17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘स्रष्टा र डिजिटल वार्ता’ नियाल्दा

कृति/समीक्षा छविरमण सिलवाल March 3, 2010, 6:41 am
छविरमण सिलवाल
छविरमण सिलवाल

नेपाली साहित्यमा विविध पुस्तकहरु प्रकाशन भैरहेका छन् तिनीहरुको आ–आफ्नै मुल्य र महत्व बोकेका छन् । अहिलेको स्थिति हेर्ने हो भने साहित्यमा पढिने पुस्तकको कमि छैन् । विविध किसिमका पुस्तकहरु हामीले अध्ययन गर्न पाएका छौं । स्वदेशी तथा विदेशी साहित्यको अध्ययन गर्न पाएका छौं । फरक यति मात्र हो कुन पुस्तकहरु उपयोगी छन् भन्ने कुरामा विचार पु¥याउनु पर्दछ । साहित्यका विविध विधाहरु छन् । नेपाली साहित्यको श्रीबृद्धिका लागि विभिन्न साहित्यकारहरुले सेवा गरिरहेको हामीले देखेका छौ । साहित्यिक संघ–संस्थानहरु प्रशस्त रुपमा खुलेका छन् । स्वदेशमा तथा विदेशमा बसेर नेपाली साहित्यको श्रीबृद्धिमा सहयोग पुर्याएका छन् ।

हाल नेपाली साहित्यले निकै ठूलो फड्को मार्न सफल भएको छ यो सबै नेपाली साहित्यलाई माया गर्ने सर्जकहरुबाट नै भएको हो । यसै सन्दर्भमा विदेशी भूमिमा रमेर पनि नेपाली साहित्यलाई माया गर्ने धेरै नामहरु अगाडी आउने गर्छन् त्यस मध्येमा कृष्ण बजगाईँ पनि एक हुन् । लामो समयदेखि समकालीन साहित्य डट कम नामक वेबपत्रिका संचालन गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउँदै आएका बजगाईँले इमेल मार्फत विभिन्न स्रष्टाहरुसंग गरेका वार्तालापहरुलाई पुस्तकका रुपमा ल्याएका छन् । भूगोलका हिसावले धेरै टाढा रहेतापनि इमेलका माध्यमबाट स्रष्टाहरुसंग गरिएको यो वार्तालापमा साँच्चिकै एउटा नयाँपनको झल्को भेटिन्छ । हुनतः यो पुस्तक उनको पहिलो भने होइन , यन्त्रवत (लघुकथा २००७), हिउँको तन्ना (हाइकु २००९), रोडम्याप (लघुकथा २०१०) लगायतका पुस्तकहरु प्रकाशित भैसकेका छन् । अन्तर्राष्ट्रिय साहित्य समाज, केन्द्रिय कार्यसमिति वासिङ्टन डिसी अमेरिकाका महासचिव, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरका अध्यक्ष र लघुकथा समाज नेपालको अन्तर्राष्ट्रिय समन्वय संयोजकका रुपमा पनि कार्यरत रहेका छन् ।

