्मान सिक्किम नेपाली साहित्य परिषदबाट प्राप्त गर्दा आनन्दित भएँ । गीती एल्वमहरुमा गीत रेकर्ड भइरहेछन् । यो पनि आनन्द कै कुरा भन्नुपर्छ । साहित्यमा पहिलो कृति लामो कविता “चिहान नपाएका तक्माहरु” प्रकाशित भई भारत र नेपालमा समेत यसले सही परिचय र सम्मान पाएकोमा पनि म आनन्दित छु । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले लामा कविताहरुको संकलनमा यसलाई गाभेकोमा अति आनन्दित छु । जम्मा चारवटा कृति प्रकाशित भए अरु चाहिं पाण्डुलिपि अवस्था मै छन् । यी पनि कुनै बेला प्रकाशमा आउनेछन् । मानिस भएर जन्मी मानव समाज र आउने पिंढीका लागि केही दिन सके त्यसभन्दा बढी आनन्द अरु के हुन सक्छ ।

(२४) तपाईले भोग्नु भएको जीवनका दुःखदायी क्ष्ँणबारे बताउन चाहनुहुन्छ ?

म नेपालको गुल्मी जिल्ला अन्तर्गत तम्घासको नजिकै उर्लेनी भन्ने गाउँमा जन्मेको हुँ । मलाई पाँच महिनाको छोडी बाबु भारत, असमको तेलखानी डिगबोईमा नोकरी गर्न आउनु भएको रहेछ । एकली आमा घाँस–पात गर्नुपर्ने, खेतीपाती गर्नुपर्ने, आमालाई फुर्सद थिएन । मलाई सुताएर आफ्नो काम अर्थात घाँस–दाउरा गर्न जानुहुन्थ्यो । म जागेर एकलै रोइरहन्थें, फुलाउने फकाउने कोही थिएन । रुँदा रुँदा थाकेर आफैं फुलिन्थे र एक्लै खेल्न थाल्थे, अलि अलि सम्झना आउँछ । बनबाट आमाले टपरी बनाई त्यसमा कहिले ऐसेलु, कहिले पाकेका काफल, कहिले तिजु आदि ल्याईदिनु हुन्थ्यो, म फुरुक्क पर्थे । तर मेरो सुसार गर्न आमालाई फुर्सदै थिएन मसित खेल्ने दम्तरी थिएनन् । पाँच छ बर्षमा गाई बाख्रा चराउन जाँदा सबैले गाई बाख्रा फर्काउन मलाई नै अह्राउँथे । नगरे पिट्न खोज्थे । सकी नसकी रुँदै दुगुर्दै गाई–बाख्रा फर्काउथे । घरमा बाबु नभएकाले सबैबाट म हेपिन्थें । शायद ती मेरा काला दिन थिए । यस्तै समयमा पनि माटाका मूर्ति बनाई खेल्दथें, त्यसैमा रमाउँथे । आठ बर्ष लाग्दा बल्ल बाबाले असम लिएर आउनु भयो र त्यो कालो समय उज्यालिन थाल्यो र आजको अवस्थामा आइपुगें ।

(२५) तपाईका तर्फबाट थप कुराहरु केही छ कि ?

“आज फुलेको फूलको थुंगा भोलि झरेर गइजान्छ,

आज आएको धरतीको मान्छे भोलि मरेर गइजान्छ ।”

त्यसैले सर्वश्रेष्ठ प्राणी मनुष्य जुनी लिएर जन्मेपछि मानिसले मानिसका निम्ति आउने पिंढीलाई केही सन्देश, केही चिनो धरतीमा छोडिजानु उचित हुन्छ । नयाँ पिंढीले पूर्वपिंढीलाई नियाल्छ, इतिहास पढ्छ र सही कुरा अनुकरण गर्छ । नियम नीति, धर्म–कर्म, ज्ञान–विज्ञान, भाषा–साहित्य, संस्कृति आदि जम्मै पूर्व पिंढीबाट थाहा लाग्छ र केही न केही सृष्टिमूलक ऐतिहासिक कार्य गरिछोड्नु पर्छ र नयाँ पिंढीले उत्तरोत्तर उन्नति गर्ने मार्ग भेट्छ । मनुष्य जीवन क्षणिक हो, युग युग रहन्छ इतिहास । आजका हाम्रा कार्य भोलि इतिहास बन्नेछ । त्यसैले इतिहास बन्ने बनाउने प्रयास गरुँ, गरौं भन्ने मेरो धारणा छ ।

(२६) नेपाली साहित्य परिषद्, असम र असम नेपाली साहित्य सभा छँदैं नेपाली छात्र संघ र गोर्खा छात्र संघको विभाजनले असमका जाति÷नेपाली जातिको अस्तित्वको सवालमा प्रश्न चिन्ह उठिरहेकोले यी सबै बीचको एकीकरण के कतिको सम्भव छ ?

