17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

श्रीमान् लाम्खुट्टेज्यूका हजुरमा अभिनन्दनपत्र

हास्यव्यङ्ग्य मुन पौडेल April 3, 2010, 10:01 pm

हुन त हजुरको शान, मान र अभिमानको बारेमा, हजुरको काम, हजुरको प्रिय रगतको जाम, गर्मीको याम र हजुरले पु¥याउने परमधामको बारेमा अभिनन्दन र प्रशस्ति हजार जिब्रा भएका शेषनागले त गर्न न सक्ला भने म हजुरको सानो स्थायी शिकारले के गर्न सकूँला तथापि जन्मने बित्तिकैदखि हजुरसँगको अनवरत सम्बन्ध र प्रतिनिधिका हजुरको टोकाई–ठुड्गाईले अभिप्रेरित भई यो अभिनन्दनपत्र प्रस्तुत गर्ने जमर्को गरेको छु र त्यसको पुरस्कार स्वरूप हजुरबाट मलाई टोकाईमुक्तक्षेत्र घोषित गर्नुहुने छ भन्ने आशा पनि गरेको छु । टनाटन खान नपाए पनि, लचलची गर्ने ओछ्यान नपाए पनि दिनभरिको कठोर परिश्रमपछि एक मुठी मकै र भटमास चपाएर गुन्द्रीमा डङ्ग्रङग पल्टँदा हजुरको डसाईबाट बच्न पाएको खण्डमा स्वर्गीय निन्द्राको आनन्द लिन पाइन्थ्यो भन्ने कल्पनाले म त्यसैत्यसै विभोर भइरहेको छु र त्यसैले यो चिल्लो र चास्नीमा डुबाएको प्रशस्ति तपतप चुहाउँदै प्रस्तुत गर्दैछु ।

हजुरलाई देख्यो भने घिनाउने र भेट्यो कि सिध्याउने यो नेपाल भूमिमा धेरै छन् तर म भने हजुरको सौन्दर्य, देहरूप र छरितोपनमा मोहित छु । साँच्चै भन्ने हो भने हजुरको रूपलाई पारखीहरूले नियालेर कहिल्यै हेरेकै छैनन् र फोटोग्राफर तथा पेन्टरहरूले हजुरका शरीरका काँटछाँटलाई उतारचढावलाई संसारको सामुन्ने प्रस्तुत नै गर्नै सकेका छैनन् । सम्पूर्ण फोटोग्राफर र आर्टिस्टहरू मात्र आइमाईको कम्मर, नितम्ब र छातीहरूको वरिपरि अलमलिरहेका छन् र बारुलाको कम्मरसँग तुलना गरिरहेका छन् तर जहिलेदेखि यिनीहरूले हजुरको देहका सही सौन्दर्यको रेखाचित्रको विश्लेषण र सूक्ष्म अवलोकन गर्न थाल्छन्, बारुले कम्मरलाई भुसुक्कै बिर्सेर लामखुट्टे कम्मरलाई वर्णन र वयान गर्न थाल्छन् । हजुरको रूपको मारक प्रभावको दुनियालाई अन्दाजै छैन । जुन दिन अन्दाज हुन्छ, कलाकारहरूका कुचीहरूले जताततै लाम्खुट्टे नै लाम्खुट्टेका चित्र, प्रतीक, पेन्टिङ मूर्तिहरू रच्न थाल्छन् । त्यतिबेला विज्ञापनहरूबाट होर्डिङ, बोर्डहरूबाट, अखवारी प्रचारहरूबाट षोडसी कुमारीहरू गायब हुन्छन् र तरुनी लामखुट्टेहरूले चुरोट, रक्सी, चाउचाउको प्रचार गरिरहेका हुन्छन् ।