तेइस जना स्रष्टाहरुसंग भएका वार्तालापहरु समावेश गराएका छन् बजगाईँले यस संग्रहमा । एसिया, युरोप, अमेरिका लगायत तीनै महादेशका स्रष्टाहरुलाई एकै मञ्चमा सजाएका छन् यस पुस्तकमार्फत । नेपाल, अमेरिका, रुस जहाँ भएपनि चिन्ता एउटै छ स्रष्टाहरुको कसरी नेपाली वाङ्मयलाई निरन्तर र उन्नत राख्ने ? नेपाली वाङ्मय पनि पूर्णरुपमा साइवर जगतमा पसिसकेकाले प्रायः सबै पत्रपत्रिकाहरुलाई इन्टरनेटमा हेर्न सकिन्छ । विश्वका कुनै स्थानमा रहेर नेपालमा भएका गतिविधिहरु नियाल्न सकिन्छ । यसले गर्दा साइवर आजको अपरिहार्य भएको छ । यसमा नेपाली साहित्य पनि साइवरमा हेर्न सक्ने भएको छ । यसका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरिरहेको हामीले देखेका छौं । यसै मध्ये समकालिन साहित्य डट कम पनि एउटा साहित्यिक वेब पत्रिका हो । जसले विश्व परिवेशमा रमेर पनि नेपाली साहित्यको अध्ययन र आफ्ना रचनाहरुको स्थान सुरक्षित गर्न सफल भएका छन् स्रष्टाहरु । नेपाली साहित्यमा करिब दुईदर्जन जति वेबसाइटहरु स्तरीय रुपमा रहे पनि दर्जनौ वेबसाइटहरु संचालन भैरहेका हामीले देखेका छौं । यसै मध्ये नियमित रुपमा अपडेट भैरहने यस समकालिन साहित्य डट कमका सम्पादक कृष्ण बजगाईँले यहि वेबसाइटको लागि इमेलमार्फत स्रष्टाहरुसंग भएका भलाकुसारीलाई पुस्तकका रुपमा प्रकाशित गराएका हुन् । यसैले यस पुस्तकको नाम पनि ‘स्रष्टा र डिजिटल वार्ता’ रहेको हो । बेल्जियममा बसोवास गरेर पनि नेपाली साहित्यमा उनको कार्य निकै उत्साहजनक रहेको आभाष दिन्छ यस पुस्तकले । यी स्रष्टाहरुसंग भएका वार्ताहरु पूर्णरुपमा नेपाली साहित्यको उत्थानका बारेमा लगायत डायस्पोरिक साहित्यका बारेमा, विश्व साहित्यमा प्रवेश चिन्ता र परिचयका कुरामा, डटकममा भैरहेको नेपाली साहित्यका बारेमा आदि कुराहरुलाई लक्षित गरिएको पाइन्छ । आदि कुराहरुले गर्दा यस पुस्तकले नेपाली साहित्यले लिएको नयाँ दिशा परिवर्तनतर्फ संकेत गर्दछ भन्ने लाग्दछ ।

नेपाली साहित्यलाई विश्व साहित्यसंग परिचित कसरी गराउँने भन्ने प्रश्नमा स्रष्टाहरु यसरी व्यक्त गर्नू हुन्छ यस पुस्तक मार्फतः अमेरिकामा बसोवास गर्दै नेपाली साहित्यमा निरन्तर कलम चलाई रहने स्रष्टा होमनाथ सुवेदी लेख्नुहुन्छ–‘नेपाली भाषाबाट अङ्ग्रेजी भाषा र अन्य भाषामा हाम्रो साहित्यको अनुवाद गर्न प्रोत्साहन गर्ने । जहाँ जहाँ नेपाली बसेका छन् त्यो त्यो देशका भाषा,कला, र साहित्यमा नेपालीको भाषा, कला, साहित्य र दर्शनलाई जुनसुकै प्रकारले पनि रुपान्तरण गर्न प्रोत्साहित गर्ने अनुवाद, सिर्जना, समलोचना र पुरस्कार, शिक्षण समेत समानान्तर रुपमा अगाडि बढाउनाले नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन मद्दत गर्दछ ।’

त्यस्तै अर्का स्रष्टा श्रीओम श्रेष्ठ लेख्नुहुन्छ–‘नेपाली साहित्यका धेरै विधा अन्तर्राष्ट्रिय स्तरका छन् त्यसमा शङ्का छैन । हो, अनुवादको कारण हामी आफैमा खुम्चिनु परेको छ । प्रतिस्पर्धा गर्न सकिरहेका छैनौ । त्यसैले सर्वप्रथम स्तरीय सिर्जनाहरुलाई अनुवाद गरेर विदेशमा प्रचारप्रसार गर्न सक्यो भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सिर्जनाहरुको स्वतःस्तर मापन हुने थियो ।’

यस्तै यस्तै विचारहरुलाई समेटेर यो पुस्तक तयार भएको छ । यस पुस्तकमा निकै गम्भिर प्रश्नहरु उठेका छन् त्यसलाई स्रष्टाहरुले समाधान गर्ने उपायहरु पनि बताएका छन् । तेइस जना स्रष्टाहरुसंग इमेलबाट नै सोधिएको प्रश्न र इमेलबाटै आएका यी जवाफहरु निकै रोचक लाग्दछ । यद्यपि यो बजगाईँजीको प्रयास अन्तिम होइन, शुरुवात मात्र हो भनेर स्वीकार गरेका पनि छन् उनले यसै पुस्तक मार्फत । अन्तराष्ट्रिय नेपाली साहित्य समाज संयुक्त राज्य अमेरिकाद्धारा प्रकाशित यस पुस्तकमा २७८ पृष्ठ रहेका छन् । यसको मुल्य रु.२५० रहेको छ ।

[email protected]

दृष्टि साप्ताहिक २ मार्च २०१० बाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।