14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

चिनको गाउँमा पुग्दा

नियात्रा कृष्ण प्रसाईं March 30, 2010, 7:19 am

२०६२ सालको साउन १ गते शनिबार सेन्जेन सहरबाट गोन्जाउ हुँदै ओन्जाउ सहर जान भनेर दोभासे केटी सुसाना र म ट्रेनमा चढ्यौँ । हाम्रो २८ घण्टाको रेलयात्रा गोन्जाउबाट एक्सप्रेस रेल चढेपछि बेलुका सात बजे सुरु भयो ।

साउन २ गते बिहानसम्ममा मैले धेरै स–साना सहरहरु छिचोलिसकेको थिएँ । ती राम्ररी देख्नै नपाई छिट्छिटो बत्तीमात्रको रातबाट ओझेल भए तर पछि मैले हेरिरहेका दृश्यहरू भने चिनियाँ खेतहरू थिए, मझौला घरहरू थिए अनि बर्खे धान काटिरहेका चिनियाँ किसान र धान झार्ने ससाना मेसिनहरू थिए ।

चीनमा नेपालमा झैँ धान काटिसकेपछि झारेर बोरामा हालेर घरमा भित्याइएको देखियो । बर्खे धानसँगै रोपाइँ पनि प्रशस्तै चलेको देखिन्थ्यो । महिलाभन्दा बढी पुरुषले हातमा बीउ लिएर रोप्दै गरेका दृश्य पनि प्रशस्तै थिए ।

अचम्म त के थियो भने गाउँतिर अझै पनि एक्लो गोरु, गाई र राँगाबाट फलामको हलोले खेत जोतिँदोरहेछ चीनमा । लामो यात्राभरि धेरै कम ठाउँमा मात्र ट्र्याक्टरले जोतेको देखिन्थ्यो । जवान पुरुष वा जवान महिला कमै मात्र देखिने कृषिकार्य गाउँका लागि निकै आकर्ष क थियो ।

चीनमा पनि नेपालमा जस्तै गाउँगाउँबाट खाइलाग्दा पुरुष र महिलाहरू सहर पस्ने र उतै हराउने चलन रहेछ । किनभने अधिकांश चिनियाँ सहरमा जाने मान्छेहरू गाउँबाट नै भित्रिएका छन् । त्यसैले कति विकसित सहरहरूमा अझ पनि गाउँबाट सहर पस्न प्रतिबन्धजस्तै छ चीनमा । ठूला सहर पस्ने क्रममा एउटै देशका नागरिक भए पनि प्रतिबन्ध खेप्नुपर्छ । एउटै देशको नागरिकले यस्ता सहरका नाकाहरूमा चल्ने बसहरूमा सधैँ यस्तै कुराको खानतलासी हुन्छ । यो यथार्थ मैले धेरै वर्ष अघिदेखि ग्वान्जाउ–सेन्जेनको यात्रामा देखेको छु ।

दृश्यहरू देख्दादेख्दै अचम्मको दृश्य देखेँ मैले । रेल कुदिरहेको ठाउँबाट केही पर देखिएको त्यस दृश्यमा भर्खरै ब्याएकोे एक्लो दुहुनो गाईलाई उसको मालिकले जोतिरहँदा छेउमै रहेको उसको बाछो उफ्रिरहेको थियो । अनौ समातेको र एक्लै हलो तानिररहेको यो दृश्य नरमाइलो भए पनि सत्य थियो । यस्तो नेपालमा देखिँदैन वा कल्पनासमेत गरिँदैन । मैले देखेको त्यस दृश्यमा हलो जोत्न रोकिनेबित्तिकै बाछो बुरुक्क उफ्रिएर आफ्नी आमाको दूध खान गइहाल्थ्यो । त्यसबखत हलो जोतिरहेको किसानले पनि एकक्षण जोत्नबाट रोकिनुपथ्र्यो । यसैबेला बाछाले दूध खाएको देखिन्थ्यो ।

चीनमा लामो वा छोटो दूरीका बस या रेलहरूमा यात्रुका लागि सारै राम्रो र आरामदायी व्यवस्था छ । भाडा असुलेअनुसारको सुविधा पनि तिनीहरूमा पाइन्छ । रेलमा त यात्रा गर्न झन् मजा हुन्छ । वातानुकूलित सुविधा, सरसफाइ, खानेकुरा र तातो पानी चिनियाँ रेलको विशेषता नै हो । पहिला पनि लामो दूरीको यात्रा गर्दा मलाई राम्रो लागेको कुरा के थियो भने लामा दूरीका चिनियाँ रेलमार्गमा बाटो काट्ने यात्रु र सवारीहरूका लागि भूमिगत मार्ग प्रशस्तै देखिन्छन् जसले गर्दा भारतलगायत अन्य अविकशित एसियाली देशमा देखिने ढाट लगाएर रेल गइन्जेल बाटो कुर्नुपर्ने समस्याबाट चीन धेरै हद सम्म मुक्त छ ।