हजुरका खुट्टाहरू अद्भूत छन् । मसिना, खिरिला, लाम्चिला र कमानीदार । तिनै खुट्टाले त हजुर चिनिबक्सिन्छ । शिकारको शरीरमाथि आक्रमणको लागि जब हजुर बसिबक्सिन्छ त्यतिबेला लाग्छ मानौँ कुनै हजार खुट्टाधारी राक्षस आफ्ना भयङ्कर खुट्टाहरूमाथि उभ्भिएर भयानक हमला गर्न तत्पर छ । त्यतिबेलाको हजुरको भावभङ्गीमा शिकार गर्न लागेको बाघभन्दा पनि त्रासपूर्ण हुन्छ । हजुरका पखेटाहरू झन् यति मसिना र रेशमी हुन्छन् कि तिनलाई हेर्न, छुन र महसुस गर्न हामीजस्ता मनुवालाई त हम्मेहम्मे पर्छ । मान्छेहरूलाई चर्न, कोपर्न र ज्यानसमेत हर्न हजुरलाई यिनै पँखेटाले औधि सहयोग गरिरहेका हुन्छन् । रछानबाट आउनुपरोस् या चर्पीबाट आउनुपरोस्, नालाबाट उत्पत्ति हुनुपरोस् या डम्पिङसाइटबाट जन्मिनुपरोस् मान्छेहरूको कोठा, चोटासम्म पुग्नलाई हजुरलाई यिनै मखमली पँखेटाहरूले सहयोग गरिरहेका हुन्छन् । हजुर जब यिनै पँखेटाहरूको सहयोगले गुनगुन गुनगुन गर्दै मान्छेहरूका कानमा भयङ्कर सङ्गीतको सृजना गर्दै शिकारको खोजीमा निस्किनुहुन्छ, बडेबडे बहादुरहरू लुक्नलाई मुसाका दूलाहरूको खोजी गर्न थाल्छन् ।

एक दिन त हजुरले मलाई नचाएर छोड्नुभएको छ । दिनभरिको थकाईपछि एक दिन आरामले सुत्नुप¥यो भनेर ओछ्यानमा पल्टेको त भुसुक्कै निदाइएछ । तर हजुरको कृपा नभई कुनै मनुवा आरामले निदाउन सक्छ यो संसारमा ! तुरुन्तै कता कता हो चिलाएर, कन्याएर त्यसैत्यसै उतर्सिएर पो बिउँझे म । आरामले सुतेको मान्छेलाई कान निमोठेर उठाउन सक्ने तागत हजुर बाहेक अरु कसलाई छ र । त्यसैले बत्ति बालेर खोज्न थालेँ हजुरलाई । तर हजुर पनि कम छट्टु होइबक्सिन्छ र ! झुलका कुन कुनामा लुकेको हो कुन कुनामा । मरीमरी खोज्छु त हजुर त कता अलप भएको हो कता ।

परेन आपत ! हजुरलाई छोड्दिउँ आफ्नो निन्द्रा बर्बाद । लागेँ खोज्न । हजुर त एउटा कुनामा पो लुकेर बसिबक्सेको रहेछ । विस्तार पड्याक्क पार्नुप¥यो भनेर दुईटै हत्केला पड्काएको त रातिहुँदो भयङ्ंकर आवाज मात्र निस्कियो तर हजुरको क्षतविक्षत लास कतै देखिएन हत्केलामा । श्रीमती मात्र तर्सिएर उठिन् । के थपडी बजाएको होला रातिहुँदो अर्काको निद्रा बिथोलेर, चुप लागेर सुतिबक्स्योस्– भनेर कोल्टो फर्केर सुतिन् । आफूलाई भने त्यत्रो जिउँदो राक्षस देख्दादेख्दै केको निन्द्रा लाग्थ्यो । खोज्न थालेँ आँखा खियाएर । हजुर त अर्कै कुनामा पो लुकिबक्स्या रहेछ । त्यसपछि शुरु भयो थपडीको खेल । म पछिपछि हजुर अघिअघि । पड्याक र पुडुकको आवाज सुनेर श्रीमती जङ्गिँदै उठिन् र दिनभरको यिनको बुहार्तनपछि यसो कम्मर सोझ्याउन त भन्यो भने काम न काजसँग सधैँ आधारातमा थपडी बजाएर सुत्न दिएको होइन भनेर फतफताउँदै अर्को कोठातिर हिँडिन् । म भने हजुरसँगको युद्धमा लागी नै रहेँ । र वीर गोर्खालीहरूको परम्परालाई हृदयंगम् गर्दै महान् फकल्यान्डको युद्धलाई प्रेरणाको आधार मानी हजुरलाई स्वस्ति गर्दै निन्द्रादेवीको काखमा जाँदो भएँ ।

