19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ज्वाइँ महात्म्य

हास्यव्यङ्ग्य आर.सी. रिजाल March 2, 2010, 11:57 am

परिभाषा:

ज्वाइँ भन्नाले छोरीको पोइ मात्र हैन, सम्धीको छोरा पनि हो । तसर्थ ज्वाइँ छोरा हो, छोरा नै ज्वाइँ हुने हो ।

ज्वाइँ हुन सुश्रीको सिउँदोमा सिन्दुर हाल्नैपर्छ भन्ने अनिवार्य छैन । यसका लागि तपार्इं नजिकका बुढाबुढी पात्र र धर्मशास्त्र साक्षी छन् । गालामा बत्तीसमुजा परेका भूतपूर्व बालकहरूलाई सोधेमा केही यस्ता बृद्धबालक पनि फेला पर्छन् जो “खै ! विवाह गरेको छु भनूँ भने आजसम्म कसैको सिउँदोमा सिन्दुर हालेको छैन, छैन भनूँ भने गोडाआधेक दर्जनको पिता हुँ” भन्छन् ।

ज्वाइँ पुलिङ्गी मात्र हैन नपुङ्सकलिङ्गी पनि हुन्छन् । कारण ज्वाइँका दाजुभाइ जेठादेखि कान्छासम्म जुन स्थानमा परे पनि पढेलेखेका नभै लेखेपढेका प्रधानमन्त्री, राष्ट्रपतिले विश्वविद्यालयबाट विद्यावारिधिको सम्मान पाएझैँ नपुङ्सक ज्वाइँले पनि दाजुभाइका ससुरालीबाट डि.लिट्. ज्वाइँको उपाधि पाउँछन् ।

स्थान:

‘ज्वाइँ कहाँ पाइन्छ ?’ यसका लागि छोरीका बाउहरूलाई खुल्दुली लाग्नु स्वाभाविकै हो । त्यसैले मैले बताउनै पर्छ । ज्वाइँ यत्रतत्र सर्वत्र पाइने तन्तु भएको दुईखुट्टे जन्तु हो । यो विश्व नै ज्वाइँहरूको हो । हिजोआज केही छोरीका आमाहरू आफू बकेर्नु भएपछि ज्वाइँ खोज्ने र रोज्ने चलन बढ्दो छ । यो चलनले ज्वाइँ कुर्दा कतिपय छोरीका आमा आफैँ मुर्दा भएका पनि देख्नुभएको होला ।

उत्पत्ति:

झट्ट सुन्दा ‘ज्वाइँको उत्पत्ति’ भन्दा अकमक्किए पनि उही ‘धानको गेडाभित्र चाम हुन्छ’ भनेझैं सजिलो छ । सम्धीसम्धिनीको सहवास होस् वा परवासबाटै किन नहोस् ज्वाइँको जन्म हुन्छ ।

अब ‘ज्वाइँ’ शब्दको उत्पत्तितर्फ लागौँ ! ज्वाइँ ब्याइएको ‘ज्वान’ शब्दबाट हुन सक्छ । ‘ज्वान’ भन्नाले जवान युवकलाई तोक्दो रहेछ । परिबन्दमा नफसेका, बुद्धिमा कोया नपसेका बाहेक सबैले छोरीलाई ज्वानलाई सुम्पन रुचाउने हुँदा ज्वानको अप्रभ्रंश भएर ज्वाइँ भएको होला भन्ने स्वकीय अड्कल ।

ससुरालीलाई ‘जुलुम’ पार्न आँट्ने ज्वाइँहरू देख्दा ज्वाइँ ‘जुलुम’ शब्दको अपभ्रंश हो कि भन्ने पनि भान हुन्छ । ससुरालीसँग जोरी खोज्ने यस्ता ज्वाइँहरू देख्दा ‘जोरी’ बाट ज्वाइँ शब्द उम्रेझैँ पनि लाग्छ । जस्तै जोडाको जोडी घोडाको घोडी हुन्छ भने छोरीको जोरी सुहाउँदो नै देखिन्छ । कारण ‘छ’ र ‘ज’ अक्षर आउँछ ।

ज्वाला, जाँतो पनि ज्वाइँ उत्पत्तिका लागि तातो लाग्ने शब्दभित्रै अट्छन् किनकि अर्काकी छोरीलाई वरण गरी लगेपछि उनको शरीरमा आगो लगाई जीवन हरण गर्ने र कोलमा गोरुलाई पेलेझैँ कुखुराको डाँकोदेखि बुहारीको चन्दन घोट्न रडाको मच्चाई काममा जोताउने भएकोले जोताहा वा जाँतोको नातो पो पर्ने हो कि ज्वाइँ ?

