धेरै पछि भेट भयो उनी सित आज ।
झनै राम्री देखेँ मैले घुम्टो ओढी मान्दा लाज ।।
गुराँस बनि उनको मुहार ढकमक्क फूल्दा ,
रङ्गिन लाग्यो बातावरण उनी सित झुल्दा ,
पूर्णिमाको जून भेटेँ खुल्ला आकाश माझ ।
झनै राम्री देखेँ मैले घुम्टो ओढी मान्दा लाज ।।
मायाँ सित मायाँ साट्यौँ मन सित मन ,
मुटु सित मुटु सट्यौँ एउटै भयो तन ,
अझ गाढा बन्दै गयो मदहोशी साँझ ।
झनै राम्री देखेँ मैले घुम्टो ओढी मान्दा लाज ।।
धेरै पछि जिन्दगीमा स्वप्निल संसार देखेँ ,
उनको मायाँ मुटु भरि मन-मसीले लेखेँ ,
तमोर जस्तो उनको मन कन्चनजङ्घा ताज ।
झनै राम्री देखेँ मैले घुम्टो ओढी मान्दा लाज ।।
धेरै पछि भेट भयो उनी सित आज ।
झनै राम्री देखेँ मैले घुम्टो ओढी मान्दा लाज ।।