एउटा कुरा भनूँ हजुरलाई ? मर्दको चाला चाहिँ भएन यो । मर्द हो भने आफैँ पो आउनुपर्छ भिड्न । मर्दजति चाहिँ लुकेर आइमाई जातिलाई जा जा त्यो मनुवालाई टोकेर आइज भनेर पठाउने ? त्यसमाथि अलिकता पनि आफ्नो इज्जतको विचार नगरी आइमाईलाई पठाउँदा आइमाईलाई नै पो टोक, म्वाइ खा, वा जे जे गर्नु पर्ने हो गर भन्नुपर्छ, लोग्नेमान्छेसँग पनि भिड्न पठाइदिने ? हजुरहरूको स्त्री जातिले यसरी मनुवा लोग्नेमान्छेसँग लसपस गर्दा अग्निपरीक्षा नै नगरी स्वीकार गर्दा हजुरको इज्जत गएको थाहा छ कि छैन ? आफूसँग तागत छैन भने चुप लागेर कुनाकाप्चामा, फोहरफाहरमा जे भेटिन्छ त्यही खाएर बस्नुपर्छ, लाजसर्म पचाएर स्वास्नीहरूलाई हामीसँग जुध्न पठाउने होइन । संसारलाई थाहा छ, पुरुष लाम्खुट्टेसँग मनुवाहरूलाई टोक्ने तागत छैन । जे फूर्ति हो आइमाई लाम्खुट्टेहरूकै भरमा हो । त्यस्ता आइमाईको पेटिकोट र फरियाको फेरो समातेर मनुवा जातिलाई धाक लगाउने, दुःख दिने चाल छोड्नुप¥यो अब हजुरहरूले साह्रै बेइज्जती भसक्यो । स्त्री जतिलाई त समान दिएर, मान दिएर, सिँगारेर घरकी रानी बनाएर राख्नुपर्छ, लखरलखर अर्काको घरमा लोग्नेस्वास्नी, छोराछोरी मजाले सुतिरहेको बेलामा डस्न पठाउनहुन्न । त्यस्तालाई त लखौरी भन्छन् थाहा छ कि छैन ? त्यसैले हे लाम्खुट्टेका समस्त जाति प्रजाति अलिकता पनि इज्जत प्रतिष्ठा भन्ने चिजलाई बुझिबक्सेको छ भने अबदेखि हजुरहरूको घरको इज्जत आइमाई लाम्खुट्टे भनूँ वा लाम्खुट्टी भनूँ तिनलाई कदापि पनि पर्दा बाहिर जान नदिउँ र मनुवाहरूको घर, कोठा, चोटा, बाथरूम कतै पनि टोक्न नपठाउँ । यसले हामी दुबैका रक्षा हुन्छ, हजुरको इज्जतको र हाम्रोचाहिँ प्राणको । यति बिन्ती लागोस् र लाम्खुट्टेज्यू महाराज, हुन्न ? ।

हजुरहरू सङ्गीतप्रवीण होइबक्सिन्छ, थाहा छ हामीलाई । सङ्गीत हजुरहरूको रगतमा मिसिएको छ भन्ने कुरा पनि हामीलाई थाहा छ । सङ्गीतको गुनगुन गुनगुनको ब्याकग्राउन्ड म्युजिकमा रगतको चुस्की लिन साह्रै मनपर्छ हजुरहरूलाई । तर त्यो हजुरहरूको आलौकिक सङ्गीत त्यतै कतैतिर रछानमा या फोहरफाहर थुप्रिएको ठाउँमा मञ्चसञ्च बनाएर उपियाँ, भुसुना, कीरा फट्याङ्ग्राहरूलाई सुनाए त भैगो । हाम्रो कानमै कानको दुलोलाई माइक्रोफोन भन्ठानेर तालुभित्रसम्म छिर्ने गरी चिच्याउनु त पर्दैन हो । हजुरको त्यो गुनगुन पनि हाम्रो टाउकोभित्र स्कड मिसाइल पड्केको जस्तो लाग्छ हामीलाई । कसो नबुझेको हजुर जस्तो सङ्गीतको उस्तादले ! हजुरहरूको अद्भूत सङ्गीतलाई त हाम्रा आदिकवि भानुभक्तले आफ्ना कवितामासम्म प्रयोग गरिदिनै सकेका छन् । अरू के चाहियो हजुरहरूलाई ? बरू ख्वामितलाई त्यस्तै लाग्छ भने हाम्रो एउटा विन्ती छ, बरू टोक्नुछ टोकिबक्स्योस्, जहाँजहाँ टोक्नुछ टोकिबक्स्योस् तर कानभित्र छिरेर गुनगुन गुनगुनको सङ्गीतचाहिँ न सुनाइबक्स्योस्, साह्रै सास्ती हुन्छ प्रभु साह्रै । हजुरको सङ्गीत शुरु भएपछि भाउन्न भएर आउँछ, कहाँ भागूँ, कहाँ लुक्न जाऊँ जस्तो भएर आउँछ । एक त नानाभाँतिका एफएम र टीभी च्यानलहरूमा दिनभरि नै के के जातिको कान फोड्ने पप भनाउँदो सङ्गीत हो कि के हो टाउको रिङाएर राखेको हुन्छ, त्यसमाथि राति पनि हजुरहरूको सङ्गीत सुन्नुप¥यो भने हामीहरू त ठहरै हुन्छौँ । त्यसैले हामीहरूमाथि जनि गरिबक्स्योस् र हजुरहरूको जबर्जस्तीको सङ्गीत सुन्ने कष्टबाट मुक्त गरिदिबक्स्योस् ।