राजा युधिष्ठिरले द्रौपदीलाई जुवामा थापेपछि जुवाडेको आधारमा ज्वाइँ शब्दको उत्पत्ति भएको हैन होला ! अर्को पक्ष पुरुष र नारी समान मान्ने अनौठाशीलहरूको छोरीज्वाइँ जुवामा नारिएका हलगोरु सरह भएकाले जुवाको आधारबाट ज्वाइँ भनेको सम्भावनालाई मैले नकार्न नसक्दा यहाँहरूले अब ज्वाइँ डकार्न बेर छैन । त्यसैले उत्पत्तिलाई यहीँ रेटौँ ।

प्रकार:

‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ को आधारमा ज्वाइँको परिकार पस्कने हो भने तपाईं पनि सिकार हुन सक्नुहुन्छ । त्यसैले थोरैले धेरै समेट्ने तपाईंलाई चाहिँ सकेसम्म नभेट्ने ज्वाइँका परिकार मैले तपशिल अनुसार पस्केको छु ः

हरिलम्फू ज्वाइँ:

यी यस्ता ज्वाइँ हुन् जो ससुराले “यसपालि भैँसी म¥यो, खेत नि खोलाले बगायो, हजुरको साली पनि एउटा लम्फूले भगायो” भन्दा “ए ! बेसै भएछ” भन्ने खालका हुन्छन् ।

कर्मचण्डाल ज्वाइँ:

यस्ता ज्वाइँ जाँड धोकेर साँढ हुने प्रकृतिका हुन्छन् । आफू ज्यूँदो छँदै श्रीमतीलाई राँड भन्ने, सहराँ भए डान्स रेष्टुराँ वा क्यासिनोमा, गाउँघरतिर भए ठूलीकान्छीको झम्केझोल+आलय वा खालमा रात बिताउने बबुरा हुन् ।

प्रतिगामी ज्वाइँ:

ससुराकी छोरीको खुट्टा त उच्चारण नै नगरौँ आफूभन्दा ससुरालीले प्रगति गर्लान् भनेर साला, जेठान, ससुराको समेत खुट्टा तान्ने इख भएको ज्वाइँलाई प्रतिगामी ज्वाइँ शब्द साह्रै सुहाउँछ ।

हाँडीघोप्टे ज्वाइँ:

ससुरालीले जति सम्पत्ति ओइ¥याए पनि नपुग्ने अर्थात् ससुरालीलाई जोगी बनाएर आफू भोगी हुने पौरखी ज्वाइँ यस्तो ज्वाइँ हो । सायद पुच्छर नभए पनि यस्तै दुच्छर स्वभाव भएको ‘ज्वाइँ न स्वाइँ अगुल्टाले झ्वाइँ’ भन्दै कुनै ज्वाइँपीडित ससुराले मुखाँ अगुल्टो ठोसेर ढेडुझैँ सिँगारी खेलेको ज्वाइँलाई हाँडीघोप्टे ज्वाइँ भनिन्छ ।

भुक्क ज्वाइँ:

‘भुक्क’ शब्दले पक्कै ससुराको हात कि सालाजेठानको लात खाने ज्वाइँ हुनुपर्ने अनुमान गर्नुभयो होला तर हैन । ससुरालीभन्दा आफू सम्पन्न भएका कारण पितातुल्य ससुरालाई असुराको बुटो मान्नुपर्नेमा चुरोटको ठुटोझैँ ठान्ने टुप्पाबाट पलाएको, सुमतिले छलाएको, भुक्क मुख फुलाएको, भक्कुको राँगोझैँ देखिने ज्वाइँ भुक्क ज्वाइँ हो ।

सुधो ज्वाइँ :

ससुराकी छोरीको पौरखमा आफ्नो गौरव ठान्ने र उनकै धोतीको सेरोफेरोमा रमाइहिँड्ने भनौँ वा कोमलकोटीले साङ्लो वा यस्तै अन्य कीरालाई लठ्याएर आफ्नो सन्तान तुल्याउन जताजता तान्यो उतैउतै लछारिँदै जाने ज्वाइँ सुधो ज्वाइँ हो । अर्थात् ससुरालीले दुहुँदा पनि सन्चो मानेर बस्ने बालप्रवृत्तिका ज्वाइँ यस्ता ज्वाइँअन्तर्गत पर्दछन् ।

घरपालुवा ज्वाइँ :

