19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

टुँडिखेल

कविता मणिराज सिंह March 26, 2010, 3:13 pm

नचाहँदा नचाहँदै फुलेका

तितेपानीको पूmलझैँ

सून्य हृदय र रित्तो आकाश छामेर

गरीब बाबुको

तरुनी छोरीले

यौवनको उन्माद

थाम्न नसकेर

आकर्षण, तिरस्कार र चाहनाको शूल रोपेझैँ

चुपचाप निस्सासिरहेछ

सिंगो टुँडिखेल ।

बाक्लो अन्यौल पहिरेर

बिरुपाक्षले आर्यघाट कुरिरहेझैँ

मकैबारीमा गाडिएको मचानमा उक्लेर

धपाइरहेछ स्याल र बाँदरहरू

र दिन गनिरहेछ एक एक गर्दै

मकैका गेडाहरू छोडाउँदै

बिद्रुप हाँसो हाँसिरहेछ

एक्लो, नाङ्गो र हताश टुँडिखेल ।

अधुरा सपनाका टुक्राटुक्रीहरू

छातीको ओढारमा लुकाएर

प्रेमीकाको अत्यास लाग्दा चाहनाको

जोहो गर्दागर्दै

पत्नीको स्तन क्यान्सरको

ओखती गर्न नसकेर

किंकर्तव्य विमुढ भै

आफैँसँग तर्सिरहेछ टुँडिखेल

शायद

स्वामित्व हराएको खेतको आलीमा उभिएर

आफैँलाई नियालिरहेको कृषकझैँ

घाँटीमै अडकिएको क्रन्दनको हिक्का

अस्पष्ट सीत्कार र आँखाको डिलमा टल्किएको आँशु

निलेर मनका खोकिलाहरूमा

भक्कानिरहेछ टुँडिखेल ।

मसानका ढिस्काहरूमाथि टेकेर

रगतका फाल्साहरू फिँजाएर जताततै

साउती गरिरहेछ साँघुरा गल्लीहरूमा

अस्ताउँदो सर्यको मलामी जान तम्सेर

मृत्यु उत्सव आयोजन गर्दैछ

स्वयम्भूको तश्रो नेत्र मुन्तिर

बारुद्धको तन्ना फिँजाएर

बागमतीको दुर्घन्धित बगरमा

एकतमासले कुरिहरेछ टुँडिखेल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।