हजुरहरूको शक्ति अपरम्पार छ । एउटा मात्र शक्ति छ र हजुरसँग ! सङ्गीतको शक्ति, उड्ने शक्ति, सुँघ्ने शक्ति र सबभन्दा ठूलो मार्ने शक्ति । हजुरको त्यस्तो सानो शरीरमा त्यो सुँघ्ने नाक कस्तो र कत्रो होला जसले सय मिटरभन्दा परबाट मानिसको पसिनाको गन्ध सुँघ्न सक्छ ! त्यही नाकले सुँघेको भरमा त हजुर आफ्नो शिकारतिर उड्नुहुन्छ र कोठा होस्, भान्सा होस् वा बाथरुम होस्, क्षण भरमै पुगेर शिकारमाथि जाई लागिहाल्नु हुन्छ । त्यसमािथ त्यो हजुरको हामीलाई घोच्ने सुँड कस्तो तीक्ष्ण र मसिनो ! कसरी छिर्छ त्यो हाम्रो शरीरमा ! हजुरको त्यो अद्भूत प्रविधि मेडिकल साइन्सका वैज्ञानिकहरूले किन सिक्न नसकेका ? त्यो प्रविधि सिके त हामीलाई इन्जेक्सन लाउँदा पटक्कै दुख्दैनथ्यो होला नि । हजुरले हामी निर्दोषलाई मार्नु साटो बरु अख्तियारमा गएर जागिर खाए त अख्तियारले एउटा विशेषज्ञ नै पाउँथ्यो । हजुरले आफ्नो सुँघ्ने शक्तिलाई प्रयोग गरेर यो देशका भ्रष्टाचारीहरूलाई समातिदिए त मुलुककै भलो हुन्थ्यो नि बरु । भ्रष्टाचारीहरूको पसिना र परिश्रमी, इमान्दारको पसिनालाई छुट्याउने शक्ति त होला नि हजुरसँग । तर त्यसमा पनि एउटा आपत नै छ, सबभन्दा पहिले अख्तियारका प्रमुख, अख्तियारका अरु हाकिमहरूलाई नै सुँघेर यी नै महाभ्रष्ट छन् भनेर ठोकुवा गरिदिनुभयो भने परेन आपत ! त्यसैले हजुरको सँुघ्ने शक्तिको सेवा अख्तियारले लेला भन्ने कुरामा शङ्का छ । चोरैचोर भएको यो देशमा चोर समात्ने जुक्ति कसैलाई चाहिँदेन किनकि नुहाउने टबमा सबका सब नाङ्गा छन् । त्यसैले हजुरको सुँघ्ने शक्तिको प्रयोग होला जस्तो लाग्दैन मलाई ।