जन्मदिने बाबुआमा त्याग्ने, श्रीमतीको थाङ्ने, उनकै माइततिर भाग्ने सासूससुरालाई बढी मान्ने प्रगतिशील ज्वाइँ घरपालुवा ज्वाइँ हुन् । यस्तालाई श्रीमतीले कजाउने त छँदै छ, उस्तै परे साला जेठान र ससुराले बजाउने पनि गर्छन् । सायद बढी परिश्रमका कारण धेरै हसुर्न परेकाले होला ‘कोहीलाई केको धन्दा घरज्वाइँलाई खानकै धन्दा’ उखानको सृष्टि भएको । घरपालुवा ज्वाइँलाई ‘खन्चुवा’, ‘पानीआन्द्रे’ जस्ता उपनामले पनि विभूषित गरेको सुनिन्छ ।

करकापे ज्वाइँ :

मन मिलेका तरुनातरुनीले जीवनमा कदापि नहुने बाचाबन्धन गरी घरमाइती दुवैतर्फ खर्च जोगाई छोरीले ज्वाइँ वा ज्वाइँले छोरी भगाई, कानुनी रूपले ज्वाइँ (Son -in-Law) मान्नै पर्नेलाई करकापे ज्वाइँ भनिन्छ । यस्ता करकापमा पर्ने तरुनालाई छोरीले स्वीकारी भन्दै माइती खलकले स्वीकृत÷अस्वीकृत जे पनि गर्न सक्छन् । तर अरूले सोध्दाचैँ उपायहीन भएर ज्वाइँ भन्नुपर्ने हुँदा यस्तालाई यदाकदा बाध्यज्वाइँ पनि भनिन्छ ।

आतङ्ककारी ज्वाइँ :

यस्ता ज्वाइँ चाडबाडमा आउलान् कि भनी त्राहिमाम् रहन्छ्न् । ससुरालीखलक ज्वाइँ सा’ब भन्नुपर्नेमा ज्वाइँले नसुन्ने गरी ज्वाइँसाँप भनी कानेखुसी गर्छन् । यस्ता ज्वाइँ, ज्वाइँहरूमध्ये सबैभन्दा खतरनाक हुन्छन् । अर्कोतिर छोराछोरी र श्रीमतीले ‘बा/पति घरमा नआइदिए कति हुन्थ्यो जाती’ भनी कुरा काट्छन् । बा/पतिलाई सम्झाउँदा आफूहरूमाथि नै आपत्ति ओइरिने हुँदा दम साँचेर बस्न बाध्य हुन्छन् ।

महत्व :

छोरीलाई शरण दिनेमात्र हैन, छोरीको दुःख हरण गर्ने, जीवनरक्षा गर्नेजस्ता महत्वपूर्ण जिम्मेवारी बोकेको मर्यादापुरुष हो ज्वाइँ । सन्तान उत्पत्तिका दृष्टिले विचार्दा छोरीको महत्व बढी देखिन आए तापनि पुरुषप्रधान समाजमा छोरी जतिसुकै बाठी र घरधन्दामा टाठी भए पनि ज्वाइँले छोरी पाल्ने मान्यता रहेकाले महत्व ज्वाइँकै छ । ज्वाइँको महत्वचैँ सुरुमै आँक्ने महसु¥याइँ नगर्नुहोला । किनकि ज्वाइँको खास महत्व लमीको भरमा छोरी सुम्पेपछि मात्र झल्काउन सकिन्छ ।

सेरोफेरो ः

यो समाजमा ‘हामी ठूलाबडा’ भनी कवाज खेल्नेहरू नै हुन् कुप्रथा पेल्ने । अनि यस्ताका सुपुत्र भनाउने र आफूलाई शिक्षित युवक भन्न नगन्हाउनेहरू छोरीका बाबुआमाका लागि एँेजेरूसरह भएका छन् । कसैकसैका लागि त आफूले पालेको पाडीलाई गाभिनु तुल्याउन राँगो नै खरिद गर्नुपर्ने अवस्थाको सिर्जना गराई बाँचुन्जेल आर्थिक तृष्णाको रापमा विराजमान गराउने ज्वाइँनारान पनि फेला पर्छन् ।

गर्वका साथ कतिपय ज्वाइँबगालका बाबुहरूले आफ्ना छोरालाई डाक्टर इन्जिनियर आदि पढाउन आफूले नचाहिँदो धन्दा गरी कलेजमा बुझाएको चन्दा, केटीपक्षले पढाउन ठेक्का लिएँझैँ भुक्तान गर्नुपरेको दुःखेसो श्रवण गर्नुभएकै होला । यो नाजुक अवस्थामा शिक्षित ज्वाइँको मगजमा गजबले आफूलाई पशुझैँ बेचिएकोमा पटक्कै हिनताबोध भएको आभाषसमेत पाइन्न ।

