19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मकहाँ डेरा पाइन्छ

कविता गङ्गाराम गड्तौला February 27, 2010, 1:04 pm

तपाईं डेरा खोज्दै हुनुहुन्छ?

सुविधायुक्त घर रोज्दै हुनुहुन्छ?

भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?

आउनुहोस् मकहाँ डेरा पाइन्छ।

सुविधाका लागि डराउनु पर्दैन

कुनै कुरामा कराउनु पर्दैन

आफू भलो त जगतै भलो

कहिले आफैँ आगो हुनुहोस्

कहिले आफैँ पानी हुनुहोस्

यस्तो डेरा कहाँ पाइन्छ

भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ

आउनुहोस् मकहाँ डेरा पाइन्छ।

लाइन छ ― बत्ती छैन

धारो छ ― पानी छैन

सुत्न नमिले पनि बस्न पाइन्छ

भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?

आउनुहोस् मकहाँ डेरा पाइन्छ।

गफ गर्नुहोस् ― बोल्न पाइन्न

झ्याल कहिल्यै खोल्न पाइन्न

कौसीमाथि डुल्न पाइन्न

पाहुना आए हुल्न पाइन्न

सधैँ बाहिर रहे पनि पानी–बत्तीको महसुल चाहिन्छ

भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?

आउनुहोस् मकहाँ डेरा पाइन्छ।

डेरा होइन ― दरबार हो

तपाईंका लागि घरबार हो

रङ्गशाला हो ― दौडनुहोस्

स्विमिङपुल हो ― पौडनुहोस्

टुँडिखेल आफैँ बनाउनुहोस् ― भित्रै जात्रा मनाउनुहोस्

यहाँ केवल बोल्न पाइन्न, अरू सबै छुट छ

भन्नुहोस् तपाईंलाई कस्तो चाहिन्छ?

आउनुहोस् मकहाँ डेरा पाइन्छ।

डेरा हो यो सस्तो छ ― खेल्ने मैदान जस्तो छ

हावा छिर्छ ― घाम छिर्दैन

नपरेसम्म पानी छिर्दैन

मुसाका दुला टाल्नुपर्छ ― दिउसै बत्ती बाल्नुपर्छ

अग्रिम भाडा तिर्नुहोस् ― निहुरेर भित्र छिर्नुहोस्

यस्तो डेरा कहाँ पाइन्छ?

भन्नुहोस् तपाईंलाई यस्तै चाहिन्छ?

आउनुहोस् मकहाँ डेरा पाइन्छ।

शान्तिनगर ― ५, झापा, हाल: काठमाडौँ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।