14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

रातको हुम्ला

कविता श्यामल March 10, 2010, 8:53 am

रातको हुम्ला बास बस्छ

महिनौँदेखि नधोइएको काम्लोभित्र पसेर

आफ्नै सासको तीखो दुर्गन्ध

भालुको पित्तभन्दा तीतो

र त्यसभन्दा तीतो

अजङ्गका पहाडहरूले सगरतिर हेर्नु

भोका अजिङ्गरझैँ लठारिएर

यताबाट चुवा र

उताबाट कर्णालीले

कतैबाट फुत्कन नपाउने गरी

मानिसहरूलाई घेर्नु

हुम्लाको हरेक रात

विषको अन्तिम थोपा पिइरहेको सुकरात ।

प्लेनबाट सिमकोट ओर्लेको

सरकारी जातको भेडालाई

रुघा लाग्छ एकछिनमै

एयरपोर्टको डिलबाट

सानले हेर्छ उ अरू रैथाने भेडाहरूतिर

सी. डी. ओ. अफिसको कौसीमा

जाडोले कामिरहेको राष्ट्रिय ध्वज

कक्रेर निदाउँछ रातभरि

हरेक कर्मचारी जब हुम्ला आइपुग्छन्

आफुलाई सम्झन्छन् कोलम्बस !

उनीहरू खान्छन् प्लेनबाट आइपुगेको रासन

र हुम्लीलाइ खुवाउँछन्

प्लेनबाटै ल्याएको सुशासनको भाषण !

कुनै पनि हुम्लीलाई

जति धेरै बाँच्यो

उति धेरै कष्ट

हुम्लाको हरेक रात

विषको अन्तिम थोपा निलिरहेको सुकरात ।

यस चिसो स्वर्गमा हेर

अति सुन्दर छ

धनसराको घाँघरको लय

कि भयानक अँध्यारोमा पनि

आफ्नै सुर र तालमा लम्किरहन्छ निर्भय

जीवन अनेकौँ निर्णयको जाल हो भने

त्यसको पनि जन्जाल हो

उसले घाँटीमा झुन्ड्याएको कम्पनी माला

हुम्ला आफूले पिएर विषको घैँटो

वा पिउन नपाएर त्यही विष पनि

बक्खुबाट निकालेर दरबार पठाउँछ मृतसञ्जीवनी

हुम्लाको हरेक रात

अन्तिम सासको निष्कासन पर्खिरहेको

अभियुक्त सुकरात ।

केटाकेटीका नाकबाट बगिरहेका

हिमनदीहरूले छेकेको बाटामा उभिएर हेर तिमी

यो बाँकी नेपालसँग नजोडिएको नेपाल हो

नेपाल हो भने

माकुराको धागोले नेपालसँग जोडेको अर्कै नेपाल हो

तैपनि बुझ्दोरहेछ यसले छक्कबहादुरको अङ्ग्रेजी

र हाँसेरै उत्तर दिँदोरहेछ

जीवनले सोधेका प्रश्नहरूको

हुम्लाको रात जब पाखीसँगै तात्तिन थाल्छ

तब यो चिसो सिरेटो पनि आत्तिन थाल्छ

हुम्लाको हरेक रात

आगतका लागि वर्तमान मारिरहेको सुकरात ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।