18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बौलाही आमा र वात्सल्य प्रेम

कथा तुलसी प्रवास March 27, 2010, 3:02 pm

सधैं झैँ आजपनि त्यही सडकको छेउमा बसेर त्यो बूढी बौलाही आफ्नो छोराको नाम पुकारिरहेकी छ । काखमा एउटा कपडाको पोको लिएर मेरो बाबु भन्दै घरिघरि च्याप्दै छ । तमासेहरु उसलाई वरिपरि घेरेर हाँस्दै ताली बजाउँदै तमासा हेरिरहेका छन् । ऊ भने घरि हाँस्छे घरि रुन्छे घरि टोलाउँछे एक्लै एक्लै । वात्सल्य प्रेमको अथाह सागरमा उसका नयनबाट झरेका आँसुहरु दिनप्रतिदिन मिसिँदै जान्छन,आँसु सागर बन्छन् र दिनप्रतिदिन डुबाइरहन्छन् त्यही बूढी बौलाहीलाई ।

आजभन्दा धेरै वर्ष पहिलेको कुरा हो गाउँको एउटा सानो घरमा बस्थे राममाया र उसको लोग्ने सन्तवीर । उनीहरु गरीब थिए तर आफ्नै पाखुरीको बलले हातमुख जोर्ने समस्यालाई टार्दै दिन बिताउँदै थिए । सन्तवीर बिहानै उठेर बजार जान्थ्यो । विदेशबाट आएका लाहुरेहरुका गुण्टा, बाकस बोकेर कहिले कता कहिले कता जाँदै गर्दा धेरै दिनसम्म पनि घरमा फर्कन्नथ्यो । राममाया घरको काम गर्थी । मुखियाको खेत उनीहरुले अधीयामा लिएका थिए । त्यही खेतमा गएर दिनप्रतिदिन आफ्नो पसिना पोख्थी । माटाका डल्लालाई पसिनाले सिंचित गर्थी । साँझ घरमा आएर उही एउटै निस्वास छाड्थी उफ् ! आज पनि एक्लै बस्नुपर्ने भो !

राममायालाई त्यसघरमा एक्लै बस्दा बस्दा पट्यार लागेर आउँथ्यो । सन्तवीर कहिले १५ दिन त कहिले १ महिना सम्म पनि घरमा आउँदैनथ्यो । बाटोको घर कहिले को हिँडने कहिले को हिँडने । रातभर पनि बाहिर हिँडेको, गुनगुन आवाज निकालेको सुन्थी । राममायाको छाति फुलेर आउँथ्यो कतै गुन्डाहरु..........। पूरा गर्न सक्तिनथी वाक्यलाई । उसको आफ्नो उमेरसँग घरिघरि रीस उठेर आउँथ्यो । छिट्टै बूढी हुन पाए पनि हून्थ्यो भन्ने चाहना गर्थी मनमनै । दिउँस आँगनमा घाम ताप्तै कपाल कोरीरहेकोे बेला एउटा बटुवाले एक टकले उसलाई हेरिरहेको सम्झेर उसलाई कताकता लाज लागेर आउथ्यो । फेरि रिस उठ्थ्यो त्यस बटुवाप्रति “मोरो कहिँको, अर्काकी स्वास्नीलाई के त्यसरी हेर्न सकेको ?” उसले मनमनै सराप्थी बटुवालाई ।