२०६२ साल साउनका ३, ४ र ५ गते ओन्जाउ सहर सामुद्रिक आँधीबाट ग्रस्त रह्यो । हुन त पोहोर साल यही समय जापानको साइतामा प्रान्तभित्र म यस्तै टाइफुनबाट परिचित भइसकेको थिएँ । तर यहाँको सामुद्रिक आँधी भने सारै मापाको भएर निस्कियो । मान्छे नै उडाउने खालको हावा र मुसलधारे पानीले सहरलाई सारै नराम्ररी हिर्कायो । धेरै रूख ढलेर सहरका थुप्रै ठाउँ जलमग्न भए । यस्ता ठूला आँधी र वर्षा यसअघि मैले कहिलै देखेको थिइनँ । समुद्रतटमा बस्नेका लागि यो सामान्य हुनसक्छ तर समुद्र कहिल्यै नदेखिने र समुद्रको अनुभव पनि नभएको देशबाट आएको मेरो लागि यो भयावह थियो, डरलाग्दो थियो र खपीनसक्नुको थियो ।

सुसाना मेरी दोभाषे मित्र । चीनमा घुम्ने, व्यापार गर्ने जोसुकैलाई दोभाषेको जरुरत पर्छ । नत्र पर्नसम्म फसादमा परिन्छ । यो अनुभव दुईपटकसम्म चीनको यात्रामा मेरी श्रीमती र मलाई परिसकेको छ ।

हामीले चार वर्षअघि गोन्जाउका दर्शनीय क्षेत्रमा पर्यटकीय यात्रा गर्दा होस् वा बेइजिङको ग्रेटवालमा छलाङ मार्दा होस् ठूलै भाषागत सास्ती खेपेर सङ्घाईका पर्ल टावरबाट सारा सङ्घाईलाई हे¥यौँ । यो मनमा राखिरहने कुरा थियो । त्यो सास्ती, त्यो दशा र त्यो कटु भाषागत बेमेलको भोगाइ पर्यटकीय क्षेत्रहरूमा पर्यटकीय यात्रा भर्दा सधँैभरि रहेको थियो ।

सुसाना ताओजियाङ माओत्सेतुङको गाउँकै बासिन्दा र सेन्जेनमा व्यापारिक दोभाषेको काम गर्ने केटी । उसको भनाइमा उसले सत्र वर्षमा पहिलो केटो साथी रोजेकी थिई । हाई स्कुल पढ्दाको केटो साथीसँग सेन्जेन आएपछि कति कुरा मिलेन र अर्को केटो साथी रोजेर हाल ऊसँगै पाँच वर्षअघिदेखि बस्दै आएकी छे रे । उसको भनाइमा उसको साथी असल छ, चुरोट–रक्सी पिउँदैन । सहयोगी पनि छ र चाँडै उनीहरू विवाहबन्धनमा बाँधिँदै छन् । उसको केटो साथीले सेन्जेन रेल स्टेसनमा मसँग उसलाई एक हप्ताको लागि सहयोगी भएर काम गर्ने अनुमति दिएको छ । मैले यसलाई सांस्कृतिक भिन्नता सम्झेको छु । नेपाल वा भारतमा भएको भए अन्यथा सोचिन्थ्यो, धेरै कुरा काटिन्थ्यो र परपुरुषसँग एक हप्ता बाहिर समय बिताउन प्रेमीबाट बिदा पाउने कुरा असम्भवप्रायः हुन्थ्यो । हुनसक्छ सम्बन्ध नै टुक्रिन्थ्यो । तर देश–परिवेश फरक छ चीनको । विपरीतलिङ्गी साथी बनाइसकेपछि भरसक एकैजनासँग इमान्दारीको सम्बन्ध सम्झिने गरिदो हो चीनमा । जापान, कोरिया वा हङकङमा पनि यस्तै हुनेगर्दछ । मन नमिलेपछि अर्को साथी रोज्ने वा छुट्टिएर बस्ने कुरा सर्वत्र छ पूर्वी एसियाली मुलुकहरूमा ।