जीवनसङ्गिनीका मातापिता आफ्नैसरह हुनुपर्ने हैन र ? ए गाँठे ! कि भनाइ मात्र हो ? ‘एक रथका दुई पाङ्ग्रा’, ‘एक सिक्काका दुई पाटा’ नत्र शिक्षित ज्वाइँ किन भएका लाटा ? यस्ता ज्वाइँको अति सुन्दर त्यो भौतिक शरीर भित्रको विवेक देख्दा ‘बाबु पाडो डो¥याउने लठुवा र छोराचाहिँ बिगौती चटुवा’ मैले लेख्दा तपाईंहरूलाई केही आपत्ति पर्ला ?

वाह रे ! ज्वाइँबाबु ! आजको आलो ज्वाइँको भविष्यमा ससुरा बन्ने पालो आउँछ भन्ने चेत किन नपस्या ? कि चेत लुका’ को हो ? कि हुँदै नभएको हो ?

हिन्दु धर्मशास्त्र अध्ययन गर्दा थाहा हुन्छ ज्वाइँ आतङ्कबारे । देवाधिदेव महादेवले समेत ज्वाइँआतङ्क मच्चाएका थिए रे ! वर्तमान नाथे ज्वाइँको के कुरा ? तैपनि ज्वाइँआतङ्क मुसाआतङ्कभन्दा कम छैन । भारतका सोह्रौ शताब्दीका राजा अकबरले पनि बीरबलको ज्वाइँआतङ्कका कारण “ल ज्वाइँजति सबैलाई सुलीमा जाक्नू” भन्ने आदेश दिएका थिए रे ! त्यति मन्त्री बीरबलले बुद्धिबल लगाएर “सरकार नि कसैको ज्वाइँ होइबक्सन्छ” भन्दा अकबरले आफ्नो अक्कल लगाएर उक्त आदेश फिर्ता लिएका थिए रे !

धन हुनेहरूले छोरीलाई पढाए, नसक्नेले डोकोनाम्लो भिराएर भए पनि बढाए अनि कारदेखि उलिन्काठसम्म गच्छे अनुसारनै चढाए । ‘ज्वाइँले छोरीलाई पाल्छ’भनेर कसैले जन्माएको हैन, तर एक अवस्थामा पुगेर भालेपोथीको मिलन हुनुपर्छ । जीवनको यात्रामा एकअर्कालाई सहयात्री चाहिन्छ । यो प्राकृतिक नियमै हो । प्राकृतिक नियम त जान्नै र मान्ने पर्छ, तर अप्राकृतिक नियम बढेर धेरै माथि चढ्यो । देख्नुभएकै होला पौरखी ज्वाइँको करामत, जाबो एउटा सुत्ने खाटसमेत ससुरालीबाट लान लाज त के धकसम्म मान्दैनन् । यस्तो दृश्य देख्दा यहाँहरूलाई ‘गोब्य्राउनेलाई भन्दा देख्नेलाई लाज’ भनेझैँ लाग्दो हो । हैन त ? कि म लेख्ने तपाईं पढ्नेमात्र ?

सासूहरूलाई आफ्नो चर्चा कम लागेर पङ्क्तिकार ज्वाइँको दिमाग प्रजातान्त्रिक रहेनछ भन्ने भान पर्न सक्छ । त्यसैले सासूज्यूहरूले परबरजत्रा आफ्ना नाकलाई गैँडाको खागको अनुपातमा नपु¥याए हुन्छ । सासूहरूको पनि “कत्रा घरानियाँ खलक, राम्रोसँग व्यवहार पु¥याउँछन् भनेर धक्कु लाउँथे, दाइजो हेर्दै चाल पाइयो नानीको ताइँ” नभने भो । तीजपर्वमा नन्दआमाजू आउँदा बुहारीले पनि माइत जान रहर गर्छन् । माइतीको सम्झना आउने यस्ता चाडमा “पर्दैन मुन्टिन तेरा माइतसाइत ! व्यवहार मिलाउन जाने पो तेरा माइतीले ! जोरीपारी हँसाउने काम मात्र” भन्ने भाँडतान्त्रिक सासूहरूको पनि कमी छैन ।

राम्रो बानी भएकी सानी नानी छोरी हुन्छे, बुहारी हुन्छे पदोन्नति हुँदै सासूको थान्काँ पुग्छे तर आफ्नो पूर्वभोगाइ सबै जोगाई माइतीको जेथा लिने, बिटुलोप्रथा आफूले खेप्नुप¥यो भन्दै बुहारीलाई ढेप्नु उचित होला र ? तसर्थ आफ्नै दिमाग त हो, खोचोजत्रो हैन मन नपरी भए नि केही छिन टपरी बनाएर सोचौँ त !