राममाया त्यतिबेला भर्खरै २१ पुगेर २२ की भएकी थिई । १५वर्षमै उसले सन्तवीरलाई पतिवरण गरेकी थिई । त्यो पनि प्रेमविवाह गरेर । सन्तवीर दिनदिनै घाँस काट्ने निहुँले उसैको घरमुनिबाट मीठो धुन सुसेल्दै वन जाने गथ्र्यो । उ पनि घाँस दाउरा गर्न वन जान्थी । त्यही वन नै उनीहरुको प्रेम स्थल बनेको थियो । उसले अझैं सम्झन्छे चैत बैशाखको ठाडो घाममा रुखको छहारीमा बसिरहेको बेला हातमा एउटा सुन्दर लाली गुराँस ल्याएर सन्तवीरले चुल्ठामा सिउरेको । हुन पनि त्यतिबेला उसको घर नजिकै जंगलीपाखामा ढकमक्क लालीगुराँस फुल्थ्यो । त्यही फूलको सुन्दरतासँग सन्तवीरले उसलाई दाँज्ने गथ्र्यो । उनीहरुको प्रेम यसरी नै प्रकृतिसँगै हुर्कँदै थियो । प्रकृति जस्तै निर्मल र पवित्र प्रेमले लालिगुराँस जस्तै फक्रने अवसर पाएको थियो ।

विवाह भएर आएको ५/६ वर्ष बितिसक्दा पनि राममायाले आमा हुने रहरबाट बञ्चित हुनुपरेको थियो । उसले सम्झन्थी आफूसँगैका साथीहरुले काखभरिको छोरो बोकेर हाँस्दै छोरासँग तोते बोली निकाल्दै कुरा गर्छन् । त्यतिबेला उसलाई झन सन्तानको रहरले भित्रभित्रै काउकुती लाग्ने गथ्र्यो । सन्तवीर कहिलेकाँही घरमा आउँदा लाज मानी—मानी उसले रहर सुनाउँथी । सन्तवीर मुुसुक्क हाँस्थ्यो आफ्नी प्रिय पत्नीको रहर सुनेर । राममाया पर्खन्थी १ महिनासम्म । पुनः रजस्वलाको रातो रगत देखी झसङ्ग हुन्थी । यसपटक पनि खै................!

सन्तवीर काममा गएको पनि आज त १७ दिन भैसकेछ । राममायालाई कताकता आफ्नो पतिप्रति रीस पनि उठेर आउँछ । मनमनै भन्छे “हैन यो लोग्ने मान्छको जातलाई आफ्नो घरको माया पनि हुन्न कि क्या हो ? घरमा तरुनी स्वास्नी एक्लै छाडेर १७।१७ दिनसम्म पनि बाहिरै रहन सक्ने।” यस्तै यस्तै मनमा तर्कनाहरु खेलाएर खेलाएर बसेको बेला बाहिर कसैले ख्याक्क खोकेको आवाज आउँछ । राममायाले घरको ढोका उघारेर मुन्टो मात्र बाहिर निकालेर हेर्छे । उही पल्लो घरको श्याम ढोकामा उभिएर मुसुुक्क हाँसिरहेको हुन्छ । राममायाले पनि उसको जवाफ मुसुक्क मुस्काएरै दिन्छे । “भित्रै आउनुस न बाबु किन बहिर उभिनु भएको ?” श्यामेले सोध्यो “दाइ आउनु भएको छैन ?”

“अहँ !” छोटो जवाफ दिन्छे राममायाले । श्याम भित्र आएपछि ढोका जोडेर राममाया र श्याम भित्र कोठामा जान्छन् ।

“अनि बाबु आज कति कामले हो ?” राममायाले औपचारिकता बिच्छ्याउँछे । “यसो बजारबाट आउँदै थिएँ भाउजूलाई पनि बोलाएर जाउँ भनेर मात्रै पसेको । दाइ घरमा नआएको कति दिन भयो भाउजू ?”

“आज १७ दिन” राममायाले उत्तर दिई ।

“ओहो ! यत्रो दिनसम्म भाउजू एक्लै ! डर लाग्दैन भाउजू हजूरलाई ?”

