19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लाइसेन्स

लघुकथा डा. रविन्द्र समिर March 15, 2010, 6:49 pm

" कुमारीले बिहे नगर्दै छोरी जन्माई रे " गाउँभरि सलह फैलिएझैँ हल्ला फैलियो। "बिहे नगर्दै कसैले बच्चा जन्माउँछ? कहीँ नभएको जात्रा हाँडी गाउँमा ..........? " मान्छेहरूले हल्ला गर्ने रमाइलो विषय पाए।

लोकलाजस्वरूप कुमारद्वारा बलात्कृत भएको घटना बताउन नसकेको कुमारीले रहस्योद्घाटन गरेपछि समाजले एउटा प्राविधिक निर्णय गर्‍यो।

अर्को वर्ष कुमारीले त्यसैगरी छोरो जन्माई जसरी गत वर्ष छोरी जन्माएकी थिई। यस पटक समाजमा हल्ला भएन बरू कुमारको निधार अविरले रातो भयो।

रक्सी र लागू पदार्थको नशामा कुमारी दैनिक कुमारद्वारा बलात्कृत भइरही, बच्चा जन्माउने विकासे कारखानामा परिणत भई।

आफू वर्षौदेखि बारम्बार कुमारद्वारा पाशविक रूपमा बलात्कृत भइरहेकोले न्याय पाउँ भनी समाजसमक्ष कुमारीले भीख मागी।

कुमारीको लागि न्यायको ढोका पूर्णतः बन्द भएको फैसला सुनाइयो, यसकारण कि समाजले गरेको प्राविधिक निर्णय अर्थात् विवाहपश्चात् कुमारले बलात्कारको वैधानिक लाइसेन्स पाइसकेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।