ओन्जाउमा हामी तीन दिन बस्यौँ । ग्यास लाइटर र चस्माका लागि प्रसिद्ध सहर रहेछ ओन्जाउ । तीन दिन बस्दा पनि सुसाना ओल्टेकोल्टे हराउँदा मैले भाषागत निकै अप्ठ्यारो खेप्नुप¥यो । चिनियाँ भाषामा आगन्तुक शब्द प्रायः भेटिँदैनन् भने पनि हुन्छ । प्रविधि र विज्ञानले जन्माएका सबै अङ्गे्रजी शब्दलाई पनि उनीहरूले आफ्नै भाषिक ढाँचामा ढालेका छन् । त्यसैले मैले कम्प्युटर, इन्टरनेट र साइबर शब्द धेरैलाई सुनाउँदासमेत मैले साइबर भएको ठाउँ भेट्टाउन सकेको थिइनँ ।

ओन्जाउमा मेरो व्यावसायिक प्रयोजनका बेला केन्डी भन्ने अङ्ग्रेजी बोल्ने केटीसँग उसकै काम गर्ने कम्पनीमा भेट भयो । चस्मा बनाउने कम्पनीमा अङ्ग्रेजी दोभाषेको काम गर्ने ऊ धेरै संवेदनशील थिई । चौध सय कामदार भएको चस्मा कम्पनीमा काम गर्ने ऊ अलि धार्मिक र दार्शनिक स्वभावकी थिई । मलाई धेरै दिनदेखि मनमा खड्किएको कुरा जानेजस्तै गरी उसले भनेपछि म ऊसँग प्रभावित भएको थिएँ । खाना खाने क्रममै उसले मसँग भनेकी थिई– ‘चीनका विकसित सहरहरूका रेस्टुरेन्ट र होटलमा फ्यालेको एक दिनको खानामात्र जम्मा गर्ने हो भने पनि धेरै दुर्गम र गरिब चिनियाँ गाउँलाई महिनौँ दिनसम्म खान पुग्छ ।’

उसको बोली म आफैँले बोलेजस्तो लाग्यो मलाई । किनभने यो दृश्य, यो समस्या र यो चिनियाँ सहरिया यथार्थलाई मैले सन् २००१ देखि नै हेर्दै, महसुस गर्दै र मनमा गुम्स्याउँदै राखेर आएको र चीन–भ्रमणमा खड्किएको विषय थियो । केन्डीले झैँ सेन्जेनकी लियोनाले पनि यस्तै दुखेसो पोखेकी थिई तर लियोनाभन्दा केन्डीले मुखै खोलेर प्रस्तुत भई । मानौँ ऊ आफ्ना देशका गरिब नागरिकको पनि मानवीय न्यायको वकालतमा छे ।

चीनमा दोभाषे काम गर्ने सबै मान्छेको वास्तविक चिनियाँ नाम नभएर विदेशीहरूसँग व्यावहार गर्दा बोलाइने नाम अङ्ग्रेजी शब्दबाट हुने गर्छ । आफ्नो वास्तविक नाम विदेशीहरूलाई बुझ्न र उच्चारण गर्न अप्ठ्यारो नहोस् भनेर नै सजिलाका लागि यसो गरिएको हुन्छ । यो प्रचलन जापान, कोरिया, ताइवान, हङ्कङ र मकाउमा समेत छ ।

इयूबाट सङ्घाईतिर म चार बजेर तीन मिनेटको दुईतले रेलमा चढेको थिएँ । इयू काट्नेबित्तिकै भर्खर रोपाइँ सकिएर हरियो फिर्दै गरेको धानका खेत प्रशस्तै देखिए । सूर्य अस्ताउन लागेको पश्चिमतिर र पूर्वतिर चुरे पहाडझँै देखिने हरिया पहाड प्रशस्तै थिए । उत्तरतिर पनि पहाड थिए । यिनै पहाडको बीचबाट हाम्रो रेल कुदिरहेको थियो ।