“डर लागेर के गर्नु बाबु ! घरमा एक्लै भएपछि कसलाई साथी बोलाउने ?” एकैछिन बसेर श्यामे आफ्नो घरतिर लाग्यो । भोलि पर्सिपल्ट पनि आएर यसो चिया पिएर श्यामे जान थाल्यो ।

धेरै दिनसम्म पतिको स्पर्श नपाएकी राममायालाई श्यामे आफ्नो घरमा आउँदा कताकता रमाइलो लाग्थ्यो । उसले श्यामेको स्वागतमा आफ्नो घरको ढोका सधैँ खुला राख्न थाली । श्यामेसँगै बसेर चिया पिउँदै कताकति ठट्टा गर्न थाली । घरिघरि हाँसोको क्षणमा श्यामेले राममायालाई स्पर्श गर्ने धकेल्ने गर्न थाल्यो । पहिले त राममाया झस्कन्थी तर बिस्तारै त्यो पनि उसलाई सहज जस्तै लाग्न थाल्यो । राममायाले पनि श्यामेको हात समात्ने ठट्टा गर्ने जस्ता कामहरु सामान्य जस्तै लाग्न थाली । यसरी राममाया आफ्नो एकलो घरमा पनि रमाउन थालेकी थिई ।

एक दिन घाम पश्चिमतर्फ ओरालो लागिसकेको थियो । पारिपाखामा काम गर्ने खेतालाहरु प्नि आफ्नो मेलो सोझ्याउने तरखरमा थिए । गोठालाहरुले गाइवस्तु फर्काइसकेकका थिए । राममाया भर्खरै खेतमा गएर आई पिँढीमा बसेर मनभित्र विभिन्न तर्कनाहरुलाई खेलाईरहेकी थिई । त्यति नै बेला श्यामे टुप्लुक्क आइपुग्छ । राममायाले पिँढीको छेउमा बस्न आग्रह गर्दै गुन्द्री बिच्छाउँछे । धेरै बेरको कुराकानीपछि श्यामलाई भित्रै डाक्दै राममाया चिया बसाल्न थाल्छे । श्यामे पनि भित्रै गएर खाटमा बस्छ । चिया पिइसकेपछि उनीहरुको बीचमा उही ख्याल ठट्टाको फोहरा छुट्न थाल्छ । पहिलै जस्तै हात हालाहाल पनि हुनथाल्छ । आज राममाया हिजो अस्तिभन्दा अलि बढी नै उत्तेजित हुन पुग्छे । श्यामे पनि के कम थियो र ? १८।१९ वर्षको लक्का जवान थियो । दुवै लामो आलिङ्गनमा बाँधिन्छन् । राममायाले लामो सास फेर्छे । आज उसको मन कता कता चङ्गा जस्तै हुन्छ । धेरै दिनदेखिको भारी बिसाउने चौतारी भेटे जस्तै हुन्छ उसलाई ।

चारदिन पछि सन्तवीर पनि आइपुग्छ । उसले राममायालाई केही कपडा चुरा पोते साथै मिठाइहरु पनि ल्याएको हुन्छ । राममाया एकैछिन ठुस्कन्छे यतिका दिनसम्म हराएकोमा । सन्तवीरले कामको चाप बढेकोले आउन नपाएको गुनासो पोख्दै माफ माग्छ । राममायाले घरमा आफू एक्लै बस्न नसक्ने कुरा बताउँछे । सन्तवीरले सम्झाउँछ अब केही दिन पछि यो घर बेचेर तल बजारतिर डेरा गरेर बस्ने । दुबैले उहीँ सानो तिनो काम गरेर गुजारा चलाउने आश्वासन दिन्छ । यसरी मिठो आश्वासन चाख्दै बस्दै गर्दा सन्तवीरको काममा जाने समय पनि आइपुग्छ । शहरबाट आफू फर्केर आउँदा डेरा खोजेर आउने वचन दिएर सन्तवीर फेरी बाटो लाग्छ ।

