19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्रो सामु

कविता अशोक पार्थिव तामाङ March 3, 2010, 1:42 pm

भन्ने र मान्ने पद्दतिको लहलहैमा

बिना कुनै अन्वेषण समाहित भएर हावा झैं उडेको भए

हजारौं चिसा कंक्रिटका मुर्तिहरूलाई आस्थाको नाममा

यदि पुज्दै म फुलमाला र खादा लाउँदो हुँ त

म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ?

यो लज्जित जस्तो अनुहार बोकेर

यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ

जीवन-सम्झौताको खातिर ।

चिप्लिएका हिउँदका सिरेटोहरू !

बादल नदेखिई बर्षिईएका अनुरागका थोपा-थोपा अनुभूतिहरू !

यदि बिना अर्थ जता-ततै पोख्दो हुँ त

म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ?

यो निगार हुनँ लागेको जाँडको झोल भएर

यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ

जीवन-सम्झौताको खातिर ।

केहि कञ्चनजंघा र पवित्र मादीहरू थुनेको छु मेरो दिल भित्र

केहि स्वर्गद्दवारी तिर्थ सरहको मन्दिरहरू बनाएको छु आफु भित्र

बैंसको झोंकमा बिना सम्मान लिलामी हुँदो हुँ त

म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ?

जितेर पनि हारेको जस्तो अनुभव लिएर

यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ

जीवन-सम्झौताको खातिर ।

रहरलाई लाखले गुणा गरी उफ्रिनँ खोज्ने मेरो कवि मन लिएर

शितल चौतारीको खोजमा तिम्रै बरपिपलको छहारीमा

सियाँलिईन रहर गरेको छु

जीवनको अनुभवको चर्खा काट्दा

यदि म साउन भदौ झैं भावनामा धमिलिईन्दो हुँ त

म किन उपस्थित हुँन्थेर तिम्रो सामु यसरी घुँडा टेक्दै ?

यो भीडभाडरूपी कोलाहलमा पनि शान्त अनुभाष बोकेर

यो प्रणय बिम्वले भरिएको अनुरोधको खास्टो उपहार दिनँ

जीवन-सम्झौताको खातिर ।

तपेश्वरी १, उदयपुर, हालः ईजरायल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।