19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अयोग्य पात्र

कथा सुवास खनाल March 26, 2010, 3:07 pm

ऊ कथाको पात्र हो । ऊ मतलव शान्ति ।

अयोग्य पात्र । कथाका निम्ति भने हैन । कथाको निम्ति त योग्य ठहरिई भन्नुपर्र्छ । भन्नुपर्छ नभनौ“,हो । कथाको पात्र,यसको मतलब उसलाई कथाकारले आÏनो इच्छाअनुसार प्रयोग गर्न सक्छ । कथाको पात्र भएकै नाताले ऊ प्रयोग भइदिन्छे । नेपालका जनता भोटका निम्ति प्रयोग भएजस्तै ,मानौ“ । कथा वास्तविक हो पनि नभनू“ । अवास्तविक हो पनि नभनू“ । वास्तविक पनि भनू“ । अवास्तविक पनि भनू“ । विश्वसनीय ठहरिए वास्तविक र अविश्वसनीय ठहरिए अवास्तविक,यस्तै मानिने परम्पराको एउटा प्राक्कल्पनाका निम्ति दर्ता भनौ“ । भनौ“ भन्दा पनि दर्ता नै हो ।

ऊ अहिले एउटा ड्युएल पात्र हो, यही सिद्घ छ । यो लि¨को आधारमा हैन । उसको परिचय /परिभाषा दुईवटा स्थापित छ ।

परिभाषा एकः ऊ एक जनताका निम्ति लड्ने क्रान्तिकारी साहसी योद्घा हो ।

परिभाषा दुईः ऊ एक आतङ्ककारी हो ।

समय असहज छ । देशमा विभेदका पर्खालहरू छन् । हु“दा खाने र हुनेखानेहरूमा ठूलो ग्याप छ । गाउ“मा कहिलेकाही“ चल्ने पाठशाला र सहरमा बिदाका दिनमा पनि सञ्चालनरत हाइफाइ बोर्डिङ र ए लेभल कलेजहरू । जन्मिनुको जिओग्राफिकल मिस्टेक (वा जिनेटिक मिस्टेक) ले आत्मसम्मानमा ठूलो धक्का हुन्छ । ऊ क्रान्तिकारी र जनताका निम्ति लड्ने सहयोद्धा परिभाषित हुनुमा यी र यस्ता कारणहरू हुन सक्छन् ।

देशको परिस्थिति असहज छ । स्वतन्त्र ढङ्गले कुनै पनि विकासात्मक कार्यक्रम अगाडि बढाउन सम्भव छैन । राजनीतिक अस्थिरता व्यापक छ । एक सेकेन्डमा साठी पटक परिवर्तन हुने अल्टरनेटिङ करेन्टको फ्रिक्वेन्सीजस्तै । सरकार बन्नु र ढल्नु भनेको डोरीको बलले एकछिन घुर्रा घुमेर फेरी ढल्नुजस्तै छ । यस स्थितिमा गृहद्वन्द्व अझै बढाउने जनसमूह खडा गर्नुले ऊ आतङ्ककारीको परीभाषाभित्र अटेकी हुनसक्छे ।

उसकी आमाले उसको शान्त स्वभावको सहज आ“कलनबाट शान्ति नाम दिएकी हुन् । तर उसले धेरै भइसक्यो आमालाई नभेटेको । उसलाई थाहा छ उसकी आमाले धेरै माया गर्थिन् । यो समयको बित्दो क्रमस“गै उसका थुप्रै साथिहरूको नाम परिवर्तन भयो । परिवर्तन ,ज्वाला , अग्नि आकाश,सागर,विप्लव¬¬यी निकै हिट नामहरू थिए । ऊ सायद आङ्खनै नाम मोहमा फसेकी थिई । वा आमाको मायामा । उसको नाम परिवर्तन भएन । ऊ पनि आमालाई असाध्यै माया गर्छे ।

“यो बढि भावनात्मक छे,पार्टीको लागि उपयुक्त मानिस होइन ।” यो उसले निकै पटक मानसिक तनाव व्यहोर्न झेलेको वाक्य हो ।

“मेरो संवेदनशीलता र भावनात्मकता मेरो निजत्व होइन र ?”