राममाया आजभोलि साह्रै खुसी छे । उसको महिनावारी रोकिएको पनि ३ महिना भइसकेको छ । उसले घरिघरि आफ्नो पेटमा हेर्दै मुस्काउन थाल्छे । उसलाई कताकता लाज लागेर आउँछ । मनमनै सम्झन्छे सन्तवीरलाई अनि घरिघरि श्यामेलाई । उसले त्यसदिन श्यामेसँग भएको घटना स्मरण गर्छे । उसलाई भित्रभित्रै डर पनि लागेर आउँछ तर त्यो डरलाई एकैछिन पछि मातृत्वले टाढै भगाइदिन्छ । सन्तवीर पनि खूब खुसी छ यतिबेला । अब त आफ्नो पनि सन्तान हुने आशाले दिन दिनै काममा गएर मिठामिठा खानेकुरा ल्याएर राममायालाई खुवाउँछ । उसले घरको सानो भन्दा सानाो काम पनि राममायालाई गर्न लगाउँदैन । बिहानै उठ्ने धाराबाट पानी ल्याउने खाना बनाउने भाँडा माझ्ने सबै काम सन्तवीर आफै गर्छ । घरको सबै काम सकेर काममा जान्छ । साँझ चाँडै आएर घरको कामतर्फ लाग्छ । उसलाई सबैले भनेको याद छ “गर्भवती महिलाले काममा बल गर्नु हुँदैन् ।” त्यसैले सानो काम पनि राममायालाई गर्न दिँदैन उसले । आखिर फल पाकेपछि एकदिन अवश्य झर्छ नै । राममाया पनि एकदिन सुत्केरी हुन्छे । उसलाई पुत्ररत्न प्राप्त हुन्छ । राममाया र सन्तवीरको खुसीको सीमा नै रहँदैन । सन्तवीरले पहिलेदेखि जम्मा गरेर राखेको केही पैसाले मिठाइ किन्छ, आफ्ना साथी भाइ सबैलाई खुवाउँछ छोरो जन्मेको खुसियालीमा । शरदमा मुस्काउने सयपत्रीजस्तै राममाया र सन्तवीरको छोरो हर्कमान दिन प्रतिदिन हलक्क बढ्दै जान्छ । सन्तवीरको डेरा नै उज्यालो भएको छ आजभोलि त । वल्लो पल्लो कोठामा बस्नेहरु पनि हर्कमानलाई खूबै माया गर्छन् । कहिले काखमा लिन्छन्, कहिले म्वाईँ खान्छन् । यसरी सबैको माया पाएर हर्कमान दिनप्रतिदिन आफ्ना शैशवकालका सिँढीहरु चढ्दै जान्छ ।

भर्खरै हिउँद लागेको छ । रुखभरिका पातहरु झरेर नाङ्गो मान्छेको करङजस्तै देखिएका छन् । जताततै फुङ्ग धुलो उडेको छ । पारी वनमा एकोहोरो न्याउलीको रुवाइ स्पष्टै सुनिन्छ । आकाश सफा भएपनि हिउँदको घाम त्यति चर्काे भने भैसकेको हुँदैन । राममाया छोरोलाई साथैमा लिएर गिटी फुटाउँदै गरेकी हुन्छे । सन्तवीर काममा गएको पनि ५ दिन भैसकेको हुन्छ । राममायालाई अघिल्लो रातको सपना याद हुन्छ । गिटी कुट्न छाडेर एकैछिन टोलाइरहन्छे । कतै रातीको सपनाले नराम्रो हुने त होइन ? उसले खेल्दै गरेको हर्कमानलाई बोलाउँछे काखमा राखेर निधार गाला जताततै म्वाइको वर्षा गराउँछे । हर्कमान पनि आमाको न्यानो काख र मिठो चुम्बन देखि मख्ख हुन्छ । थोते मुख देखाएर मुसुक्क हाँस्छ । राममाया फेरी छोरालाई भुर्इँमा खेल्न दिएर आफ्नो एकोहोरो गिटी कुटाइलाई जारी राख्छे । उसले आफ्नो अगाडि सुन्दर भविष्य देखेकी छे । उसलाई छोराको असीम माया लागेर आउँछ । छोराको अनुहार हेर्दै अतीतको घटना स्मरण गर्छे । सन्तवीरले पनि छोरालाई अत्यन्तै माया गरेकोमा उसलाई रमाइलो नै हुन्छ । छोराको अनुहार श्यामेसँग दुरुस्तै मिल्न गएकोमा उसलाई भित्र भित्रै कताकति एकप्रकारको नजानिँदो डर पनि लागेर आउँछ ।

