19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्पेस

कविता मनोज बोगटी March 11, 2010, 11:20 am

अघि हिँड़्‌नेहरूको पाइलाको धुलोले

ड्याम्म छोपेको छ

स्पेसको बाटो।

पुरानो बाटो भत्काएको भ्रमको

मीठो निद्रालाई

विचारको अँध्यारो कोठामा सुताउनेहरू

ब्यूँझिएको रिहर्सलको बतास चल्छ

बतासमा कता-कता टुक्रिन्छ विचार। टुक्रिन्छ।

कता-कता छरिन्छ संवेदना। छरिन्छ।

बतासमा भत्किबस्छ नी!

पारम्पारिक सत्ताको घर।

पछि-पछि कुदिबस्ने

आलाप, नारा, मानसिक रोगी घोषणाको अनुहार

चिन्दैन

(किन चिन्नु?)

स्पेसको अर्को फाटक टेक्ने पस्पेसराइडरले।

कति रिस्‌ जस्तो चर्किबस्नु?

जोड़िन नसक्ने जङ्गली संवेदनाले। कति चर्किबस्नु?

हँ अक्षर

कति फिँज जस्तो फुटिबस्नु?

( बाटो हुँदैन

बाटोको घर, परिवार

आफन्त, छिमेकी संसार केही हुँदैन।

बाटाले भत्किनु, बनिनु पर्दैन।

बाटो नै हुँदैन । हुँदैन बाटो।

कहॉं छ बाटो?)

बाटो बनाएँ भन्नु

लुते घोषणा हुन्छ।

अघि हिँड़्‌नेहरूले

खोसलिराखेको

नाङ्गो(?) सत्यमा

ओभरराइटिङ गर्दै बस्नुको

घमण्डको बेलुन सधैँ फुल्लिबस्छ। फुल्लिबस्छ।

जब त्यो फुट्‌छ, त्यो फुट्‌छ

त्यसको आवाजलाई

नयॉं-को अवतरण मानेर आरती गाउने

गाइनेहरू

किलामा गोरूहरू झैं घुमिबस्छ। घुमिबस्छ।

किन डराउनु?

त्यो जोड़ले रिसाउने पाठकसित।

त्यसले त्यसको पाठलाई

त्यसको निजी पतलुङ जस्तो पैह्रेको छ।

पछि हिँड़्‌नेहरूको पाइलाको धुलोले

फेरि ड्याम्म छोपेको छ

अर्को स्पेस।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।