हजुरको मार्ने शक्तिले भने यो देशको ठूलो भलो गरेको छ । मुलुक स्वतन्त्र भएको पचास वर्षभन्दा पनि बढी भइसकेको छ । विकासको नाममा गरिबी, अभाव बाहेक केही पनि छैन । यस्तोमा हजुरले गरिब नियन्त्रणमा सहयोग नगरिदिएको भए यो मुलुकमा जनसङ्ख्या विस्फोटन भएर अराजकताको स्थिति उत्पन्न भईसक्थ्यो होला । तर हजुर साह्रै कृपानिधान होइबक्सिन्छ, हामीमाथि हजुरको कृपा अनवरत रूपमा बर्सिरहेको छ । उहिले मुलुकको खोंच, कुना काप्चाका गरिब जनतामाथि हजुरका विशेष स्नेह रहने गर्दथ्यो । औलो भन्ने महामारी चलाएर जनसङ्ख्या घटाउने कार्यमा हजुर अनवरत रूपमा लागिबक्सेको हुन्थ्यो । हजुरको कुकृत्य देखेर जनता त्राहिमाम त्राहिमाम गर्न थालेपछि विदेशी मुलुकहरूलाई जनतामािथ दया लागेर आएछ क्यारे, हजुरहरूले हार मानिबक्सेन । हजुरहरूले हाम्रा देशका नेताहरूले अख्तियारलाई पाउको जस्तो डिडिटी भनाउँदोलाई पनि पचाइदिएर झन मोटाउन पो थालिबक्सेछ । त्यही डिडिटीको रिसले होला, एउटा नयाँ रोग कालाजार फैलाइदिएर हामीलाई आत्थुआत्थु पारिबक्सेको छ । औलोलाई थप जोसका साथ फैलाएर तथा कालाजार भन्ने ज्यानमारा महामारीलाई नेपालीहरूको घरगाउँमा छिराएर हामीलाई सिद्धयाउने व्यवस्था गरिवक्सेको छ हजुरले र यसलाई हाम्रो संहारकार्यलाई भयङ्कर पाराले जारी नै राखिबक्सेको छ । हामीहरूको थप रक्तपानले हजुरहरूको जनसङ्ख्या घट्नुको साटो झनझन बढ्दै मनुवा जातिलाई उचालेरै लग्ने अवस्थामा पुगिसकेको छ ।

आयातित वस्तु भनेपछि हामी नेपाली धुरुक्कै हुन्छौँ भन्ने कुरा हजुरलाई थाहा भएर होला, हजुरले हामीलाई कति रैथाने रोग औलो मलेरिया र कालाजार मात्र दिराख्ने भनेर आयातित रोग जापानिज इन्सेफलाइटिस् पनि उपहार स्वरूप दिबक्सेको छ । त्यसैको प्रतापले हामी नेपाली वर्षेनि हजारौँको सङ्ख्यामा स्वर्गलोक पुगेर त्रिमूर्तिसँग भेटेर मानवचोलाबाट मुक्त हुने गर्दछौँ । हजुरले हामी नेपालीलाई कति माया गरेको ! संसारका सबै विकसित देशहरूले हजुरहरूलाई घोक्रेठ्याक लगाएर देश निकाला गरेपछि हजुरहरूले हाम्रै देशलाई सबभन्दा बढी कङ्गाल, फोहरी भन्ठानेर हाम्रै देशलाई वासस्थान बनाउनुलाई हामीले धन्य मानेका छौँ । कमसेकम संसारमा लाम्खुट्टेको देश भनेर चिनिन त पाइएको छ । मर्नु बाँच्नु भनेको त मानवचोलाको विशेषता नै हो तर हजुरको शिकार भएर मर्न त भाग्यमानीले मात्र पाउँछन् र हामी संसारका तिनै एक मुट्ठी भाग्यमानीभित्र पर्छौं ।