निचोड ः

माथिका संस्कारहरूबाट आहतभन्दा पनि हुनेवालाहरूलाई राहत दिन मेरो धोद्रो मथिङ्गलले ‘ज्वाइँ दिमाग धुलाई केन्द्रं’ (Son-in-law Mind Washing Centre) छोटकरीमा (SMWC) नामक संस्था खोल्ने गर्भधारण ग¥यो । यो नाममा NGO-INGO को आँखा लाग्ला कि भन्ने मेरो मनमा कताकति त्रास पनि छ ।

यो केन्द्रले ६ महिना तालिम लिएकालाई ‘आदर्श ज्वाइँ’ को प्रमाणपत्र प्रदान गर्नेछ । यस केन्द्रको मुख्य उद्देश्य दाइजोप्रथाको भ्रूणहत्या गर्नु होे । उपर्युक्त केन्द्र ‘गध एजुकेसन’ (गरिब र धनी दुवैलाई एक ठाउँमा) हुनेछ तर शुल्क भने सरकारी विद्यालय र बोर्डिङ स्कुलले अपनाएको प्रक्रियाअनुसार लगाइनेछ । कारण अभिभावकहरूले यो प्रक्रियालाई पचाइसकेका छन् । यहाँहरूलाई आफ्नो सन्तानलाई ६/५ महिनासम्म केन्द्रको कडा निगरानीमा राख्दा लामो अवधि लाग्न सक्छ । तर के गर्नु आधुनिक आदर्श ज्वाइँको प्रमाणपत्र दिन एचआईभी÷एड्स पोजेटिभ छ छैन रक्तपरीक्षण गर्नै प¥यो । नत्र ज्वाइँबाबुले दाइजो पनि आफ्नै बाबुको बिर्ताबाट उठाएझैँ लैजाने र छोरीलाई पनि उही रोगले खाइ जानेजस्ता दर्दनाक अवस्था किन झेल्न दिने ?

हाँडीघोप्टे ज्वाइँ खलकका कारण कैयौँ छोरीहरूलाई सिलटिमुर ख्वाइएका, कसैलाई रातोदिन क्वाँक्वाँ रुवाइएका, कैयौँका छोरीहरू माइतीसहित आफूलाई दिएको पीडा खप्न नसकी डोरीको सहाराले स्वयम् कालका आहारा भएका देख्न, सुन्नमध्ये कुनै सौभाग्य त पाउनुभएकै होला ।

तपाईंहरू निश्चिन्त हुनुहुन्छ । यो पङ्क्तिकार पनि पक्कै कसैको ज्वाइँ हो । अनि लाग्यो होला ‘यो ज्वाइँ भएर ज्वाइँ नै किन डकार्छ ?’ तर मैले ज्वाइँ डका¥या हैन विकृति खका¥या हुँ । त्यसैले ‘ज्वाइँ दिमाग धुलाई केन्द्र’ दर्ता गर्ने इच्छा पलाएको हो । कसैले मन बहलाएको छैन ।

छोरीलाई अल्पायुमै बायुसँग सम्बन्धविच्छेद गराउने ज्वाइँखलकबाट दोब्बर दाइजो फिर्ता गराउने, ज्वाइँलाई आजीवन जेलमा सडाउने गरेको विवरण ‘ज्वाइँ दिमाग धुलाई केन्द्र’ को सूचनापाटीमा टाँसी साँचिराख्ने हो भने वर्तमान र भविष्यका ज्वाइँहरूले अर्काकी छोरीको जिन्दगी मासिहाल्ने आँट पक्कै गर्दैनन् होला ।

आफ्नो घरमा सधैँ पिँडालु तिहुन खाँदाखाँदा कोक्याएर मुख फेर्न एकजना ज्वाइँ साहेव ससुराली पुगेछ रे ! ज्वाइँका ज्वाइँ, ज्वाइँका ज्वाइँ पढ्दापढ्दा ज्वाइँ बान्ता होला कि ! अब ज्वाइँमहात्म्य यहीँ बिसाम् !

‘हाकिमको खप्पर’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह(२०६३) बाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।