पहिलोपटक थियो दुईतले रेलको मेरो यात्रा । दुईतले बसमा भने यसअघि सन १९८४ को बम्बइ यात्रामै म चढिसकेको थिएँ । एकतलेभन्दा झन्डै २६ आरएमबी (चिनियाँ मुद्रा) ज्यादा थियो यस टिकटको मूल्य । धानका हरिया खेतसँगसँगै जुनेलो पनि प्रशस्तै फलिरहेका थिए । वर्षायाममा गर्मी भए पनि बाटामा हिमाली भेकमा पाइने धुपी र सल्लाका बोटहरू थुपै्र देखिन्थे । सम्भवतः हिउँदमा निकै जाडो हुँदो हो यहाँ । नत्र हिउँदे वनस्पति कसरी पाइन्थे र ? इयूबाट उत्तरतिर हिँडेको दुई घण्टा पच्चीस मिनेटपछि होन्जाउ भन्ने पहाडी सुन्दर र रमणीय ठाउँमा रेल थामियो । यो शहर सिल्क, सुन्दरी र सुन्दर ठाउँका लागि चीनभरि प्रसिद्ध रहेछ । सुसानाले त्यसै भनी मलाई ।

रेलमा बसेदेखि नै इन्द्र अधिकारीजीले सेन्जेन सहरबाट मेरो मोबाइलमा एसएमएस पठाउन सुरु गरिसक्नु भएको थियो । सङ्घाई सहरमा हामी बस्ने होटलको ठेगानाको बारेमा र उनी सेन्जेनबाट आउने राति दस बजेको हवाइजहाजबाट सङ्घाई सहरमा उत्रँदै छु भनेर । सङ्घाईमा इन्द्रजीले बन्दोबस्त गर्नुभएको होटल र होटलको कर्मचारीका बारे एसएमएसबाट मैले सबै जानकारी पाइसकेको थिएँ । नभन्दै सङ्घाई मुख्य रेल–स्टेसनमा रेल रोकिनेबित्तिकै हाम्रो डिब्बा छेउमै हामीलाई लिन गाडी लिएर एकजना चिनियाँ उपस्थित भइसकेको थियो । अङ्ग्रेजी बोल्न नजान्ने उसले सुसानासँग के कुरा ग¥यो मलाई थाहा भएन । स्टेसनबाहिर निकालेर उसले हामीलाई गाडीमा हालेर एकैपटक होटलमा पु¥यायो । यहाँ सन् २००१ देखि हङकङमै परिचय भएका मेरा साथी इन्द्र अधिकारीसँग रात बिताउँदै थिएँ म । सुसानालाई उहाँबाटै मैले सहयोगी दोभाषेको रूपमा एक हप्ताका लागि लगेको थिएँ ।

होटेलमा पुगेर नुहाइसकेपछि तल उत्रिएर रेस्टुराँमा चिनियाँ खाना खाएँ । दिनभरिको थकान भए पनि मैले सङ्घाई आन्तरिक विमानस्थलसम्म जानैपर्ने थियो इन्द्रजीलाई लिन । त्यसो त विमानस्थलमै लिन जाने व्यक्तिमा ममात्र कहाँ थिएँ र ? मसँगै आफ्नै गाडी लिएर बेट्रीले चल्ने साइकलको कारखाना भएको साहु नै थियो त्यहाँ । बेट्रीले चल्ने साइकललाई सोझो भाषामा इ–बाइक भनिन्छ सजिलोका लागि । चीनमा व्यापारिक हिसाबले ठूलो सौदा छ भने स्वयं मालिकहरू नै सेवाका लागि उपस्थित हुने गर्छन् ग्राहकको सेवामा । इन्द्रजी पनि नेपालमा चलाउन सकिने इ–बाइकका लागि सौदा गर्न सङ्घाई आउँदै हुनुहुन्थ्यो । मैले नै उहालाई यसका लागि उकासेको थिएँ । नेपालमा गर्न सकिने बेट्रीले चल्ने साइकलको उपयोगिता मैले पहिलेदेखि नै सोचेको थिएँ, जुन निम्नआय भएका नेपालीहरुका लागि सजिलो र सस्तो हुन्थ्यो । सङ्घाई सहर त युरोप र अमेरिकाका कुनै पनि विकसित सहरको दाँजोमा कम आँक्न सकिने खालको रहेनछ । प्रविधि र विकासले गम्लङ्ग अँगालो मारेको यस सहरले विकसित देशलाई नै मात ख्वाएको रहेछ । राती विमानस्थलसम्म आउँदाको एकघण्टे झिलिमिली र सबैतिर देखिएका कारखानैकारखाना यसका ज्वलन्त उदाहरण थिए ।

इन्द्रजीलाई लिफ्टबाट उत्रिँदै गरेको मैले टाढैबाट देखेँ । नजिक आइपुगेपछि हामी दुवैले एक–अर्कालाई अँगालो हालेर आत्मीयता साट्यौँ । हामी होटलमा पुग्दा रातको १२ बजिसकेको थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।