मनभरी यस्तै तर्कनाहरु खेलाएर बसिरहेकी राममायाको अगाडि एकजना अपरिचित युवक आएर उभिन्छ, राममाया झसङ्ग हुन्छे । छोरालाई पुलुक्क हेर्छे, छोरो भूइँमा माटो थुपारेर खेलिरहेको हुन्छ । राममायाले आफ्नो लुङ्गीमा थुप्रिएको गिटीको धूलो टक्टकाएर युवकको मुखमा पुलुक्क हेर्छे । युवकले सोध्छ तपाइँ सन्तवीरको श्रीमती हो ?

राममायाले उत्तर दिन्छे — “हो । केही काम थियो कि ?”

युवकले अनकनाउँदै भन्छ .......“तपार्इँ छोरालाई लिएर अस्पताल जानुपर्यो ।”

राममाया झस्कँदैै — “अस्पताल ? किन ?”

युवक — “सन्तवीर ".................” वाक्य पूरा गर्न नपाउँदै राममाया जुरुक्क उठेर युवकको नजिकै जान्छे आत्तिँदै सोध्छे “के भो सन्तुलाई ?उनी कसरी अस्पताल पुगे ?”

युवकले भन्छ “आज बिहानै एकजना लाहुरेको भारी उतार्न बसको छतमा जाँदा छतबाटै लडेर ........”

“नाई ......!.मेरो सन्तु ...........!” राममायाले पूरै टोल थर्कने गरी चिच्याउँछे छोरालाई हतपत काखमा च्यापेर युवकको पछिपछि लागेर अस्पताल पुग्छे ।

अस्पतालको बेडमा सन्तवीर अचेत अवस्थामा लडिरहेको छ उसको टाउकोमा गम्भीर चोट लागेकोले छिट्टै होस खुल्ने सम्भावाना डाक्टरले देखेका छैनन् । होस आए तापनि उसका पूर्वस्मृतिहरु गुम्ने शंका उनीहरुमा रहेको छ । राममाया आफ्नो एकमात्र सहारा सन्तवीरको हालत देखेर अर्धमुर्छित भएकी छ । सन्तवीरको छेउमै बसेर उसले पतिको होस खुल्ने अधीर प्रतिक्षा गरिरहेकी छ । पाँचौँ दिनसम्म पनि सन्तवीरको होस नखुलेको देखी डाक्टरले उसलाई विदेश लानुपर्ने र त्यसका लागि २ लाख रुपयाँको जोहो तुरुन्तै गर्नुपर्ने सल्लाह राममायालाई सुनाउँछन् । राममाया एकैचोटी आकाशबाट खसे झैं हुन्छे । जाबो गिटी कुटेर र कुल्ली काम गरेर जीवनको रथलाई जेनतेन गुडाइरहेका उनीहरुको लागि २ लाख रुपैयाँ भनेको आकाशको फल आँखा तरी मर भनेजस्तै हन्छ । तैपनि १—२ दिन राममायाले असफल प्रयास गर्छे । विभिन्न साहुकहाँ गएर पुकारा गर्छे । खुट्टामै आँशुका अनमोल मोती चढाएर २ लाख रुपैयाँ सापटी माग्छे । आखिर गरीबलाई धनले भन्दा पनि मृत्युले छिटै अँगालेर भर्न सक्दोरहेछ । छतबाट खसेको आठौं दिनमा अचेत अवस्थामै सन्तवीरले यस संसारलाई छाडेर बिदा हुन्छ । राममाया अस्पतालको कोठै थर्किने गरी रुन्छे । सन्तवीरको लासमा छाँद हालेर आँसुका ताता मूलहरुले सन्तवीरलाई भिजाउँछे । छोरो हर्कमान पनि आमा रोएको देखी डाँको छोडी छोडी रुन थाल्छ । अस्पताल एकैछिन राममाया र हर्कमानको चित्कारले मसानघाट तुल्य हुनपुग्छ ।