हजुर हाम्रो महान् विशेषताहरूभित्र परिबक्सिन्छ । हाम्रा विशेषताहरू खासै धेरै छैनन् तथापि ती थोरै विशेषतामा पनि हजुरको स्थान सर्वोपरि छ, यो भयङ्कर ठूलो कुरा हो । भोक, रोग र गरिवी, यिनै तीन कुरा त हुन् नि हाम्रा विशेषता । रोगभित्र हजुरको मात्र वर्चस्व छ । हामी नेपाली कालगतिले कहिल्यै मर्दैनौँ, हामी मर्छौ भोकले, गरिवीले र त्यसबाट बच्न सफल भयौँ भने हजुरबाट बक्स हुने नानाभाँतिका रोगहरूले सिद्धिन्छौँ । रोगको महाकाल त हजुर आफैँ भइहालिबक्सिन्छ, भोक र गरिवीसँग पनि हजुरको अन्योन्याश्रित सम्बन्ध छ । जहाँ हजुरको वास हुन्छ, हालीमुहाली हुन्छ, तान्डवनृत्य हुन्छ, त्यहाँ भोक र गरिवी हुन्छ हुन्छ । त्यसैले जहाँ हजुरको उपस्थिति हुन्छ त्यहाँ क्रन्दन, रोदन, अभाव, फोहर र मृत्यु छरपस्ट भएर फैलिएर उडिरहेको हुन्छ आफ्नो भयङ्कर दाह्राहरू देखाएर ।

हजुरको पालन पोषणमा, खानपानमा, वास्थानको निर्धारणमा सबैभन्दा ठूलो सहयोग यो मुलुकका नगर पिता भनाउँदाहरूले गरिरहेका छन् । मुलुकका प्रायजसो सबै नगरपालिकाहरू हजुरहरूको सबभन्दा ठूलो ब्रिडिङ स्टेसन हो जहाँ हजुरहरूलाई जन्मिन, हुर्किन, खानपिन गर्न र शिकार गर्न सम्पूर्ण सुविधा उपलब्ध छ । कुनै कुनै नगरपालिका त कस्तो लाग्छ भने त्यो नगरपालिकाको मूल वासीचाहिँ हजुरहरू, मान्छेचाहिँ हजुरहरूको कृपाले बसेका परदेशी । नगरपालिकाहरूले हजुरहरूलाई बस्न विचरण गर्न भयङ्कर भयङ्कर नालाहरू बनाइदिएका छन् जसलाई उनीहरू कहिल्ये सफा गराउँदैनन् किनकि उनीहरूलाई थाहा छ कि सफा गराइदियो भने त हजुरहरू भागिहालिबक्सिन्छ र नगरपालिकाका पिताहरू हजुरहरूको विछोड सहन सक्दैनन् । प्रत्येक वर्ष यी नगरपालिका भनाउँदाहरू हजुरहरूलाई नास गर्ने सडक नाटकको भयङ्कर मञ्चन गर्छन्, श्रृङ्खलाबद्ध रूपमा गर्छन्, तर हजुरहरूलाई नास गर्न होइन, लाखौँ करोडौँ लुँड्याउन । हजुरहरूलाई मार्न यी नगरपालिका भनाउँदाहरूले औषधि र विषादि छरेको नौटङ्की मात्र गर्छन् तर हजुरहरूलाई कदापि मार्दैनन् किनकि हजुरहरू त सुनको अन्डा दिने कुखुरा हो एकै पटकमा हजुरहरूलाई सखाप पारिदियो भने त अर्को वर्षदेखि कुन निहुँमा लाखौँ करोडौँ स्वाहा पार्ने ! बरु हजुरहरूको कुल, जाति, समूल, दिन दिन फस्टाओस्, फैलियोस् भनेर हजुरहरूको आहारा फोहरफाहरलाई यिनीहरू थुप्राएर, कुहाएर कीरा फलाएर राखिराख्छन् तर कहिल्यै राम्ररी सफा गराउँदैनन् । त्यसैले त मान्छे मङ्गलग्रहमा पुग्न बेला भइसक्दा पनि नगरपिताहरू एउटा जाबो फोहर फाल्ने डम्पिङ साइटको समेत ठेगान लाउन सक्दैनन् र सधैँ किचोलो गरिरहन्छन् । नगरपिताहरू हजुरहरूका कर्मपिता हुन् किनकि तिनीहरूले गर्दा नै हजुरहरूको वंश समुन्नत हुँदैछ, जनसङ्ख्या झन्झन् बढ्दो छ ।

