18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'स्रष्टा र डिजिटल वार्ता' कृति नयाँ प्रविधिमार्फत

कृति/समीक्षा रमण घिमिरे March 29, 2010, 10:02 pm

नेपाली साहित्यलाई नयाँ प्रविधिमार्फत विश्वव्यापीकरण गर्ने उद्देश्यले स्रष्टा कृष्ण बजगाईंले एउटा कृतिको सम्पादन गरेका छन्, स्रष्टा र डिजिटल वार्ता । इमेलका माध्यमले संकलन गरएिका अन्तर्वार्ताहरूको यो संग्रह आफैँमा नौलो प्रयोग त हो नै, डिजिटल प्रविधिमा ढालिएकाले यसको व्यापकता अन्य कृतिहरूभन्दा अधिक हुनेछ । यसमा बजगाईंले कमलमणि दीक्षित, जगदीश घिमिरे, ज्ञानू पाण्डे, नगेन्द्रराज शर्मा, मधुवन पौडेल,हरि अधिकारी, होम सुवेदीलगायत २३ स्रष्टालाई समेटेका छन्।

सामान्य पढाइमा पुस्तक रोचक छ तर गहिरिएर पढ्दा कतैकतै खट्किन्छ। जसलाई सम्पादक स्वयम्ले पनि स्वीकारेका छन्। यसको कारण पनि त्यही डिजिटल प्रविधि नै हो। इमेलमा पठाएका प्रश्नको मात्र स्रष्टाहरूले उत्तर दिएका छन्। यसमा पूरक प्रश्नको अभाव छ, त्यसैले कतिपय ठाउँमा सवाल-जवाफ एकोहोरो र अप्रासांगिक पनि भएको छ ।

तर, विदेशमा बसेर पनि लामो समयदेखि नेपाली साहित्यमा योगदान पुर्‍याई आएका चार मौलिक र नौ सम्पादित पुस्तकहरूका स्रष्टासमेत भइसकेका बजगाईंको यो कृतिले प्रविधिमा रमाउने सिर्जनशील पुस्तालाई हौसला प्रदान गर्नेछ ।

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा प्रकाशित यस पुस्तकमा धेरै स्रष्टाहरू समेटिन सकेका छैनन्। स्वाभाविक छ, यसको कारण हो प्रविधि अज्ञानता। सम्पादक भन्छन्, "आजको जमानामा सर्जकहरूले इन्टरनेट प्रयोग गर्न जान्नुपर्छ। जसलाई यो प्रविधि सञ्चालन गर्न आउँदैन साइबर अशिक्षित मानिने छन्।" त्यसैले यसमा विशिष्ट श्रेणीका महत्त्वपूर्ण कलमजीवीहरू छुटेका छन्। यसमा सम्पादकलाई जति दुःख लागेको छ, प्रविधिप्रति उदासीन हुने स्रष्टाप्रति पनि त्यत्तिकै दया लाग्छ । तर, यस पुस्तकका माध्यमले बजगाईंले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय रूपमा शीघ्रातिशीघ्र स्थापित गर्ने जुन प्रयत्न गरेका छन्, त्यो आफैँमा स्तुत्य छ । कुरा खालि यति मात्र हो, उनले आगामी दिनहरूमा सम्पादन गर्ने यस शैलीका कृतिहरूमा इमेलमार्फत नै भए पनि पूरक प्रश्न गर्ने र सामग्री संकलनलाई अझ खँदिलो बनाउन पत्राचारहरू गररिहनुपर्छ। यो कुरा असम्भव छैन, किनभने चिट्ठी-पत्रका जमानामा त यस्ता कुराहरू सम्भव थिए भने अहिले त किलिक् गर्नासाथ मिलिक्क प्रापकका अगाडि पुग्ने यस प्रविधिमा इमेलमार्फत यो सुधार हुन सक्तैन भन्ने प्रसंगै आउँदैन। यति हुँदाहुँदै पनिस्रष्टा र डिजिटल वार्ता स्रष्टालाई बुझ्न राम्रो माध्यम हुने कुरामा भने कुनै आशंका छैन।

नेपाल साप्ताहिक, २१ मार्च २०१०

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।