केटाः
हेर्दै सोझी सरल सौम्य, फरासिलो छ आनीबानी
बुकीको फुल सिउरेकी, हौ की त रुकुमेली नानी ?
केटीः
देख्दै भद्र भलाद्मी छौ, बोली नै छ रसिलो मिठो
ढाकाटोपी छौ ढल्काएको, हौ की त रुकुमेली ठिटो
केटाः
शिल्प छ नी सौन्दर्यताको, माधुर्य छ शब्द भावमा
त्यो मोहित आखामा हेरी, डुवे म तिम्रै रवाफमा
केटीः
चित्त बुझ्दो मुहार तिम्रो, सुकोमोल छ दिब्य दृष्टि
तिमी मै आबद्ध भै सकें, जोगाउन सुन्दर सृष्टि
केटाः
रुपमा छ जादु तिम्रो, देखिन्छौ निकै भाग्यमानी
नाकमा बुलाकी लाउने, हौ की त रुकुमेली नानी?
केटीः
कसैको मन न दुखाउने, सदभाव छ औधी मिठो
यो ज्यानै चुंडेर लैजाने, हौ कि त रुकुमेली ठिटो