आखिर नियतिको अगाडि कसैको केही लाग्दो रहेनछ । मरेकाहरुलाई सम्झेरै भएपनि बाँच्नेहरु बाँच्नै पर्दाेरहेछ । आफ्नो हृदयको टुक्रा हर्कमानलाई जीवनको अन्तिम सहारा सम्झेकी राममायाले फेरी गिटी कुट्ने पेशा गर्दै छोरालाई हुर्काउने र पढाउने गर्न थाल्छे । छोरा स्कूल जान्छ । आमाले दिनभरि गिटी कुट्दा ठेला उठेका हातले स्कूलबाट आएपछि छोराको गाला मुसार्दै म्वाई खान्छे । जे छ त्यही खाजा खुवाउँछे । यसरी नै बितेका हुन्छन् । राममायाका वैधव्य दिनहरु ।

राममाया भर्खरै ३० वर्षमा पाइला टेकेकी हुन्छे । कर्मले वैधव्य जीवन बिताउनु परेपनि उसको यौवन भने फक्रँदो लालीगुराँस जस्तै थियो । एउटा मात्र सन्तान जन्माएकीले उसको पुष्टशरीरमा कुनै खुकुलोपन देखिएको थिएन । फाटेको चोलोभित्रबाट उसका यौवनका चरीहरु बाहिर निस्कने प्रयास गरे झैं लाग्दथ्यो । गालामा देखिने लालीमाले उसको रुपका पारखीहरुलाई झनै लोभ्याउँथे । गिटी कुट्दा कुट्दा उसका हातमा ठेला उठे तापनि मुहारको रङ्गमा भने कुनै असर परेको थिएन, झन खुल्दै गएकी थिई बादल फाटेको आकाश जस्तै ।

शहर, वास्तवमा गरीबको लागि कहिल्यै उपयुक्त स्थान हुन सक्दैन शायद । दिनरात रोमान्समा झुल्न चाहन्छ शहर । गरीब र असहायको खेदो खनेर भएपनि रमझम भित्र्याउनुपर्छ शहरियाहरुलाई । एक्ली राममायालाई देखेर शहरका १—२ गुण्डाहरु प्नि ब्वाँसाले जस्तै घुटुक्क थुक निल्न पछि पर्दैनथे । राममायाले गिटी कुटेको ठाउँबाट बिनाकाम पनि जिब्रो पड्काउँदै ओहोर दोहोर गर्नु गुण्डाहरुको दिनचर्या नै भैसकेको थियो । राममायाको अगाडि छिल्लिने,इत्रिने काम पनि उनीहरुलाई सामान्य भैसकेको थियो । राममाया आजभोलि आफूलाई एकदमै असुरक्षित महसुस गर्न थालेकी थिई । एक मनले उसले बेस्सरी झापड हानेर पठाउइदिउँ ती मोराहरुलाई झैं लागेको थियो । भोलि आइपर्ने भयङ्कर स्थितिको अनुमान गरेर त्यसो गर्न भने उसले सक्तिनथी । माइत जाने र निमेक गरी खाने सोच पनि उसमा पलाउन थाल्छ । त्यो पनि उसको मनबाट एकैछिनमा हराउँछ । उसले सोच्छे प्रेम विवाह गरेर हिँडेकी छोरीलाई कुन माइतीले टिठाउलान् र ? दिनहरु बित्दै जान्छन् । राममायाको छोरो पनि अब त ११ वर्ष पुगेर १२ वर्ष लागेको हुन्छ । जसरी तसरी राममायाले छोरालाई स्कूल पठाइरहेकी हुन्छे । पढाइमा पनि हर्कमान ज्यादै तेजिलो देखिन्छ । कक्षामा दोस्रो ते्रसो स्थानभन्दा पछि परेको छैन । राममायाले छोरालाई पढाएर ठूलो मान्छे बनाउने सपना मुटुभरि साँचेकी हुन्छे तर उसलाई ती शहरका गुण्डादेखि कसरी बाँच्ने भन्ने पिरलोले पनि दिनदिनै पिरो लिरहन्छ । एक साँझ फेरी राममायाको जीवनमा भयङ्कर दुर्दशाले छाउँछ । त्यही दिनको निष्ठूरी दैवको अकल्पनीय प्रहारले राममायाको मुटुभरिको सपनामा बज्रपात हुन्छ ।

