14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आऊ वार्ता गरौँ (व्यङ्ग्य कविता)

हास्यव्यङ्ग्य वासुदेव गुरागाईं February 22, 2010, 7:09 am

सँगै बस्नुको एउटा मज्जा छ

सँगै उठ्नुको अर्को मज्जा छ

मज्जै मज्जाको यो उठ्बस्मा

आऊ,— अर्को मज्जाको लागि

फेरि एउटा वार्ता गरौँ

जनता हाँस्दै गर्छन्

हामी हेर्दै गरौँ ।

कसलाई पो किन रुवाउनु ?

सके आपैmँ हाँस्छौँ,

नसके अरुलाई हँसाउँछौँ

हाँसोका लागि विषयको अनिकाल छैन

विषय खोज्दै गरौँला

विषय रोज्दै गरौँला

दायाँ बायाँ नगरीकन

आऊ पहिला वार्ता गरौँ

जनता हाँस्दै गरुन्

हामी वार्ता गर्दै गरौँ ।

नयाँ सोचका लागि तयार छौँ

नयाँ ढोँगका लागि तयार छौँ

पाइला स्थिर भए पनि

विचारमा अग्रगामी छौँ

को छैन र ! क्रान्तिकारी ?

कराइमा सबै छौँ

शक्तिशाली समेट्दिन्छौँ

निरीह निमोठ्दिन्छौँ

मौका नपर्दा पाउ दाब्छौँ

मौका पर्दा पाउ ढोगाउँछौँ

बिर्सेका छैनौँ,—

यो गायत्री मन्त्र

जनताको नाममा सुशासन गर्छौँ

विचार एउटै छ

लक्ष्य एउटै छ

त्यसैले,

कोही कुनाबाट निस्कौँ, कोही दुलाबाट निस्कौँ

कोही पिँढीबाट उक्लौँ, कोही सिँढीबाट उक्लौँ

र, एउटा सुरम्य वार्तास्थलमा

नियास्रो मात्र मेटाउन भए पनि

हाँसो मात्र भित्र्याउन भए पनि

दायाँ बायाँ नगरीकन

आऊ पहिला वार्ता गरौँ

जनता हाँस्दै गरुन्

हामी वार्ता गर्दै गरौँ ।

खानाको अनिकालमा पनि

झाडा पखालाको प्रकोप छ

सहकाल पो किन चाहियो र ?

दुईचार ट्याबलेट औषधिले

कसैको गुजारा चल्छ भने

अत्रको झन्झट

बेसाउनै पो किन प¥यो र ?

मानु खाएर मुरी उब्जाउनु पर्दैन अब

मुरी मासेर मानु उब्जाए पुग्छ

भौतिक रुपमा कसैलाई केही पु¥याउनु पर्दैन

समर्थन जुटाउन जाँदा नबिर्सीकन

त्रास र आस दिए पुग्छ

सुधार र विकास !

कसलाई पो चाहिएको छ र ?

यस्तो सन्तुष्ट वातावरणमा

वार्ता नगरे कहिले गर्ने ?

आऊ छिट्टै एउटा वार्ता गरौँ

निर्णयको कुनै दरकार छैन

कसैले क्षुद्र बनेर

छ्वास्स चासो राखेछन् भने

भनिदिउँला,—

मुलुक र मुलुकबासीको हितका लागि

आ–आफ्नो अडानमा हामी अडिग छौँ

र, अडिग रहनेछौँ

बस्, त्यत्ति निर्णय गर्दा पुग्छ

त्यत्ति निर्णय सुनाउँदा पुग्छ

तब त,— दायाँबायाँ नगरीकन

आऊ पहिला वार्ता गरौँ

जनता हाँस्दै गरुन्

र, निरन्तर थप मज्जाको लागि

हामी वार्ता गर्दै गरौँ ।

काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।