“देश एक सङ्गीन घडीमा उभिएको बेला हामीले मुटु दरो पारेर शत्रुहरूस“ग लड्नु आवश्यक पनि छ ।”

यी एकाध तर¨हरूले उसको मनमा भावावेगहरू ल्याइदिइरहन्छ ।

अगाडि बढ्नु बाध्यात्मक ठहरिन्छ । कारण पछाडि फर्कन स्थिति शेष रह“दैन ।

उसमा आÏनो मोर्चाको कतिपय ठाउ“मा भएको सहज विजयले ठूलो हौसला र खुसी ल्याइदिन्थ्यो । हुलाकीले परदेशीको चिठ्ठी घरमा ल्याइदिएझै“ ।

फेरि आङ्खनो हात नियाल्थी । हातमा रेखाहरू कति स्पष्ट छन् । ज्योतिषलाई विश्वास गर्नु भ्रम हो , यो उसको पार्टीको मान्यता हो । ऊ सानामा आमाले उसको हात हेराउ“दाका कुराहरू सन्झिन्थी ।

–“यो केटी बहुत लक्षिनकी छे ।”

–“यसका हातहरू कोमल छन् ।”

–“हस्तरेखाहरू सुस्पष्ट छन् ।”

–“समयले साथ दिएमा यसको भविष्य राम्रो देखिन्छ ।”

ज्योतिषले जोडेको ‘समयले साथ दिएमा’ भन्ने शब्दसमूहले उसमा ज्योतिष विश्वासमा कमी ल्याउन सहयोग पु¥याएको थियो ।

आङ्खना कोमल हातहरूमा बन्दुक नसुहाएको भने उसलाई पटक पटक लागिरहन्थ्यो । उसलाई फूल रोप्नु,गोडमेल गर्नु र बगै“चा बनाउनुको खुब भव्य शौख थियो । शौख राख्नु हुन्न । यो सामन्ति प्रवृत्ति हो । उसले आन्तरिक प्रशिक्षणमा धेरै पटक सुनेको वाक्य हो ।

मनपर्ने–

फूल । बन्दुक । कलम । साहस ।

यी सबै अप्सनमध्ये बन्दुक नसुहाएझै“ उसलाई लागिरहन्थ्यो । फूल, कलम र साहससम्मको कुरामा ऊ सहज छे । बन्दुक, जून उसको वास्तविकता हो । र योस“ग उसको सफा सोच छैन । भनौ“ बन्दुकले सिर्जना गरेको द्वन्द्व उसमा व्याप्त छ ।

“कुन बन्दुकबाट सिर्जना सम्भव छ ?”

“विनासपछि विकास सम्भव छ, उदाहरण जापान ।”

अगाडिको वाक्यमा कुनै डुवालिटी(duality) छैन । तर दोस्रो वाक्य, उसलाई द्विविधा सिर्जना गर्ने वाक्य हो । जापानमाझै“ विनास पछि विकास सबैतिर सम्भव छैन । विनाश पछि विनाश नै ,यो प्रायश: देखिने परिणाम हो ।

ऊ ओशो पनि पढ्दथिई । र कुनै वादको पछाडि लाग्नु, पिछलग्गु हुनु ,अनुयायी हुनु परतन्त्रता हो । यो उसले सुस्पष्ट पढेकी वाक्य हो । र फेरी परतन्त्र थिई । उसले सोचाईको घेरा अलि फराकिलो (वा साघुरो खै के ?) बनाउन खोजेकी हो । स्वतन्त्रता परतन्त्रताको आडमा प्राप्त हु“दो रहेछ ,यस्तै सोचेकी हुनुपर्छ ।

देश एक प्रकारको अर्को फेजमा रूपान्तर भयो,मान्नुपर्छ । देशमा गणतन्त्र आयो , परिवर्तन भयो ,यो भनि हाल्नु उपयुक्त हु“दैन । परिवर्तन भयो,आयो भन्ने विषय अनुभवपरक सिद्ध छैन । मानौ“ एउटा टर्न ओभर भयो । सुताइमा एक कोल्टे फेरियो । तर उठेको होइन । जागा भएको होइन भन्ने बुझौ“ ।

सहर उस्तै छ । गाउ“ उस्तै छ । उसकी आमा अझै असहज बन्दै होलिन् । यो उसको अनुमान मात्र होइन किनकी उसले अवस्था अनुकूल भएपछि आमास“ग एक पटक भेटेकी हो ।आमा निकै कमजोर र मलिन हु“दै गएकी थिइन् ।

उनीहरू क्याम्पमा छन् । सबैले बुझ्ने र सहज भाषा –क्याम्प । यस्तो हो भनेर अझै स्पष्ट गर्नु जरूरी छैन किनकी यो भन्दा बुझि“दो भाषा अरू सम्भव छैन । आजभोली यस्तै टर्मिनोलोजीहरू बढि अभ्यस्त हु“दै जानुको नियति यथार्थता हो । विद्यार्थीहरूलाई पनि टेक्स्टमा प्रयुक्त वाक्यहरू भन्दा यी खालका वाक्यहरू बढी मुखाग्र छन् ।