नेपाली साहित्य परिषद, असम र असम नेपाली साहित्य सभाको उद्देश्य एउटै हो, लक्ष्य एउटै हो सबैलाई ज्ञातै छ । एउटा सग्लो चीज फुट्नुका कारण अवश्य छन् । तर पनि यो राजनैतिक दल होइन र मंत्री वा विधायक हुनु थिएन । भाषा साहित्यको सेवाका निम्ति यो संस्था नेपाली साहित्य परिषद्, असम गठन भएको थियो । सरकारी मान्यता प्राप्त अर्थात् पञ्जिकृत भइसकेपछि फुटेर फेरि असम नेपाली साहित्य सभा अर्को संस्था गठन हुनु निश्चय राम्रो लक्षण होइन । यदि परिषदका उपयुक्त थिएनन् भने अधिवेशनमा उपयुक्त पदाधिकारी चुने भइहाल्छ । नेपाली साहित्य सभाका पदाधिकारी तथा सदस्यहरुलाई मैले कैयौं चोटि व्यक्तिगत रुपमा भनेको थिएँ – “आउनुहोस् तपाईहरु साहित्य परिषदको कुर्सीमा बसिदिनुहोस् बरु परिषदका कुर्सी खाली गरिदिन्छौं ।” तर उहाँहरु मान्नु हुन्छ । एकीकरणका कुरा चलेको पनि निकै बर्ष भइसके । तर सप्रेला भन्दा झन विग्रेको देखिन्छ । यस्तो आफ्नै गाँड कोराकोर भएपछि मिल्ने कुरा त झिनो भएको परिलक्षित हुन्छ र पनि एकखेप त कसो नमिल्ला ? तर समय अवश्य लिनेछ ।

अब आयो अखिल असम नेपाली छात्र संघको कुरा जो फुटेर असम गोर्खा छात्र संघ गठन भयो । यो सम्पूर्ण असमका नेपालीहरुका निम्ति दुर्भाग्यको कुरा हो । हाम्रो जातीय एकता टुट्दै फुट्दै दुर्वल भइरहेछ । हामीलाई आफ्नै जातीय भाइहरुले विभाजन गरी कोही स्वदेशी कोही विदेशी बनाएका छन् । यो भन्दा निकृष्ट कुरा के हुन सक्छ ? स्वार्थ सिद्धका निम्ति जातिलाई भूलपथमा डो¥याउनेहरुलाई खै के भन्ने ? म एक्लै चिच्चाएर केही हुँदैन । जनसाधारणमा चेतना पलाएर आफैं बुझ्न सक्ने भए भने बल्ल सही बाटो लाग्लान् । अहिले त आफ्नै घर पोल्ने अभ्यास चलिरहेको छ । एकीकरण हुने त कुरै आउँदैन । सात बर्षको निरकुंश घिसिङको शासनपछि बल्ल जनताले बुझ्न सके र दार्जिलिङले आफ्नो माग फेरि दोहो¥याउँदै छ । त्यस्तै एउटा पिंढीको अन्त्य भएपछि वा आफ्नो ध्वंश भएपछि मात्र एकीकरणको सोच आउला कि ? अहिलेलाई झट्टै आशा गर्न सकिन्न । “आफ्नै घर पोलेपछि खरानीको के अनिकाल ?” भने झैं यहाँका नेपाली जनताको अवस्था छ । घरमै विभिषण भए मर्नका लागि लंका धाउनु पर्दैन । त्यसैले यो घोत्लिएको पानी भर्खरै संलिन सक्ने अवस्था छैन भन्न कर लाग्छ ।

(२७) नेपाली साहित्यकार एवं शिल्पकार के सन्देश दिन चाहनुहुन्छ ?

कुनै पनि साहित्यकार एवं शिल्पकारले सृष्टिमूलक लेख वा कलाको जगेडाका निम्ति कार्य गरुन् जसले जाति र मानव समाजका निम्ति इतिहास बनेर रहोस् औं शान्ति, सत्य र उर्वरता ल्याओस् । असल कलाकार र साहित्यकारको कर्तव्य नै हो मानव सेवा, राष्ट्रसेवा साथै सम्पूर्ण जगतको सेवा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।