19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्व गुरुङ April 5, 2010, 12:09 am

पिउँदा-पिउँदा जिन्दगी यो साह्रै ढलपल भो ।

नपिउँ त भन्थें तर मन यो तलतल भो ।।

याद आउँछ घरी-घरी त्यही मोहिनीको ।

सम्झेंकोथें जसलाई आफ्नो भर जिन्दगीको ।।

जूनी सँगै काट्ने भन्थी नौंडाँडा पो काटी ।

भत्काइहाली बैगुनीले यो गुनीको छाती ।।

आज फेरी उसकै यादमा आँसु टलपल भो ।

नसम्झुँ त भन्थें तर याद झलमल भो ।।

आफन्त पो चुक्चुकाए हाँसे जोरीपारी ।

अपमानको तीर चल्यो छाती वारेपारी ।।

माया जाल बुन्न जान्ने माकुरी पो रै'छ ।

फसाएर ज्यानै लिने निष्ठूरी पो रै'छ ।।

चारैतिर कुरै काट्ने कस्तो हलचल भो ।

थाहा नदिउँ भन्थेँ तर ठूलो खलबल भो ।।

छापा, सिर्सेकोट्-६, स्याङ्जा; हाल: वालिङ्-१, स्याङ्जा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।