क्याम्पमा उनीहरू छन् । यो समय लम्बि“दै गइरहेको छ । उनीहरूको व्यवस्थापनका निम्ति विविध निकायहरू गठित छन् । ती निकायहरू आफै“मा व्यवस्थापन हुन सकिरहेका छैनन् । चार महिना ,आठ महिना...यो समय लम्बि“दो छ ।

उसमा एउटा नया“ अनुभूतिको सिलसिला सुरू भएको छ–आजभोली ।

‘प्रेम’

उसमा यो एउटा नितान्त नया“ अनुभूति । एउटा केही सहारा नपाए पनि ,पाएजस्तो । केही भविष्य नदेखेर पनि , देखेजस्तो । यो एउटा भ्रम नै हो कि ? ऊ क्याम्पकै एउटा पात्र मन पराउ“छे ।

प्रेम के हो ? यो थाहा छैन । अनुभूति छ ।

कस्तो अनुभूति ?

त्यो पनि ठोस यस्तो भन्ने छैन । कहिले पीडाबोध हुन्छ कहिले खुशी ।

जहा“ कुनै विषय छैन,त्यहा“ धेरै ठूलो विषय देखिन्छ । जहा“ अत्यन्तै ठुलो विषय छ ,त्यो अत्यन्त माइनर भइदिन्छ । अमूर्त प्रेममा मूर्त उनीहरू अमूर्त कल्पनाझै“ छन् । कहा“ कहा“ हराएका छन् । अदृश्य छन् । एउटा अपूर्व भविष्यसम्मको कल्पनामा खिचिएका छन् ,कुनै डोरीले तानिरहेको चङ्गाझै“ भावनात्मक कल्पनाको उडानमा छन् ।

भविष्यकल्पना –

ऊ आमा हुनेछे । ऊ बाबु बन्नेछ । उनीहरूका बालबच्चा हुनेछन् । ऊ बच्चाहरूलाई भनेका कुरा नमान्दा हप्काउ“दै हुनेछे । बालबच्चालाई हप्काएकामा बाबुचाहि“ उसलाई हप्काउ“दै हुनेछ ।

कथाकार यो भन्दा अघि बढ्न चाहेन । कथाकारले लेखेकै छ,उनीहरूमा भावनात्मक उतारचढावहरू अत्यन्तै आएका हुन् ।

आज एउटा नया“ खालको घटना घट्यो । ऊ अयोग्य पात्र ठहरिई र क्याम्पबाट बाहिरिने भई । अयोग्य पात्र छनौटका केही आधारहरू थिए । ऊ आधारहरूको बटमलाइनभन्दा बाहिर परी ।

अर्को पात्र जो उसले रोजेकी थिई । ऊ योग्य पात्र ठहरियो । ऊ क्याम्पबाट बाहिरिने भएन ।

ऊ क्याम्पबाट बाहिरिई । (उसले कसरी सकी ?) । यो कथाकारलाई पनि थाहा छैन । कथाकारलाई यति थाहा छ –ऊ बाहिरिई । ऊ आ“शु झार्दै गएकी थिई । पत्रिकाहरूले फोटो छापे उसका । टेलिभिजन र रेडियोको रिपोर्ट खुब राम्रो बन्यो ।

उसको हृदयभित्रको एउटा कथा सायद कसैले क्यामरामा कैद गर्न सकेन । मनभित्रको ठूलो पीडा पत्रिकामा फोटो बनेर छापिएन ।अयोग्य पात्र बाहिरिएकोमा सरकार खुसी थियो । उसका सङ्गठकहरूले पनि एउटा बोझ पन्छिएझै“ अनुभूति गरे ।

यो भन्दा पछि कथाकारलाई पनि थाहा छैन ।

एउटा क्रान्तिकारी नेता क्रान्तिको समाप्तिपछि अयोग्य पात्र घोषित भयो भने । एउटा राष्ट्र नेतृत्वकर्ता नेतृत्वमा पुगेपछि अयोग्य चरित्र ठहरियो भने । वा एउटा घटना क्लाइमेक्समा पुगिसकेपछि घटनाका सङ्गठकहरू काल्पनिक घोषित भएभने । यस्तो नहोस्¬¬। कथाका पछिल्ला लाइनहरूमा यस्तो लेखिएको थियो ।

कथाकारका अनुसार यो कथाको अन्त्य यही“ हुन्छ ।

तर यस्ता कथाहरू अन्त्य भने भएका छैनन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।