19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रातहरुसँग वेदना

कविता प्रदिप रेग्मी March 5, 2010, 12:41 pm

हे मेरा रातहरु !

केवल तिमीहरु नै हौ,

मेरो मन बुझ्ने साथहरु,

जव तिमीहरु आउँछौं

मेरो भक्कानो फुट्छ

दिनहरुले सृजना गरेका खडेरी प्रति

मुसलधारे वर्षा छुट्छ ,

किनभने तिमीहरुले मेरा कुरा बुझ्छौ

तिमीहरुले भेल उर्लाउँछौ

अनि सृजित खडेरीहरु सखाप हुन्छन् ।

दिनहरुले काल्पनिक आश्वासन दिन्छन् ,

तर तिमीहरुले अमिट यथार्थ दिन्छौ ,

दिनहरुले बाँडेका पोका पन्तराहरुमा

कतै आफन्ती मनको आभाष भेट्दिन ,

तर तिम्रा कुना कन्तराहरु र क्षितिजमा

सामिप्यताको आभाष भेट्छु म

तिम्रो विवेकले बुझ्छ होला नि !

किन सदा तिम्रो पर्खाइमा हुन्छु म ?

क्षितिजमा जव तिम्रो छायाँ झुल्किन्छ

मेरो घायल मन अश्रु बिभोर भै उम्लिन्छ

दिनहरुले दिएका धोकाहरु तिमीलाई सुनाउन

तिमीहरुले विनम्र एकाग्र सुन्छौ,

अनि मेरो मन झन झन भरिन्छ

मेरालागि तिम्रो एकमात्र साथ सम्झेर ।

हे मेरा रातहरु !

दिनहरुका म माथिका बज्रपात

म जतिपनि सहन सक्छु

तिमीहरुले दिएको सहनशिलताले,

तर तिमी नै भन म कसरी सहुँ

मेरो उद्देश्य, विचार र योजनामा

दिनहरुका घात प्रतिघात तुषारापातहरु

मेरो मातृत्व, पितृत्व अनि भातृत्वमा

दिनहरुले पारेका विक्षिप्त चोटहरु,

मलाई म माथिको बज्रपातले भन्दा

ती चोटहरुले बढी चह¥याउँछन् , पोल्छन्

दिनहरु परिवर्तन भइरहदा रहेछन्

समय सुहाउँदो फट्याङ्ग्रोको रङ जस्तै,

एक सत्य एक असत्य अनि असत्य पनि सत्य,

भन मेरा रातहरु यो सब म सहन सक्छु ?

तिम्रा सहनशिलताहरु अझै बाँकी छन् भने

कृपा गर तिम्रो यो अभिन्न मित्रलाई

कसरी अंगालुं दिनका बहुरुपी चरित्रलाई ।

फूलबारी, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।