राजु एस.एल.सी.मा प्रथम श्रेणीमा उत्तीर्ण भयो रे।' यो हल्लाको साझा उत्तर भेटियो– 'आ! गरिबको छोरोले प्रथम–श्रेणी ल्याएर के भो त? भारी बोक्छ, हलो जोत्छ .....।'
पुस्तै–पिच्छे टुक्रिदै गएको पुर्ख्यौली खेत बेचेर आफन्तहरुको असहयोग, अवहेलना तथा अङ्कुशे व्यवहार सहँदै राजु तूफानझै अगाडी लम्किरह्यो। '..... राजु आइ.एस्सी.मा क्याम्पस प्रथम भयो, विदेशमा पढ्न जाने छात्रबृत्ति पाउने सम्भावना छ रे।' उसको टोलटिमेकका मान्टेहरु सशङ्कित भए– कतै गरिबको छोरो ठूलो मान्छे हुने त होइन?
पढाई तथा पेशाको लागि आफ्नो घरबाहिर बसेकाहरुमध्ये धेरै जसो दशैंमा घर फर्किए, तर राजु फर्किएन। गाउँलेहरुले शहरको हालखबर, नेताजी, फूलमाया, साहुकान्छा आदिको सञ्चो–विसञ्चो सोधे तर सम्भावित विस्फोटक उत्तरको त्रासदीले राजुकोबारेमा सोध्ने हिम्मत गरेनन्।
'राजु पाइलट–कोर्स पढ्न अमेरिका गयो रे।' यो हल्ला भूसको आगो झैं भित्रभित्रै सल्कियो अर्थात् सबैले थाहा पाए तर एकआपसमा सुन्न–सुनाउन सकेनन्।
'.... पढ्न गएको राजुले एकवर्ष नपुग्दै दशलाख पठायो रे।' समाचार नबनाइएको यो समाचारले गर्दा अम्मलीहरुको अम्मल बढ्यो, स्वास्थहरुको पेट पोल्न थाल्यो, धेरैजनाको निद्रा नाश भयो।
'...... राजु काठमाडौं फर्केर ठूलो घर बनायो रे, आकाशमा हवाइजहाज उडाउन थाल्यो रे।' यो हल्लाले त्यसटोलमा अघोषित–कर्फ्यू लाग्यो, टोलबासीहरुको वजन मात्र घटेन मानसिक रोग अवसादले समेत ग्र्रसित भए।
'..... राजुको अर्कै जातकी केटी अर्थात् स्त्रीरोग विशेषज्ञसँग भव्य विवाह भयो रे।' यसपटक मानिसहरु चोक, धारा, विद्यालय तथा चियापसल वरिपरि एकत्रित भएर वर्षौदेखि बिर्सेको उन्मुक्त–हाँसो हाँस्दै हवाइजहाज उडाइरहेको राजुलाई उडाए– 'तल्लो जातकी केटी उडाएछ? हा! हा!! हा!!! क्या बिग्रेछ मोरो ........?'