रामायण, महाभारत लगायतका पुस्तकहरूमा राक्षसहरूको भयङ्कर वर्णन भएको पाइन्छ । कलियुगमा त्यस राक्षस त देखिँदैनन् तर हाम्रो लागि हजुर कलियुगी राक्षसभन्दा कम होइबक्सिन्न । पहिले पहिले त हजुरहरू राति रातिमात्र विचरण गरिबक्सिन्थ्यो, मान्छेहरू आफ्नो जोहो विभिन्न किसिमले गर्थे झुल हाल्थे, आगो बाल्थे, शरीरमा तेलसेल दलेर सुत्थे । आजकाल त राति जुन टोकाई सहनुपर्छ त्यो त छँदैछ, दिउँसै पनि हमला गर्न थालेर आपत परेको छ हामीलाई । हजुर सर्वव्यापी भइबक्सेको छ आजकाल । झुलभित्र पनि छिर्ने, म्याटस्याटलाई पनि नटेर्ने भेट्यो कि बिताइहाल्ने । हुँदाहुँदा राति त लौलौ, दिउँसो पनि आइलागेको देख्दा हामी मनुवा साह्रै पीडित भएका छौँ । अफिसमा दिउँसै कताकताबाट हो छिरेर कुटुक्क टोकिदियो, अफिसबाट घर आएर बगैँचाको झोलुङ्गोमा बस्न पाएको छैन त्यसैत्यसै झुत्ती खेलेर हमला ग¥यो । साँझ टिभी हेर्नुप¥यो भनेर बस्नु, टोकेर न पुगेर कान नाकमा समेत छिरेर धुरुक्क पारिबक्सिन्छ हजुर । यसरी दुःख दिएर कसरी बाँच्ने हामी भनिबक्स्योस् त हजुर । हामी नेपाली त्यसैत्यसै हजार समस्याले पीडित छौँ त्यसमािथ हजुरको प्रताडना । जो होचो उसको मुखमा घोचो भनेको जस्तो हजुर पनि हामी गरिब–गरिब छानेर आक्रमण गरिबक्सिन्छ । तागत छ भने जानु नि विकसित मुलुकमा । जानु अमेरिका । हजुरलाई त चिट्ठा पनि पर्नुपर्दैन, भिसा पनि चाहिँदैन, परिश्रम गरेर थकित भएर सुतेकोलाई, भोको पेट थिचेर सुतेकोलाई श्रमिकलाई किसानलाई, इमान्दारीको रोटी खानेलाई, मजस्तो कलम घोट्नेलाई के टोक्न दगुरेको ? खान नपाएर जीउमा रगत त हुँदैन के चुसुँला भनेर हामी जस्तालाई पनि बाँकी नराखेको ? रगत नै चुस्नु छ भने भ्रष्ट नेताहरूलाई डस्नु नि, रगत नै चुस्नु छ भने बेइमान चोर कर्मचारीलाई टोक्नु नि, रगतकै स्कच पिउनु छ भने दुई नम्बरी उद्योगपति र व्यापारीलाई चिल्नु नि, रगत नै सुर्किनु छ भने बेइमान शासकहरूलाई डस्नु नि । यो देशका सोझासाझा, निरीह र तन्नम जनतालाई के पिरोलेको ? यो देशका जनता त त्यसै पनि भ्रष्ट राजनीतिज्ञ, बेइमान कर्मचारीतन्त्र, फटाहा र दुइजिब्रे बुद्धिजीवी र स्वार्थी शासकहरूसँग त्रसित छन्, त्यसमाथि हजुरले पनि यिनैमाथि मृत्युको सुँड गाडिदिन थाल्यो भने ठहरै हुँदैनन् यी ? नेपाली जनता त्यसै पनि मरिनै रहेका छन् त्यसमाथि हजुरले पनि रोग र भोकको हमाल गरिदिँदा नेपाली त जाति नै सिद्धिहाल्छौ लामखुट्टेजी महाराज ! हजुरले हामीलाई डस्नै पर्दैन, औलो–मलेरिया फैलाउनु नै पर्दैन, आयातित जापानिज इनसेफलाइटिस्ले हिर्काउनु नै पर्दैन । यति विन्ती छ कि हजुरले हामी नेपालीलाई अभयदान दिए दिनभरिको परिश्रम, पसिना, चिन्तापश्चात् हामी कमसेकम रात्रीको बेलामा आरामले सुत्न पाउँथ्यौँ । हजुरको महिमागानको पारिश्रमिक नै भए पनि, अभिनन्दनको पुरस्कार नै भए पनि यतिचाहिँ बक्सिनु नै प¥यो विन्ती छ ।

जनकपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।