19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रश्नको अर्थ

कविता मनोज बोगटी February 26, 2010, 1:57 pm

सुनको थैला र कविता

एकै हुन्‌ बा?

••

बूढ़ो किसानको हत्केलाको ठेला

उसको छोरोको पेट हो

अनि उसको निधार चाहीँ तिम्रो किताब।

तिम्रा

कलिला क,ख-हरू

गाउँहरू हुन्‌

शब्द जिल्ला,वाक्य राज्य

अनि कविता चाहीँ तिम्रो देश।

धानका गेंड़ाहरू

तिम्रो आमाका आँखाहरू

जहॉं अग्लिएका छन्‌

सपनाका हिमालहरू

अनि तिम्रो विपना चाहीँ त्यसको आरोही।

यही गाउँको हावा

देशको सास।

तिमी त्यो सासको गहिरोमा जबदेखि डुब्नसक्ने हुनेछौ

त्यसबेला

तिम्रो प्रश्नबाट भुर्र उड़्‌नेछ

दुइ पखेटा अर्थ।

••

सुनको थैला र कविता

एकै हुन्‌ बाबु?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।