सधैं झैँ राममायाले साँझको खाना खाएर भाँडाहरुपनि माझ्न हतार मानेर बाटामा हालेर छोरालाई काखमा च्यापेर बिस्तारामा पल्टेकी हुन्छे । दिनभरीको थकाइले उसलाई भmमक्क निद्रा देवीको काखमा पुर्याइदिन्छ । छोरो हर्कमान पनि आमाकै काखमा निदाउँछ । अचानक राती ११ बजेतिर सधैं सधंै झैं रामामायाको पछि लाउने ३ जना गुण्डाहरु राममायाको कोठामा पस्छन् । राममाया अचानक झसङ्ग बिउँझन्छे । आफू अगाडि डर लाग्दा तीनजना गुण्डाहरुलाई देखेर बेस्सरी चिच्याउँछे । तर गुण्डाहरुले ढोका बन्द गरिसकेकाले राममायाको आवाज ढोकाभित्रै सीमित रहन्छ । आमाको चिच्याइले छोरो हर्कमान पनि उठेर रुन थाल्छ । एउटा गुण्डाले हातमा लामो छुरी लिएर हर्कमानलाई चूप लाग्न धम्क्याउँछ । अरु २ जना भने राममायाको शरीरमाथि खनिन्छन् । राममाया र ती दुई जना भुस्तिघ्रहरुको बीचमा धेरै बेर सम्म घम्साघम्सी हुन्छ तर नारी न हो पुरुषको कठोर हृदयको सामु उसले झुक्नै पर्दाेरहेछ । आमालाई बलात्कार गर्न लागेको देखेपछि छोरा हर्कमान पनि सहन नसकेर छुरीको प्रवाह नै नगरी ढोकामा लगाउने आग्लो निकालेर हान्न लाग्दा गुण्डाको हातको लामो छुरी उसको छातिमा रोपिन पुग्छ । एकैचोटी आमा पुकार्दै ऊ रगताम्ये भएर भूईँमा पछारिन्छ ।

धेरै बेर अचेत अवस्थामा रहेकी राममाया यसो आँखा उघारेर हेर्दा आफ्नो पूरा नाङ्गो शरीरमा जताततै निला डामहरु देख्छे । रगतको आहालमा डुबेको हर्कमान यस संसारबाट बिदा लिइसकेको हुन्छ । छोराको र आफ्नो त्यो हाल देखेकी राममाया आज पागल बनेकी छ । मातृवात्सल्यको सामु ऊ आफूसँगै हारेकी छ । त्यही छोराको आशामा सम्पूर्ण सपना सँगालेकी राममायाको अँध्यारो जीवन झन् झन् अँध्यारोतिर भासिँदै छ ।

त्यही बूढी राममाया बौलाही आज पनि सडकको छेउमा बसेर कपडाको पोकोलाई छोरो भन्दै काखमा च्याप्दै रुँदै गरेकी छ । उसको वरिपरि तमासेहरु ताली बजाउँदै र ढुङ्गाले हान्दै राममायालाई सताइरहन्छन् । ऊ भने नियतिको मार सहँदैछ, काख सुम्सुम्याउँदै छ, छोरो बिना रित्तो काख !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।