19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्यानभास

कविता रमेश सागर March 1, 2010, 1:29 pm

एउटा

नाम धारी पिण्ड उठाएर

वल्टाई–पल्टाई हेरें

केही समुद्र थियो

केही पाखा/खोंच र गल्छेंडाहरु थिए

उत्ताप्त/निर्जल मरुभूमि थियो

तातो बालुवामाथी

ओइलाउँदा सेता फूलहरुथिए

सिउँडीका

आँधी/हुरी थियो

तिर्खा थियो

छिर्विरे तरास थियो

विक्षिप्त जिवाशेषहरु थिए

चट्टान थियो

हिउँ थियो

आकाश थियो

बादल थियो

नाम पाएका ऋतुहरु थिए

समयको महासागरमा

जलथर/थलचर थिए

कोही थिए विजयी

कोही विजीत

मनभरी

क्षोभको झण्डा लिएर

तरास पचाएका

केही शालीन अनुहारहरु

चारकोलका रेखाहरु त्याग्न

मूर्तता माग्थे

रोगन माग्थे

तर,

अर्ध चेत तूलिकाहरु

समयको इलेजप्लेटबाट

चुनिएको रङ्ग लिएर

स्वेत/कोरा सतह

रङ्ग्याउँछन्

हुँदा–हुँदा

आँखाहरु पोतिन्छन्

विद्रोह पोतिन्छ

भोगाईहरु पोतीने क्रममा

असन्तोषको सन्देश लिएर

एउटा टेम्परा विहान

मेरो जिन्दगीको छेउमा

फुत्रुक्क खस्छ

मेरा विश्मय र खुशीहरुमा

टेम्परा रङ्ग सर्छ

बोली–चाली र जिजीविषा

त्यहीँ रङ्गमा डुब्छन्

यथार्थमा विविध रङ्गहरुबाट

भिन्नता जन्मन्छ

त्यही शिशु

नयाँ आयाम लिएर हुर्कन्छ

नयाँ...नयाँ...

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।