19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आपत्

कथा बखतबहादुर थापा April 5, 2010, 1:25 pm

जागिरको नौ वर्ष बित्दै थियो, सरुवा रुकुममा भयो । राजनीतिक प्रदूषणविरुद्ध उत्रिएको कम्युनिस्ट पार्टी माओवादी, म नेपालगन्जमा हुँदैदेखि देशका कुनाकाप्चाबाट सशस्त्र रूपमा अगाडि बढ्दै थियो । दुर्गमका दुईतीनवटा प्रहरी चौकीमा आक्रमण भइसकेको थियो र प्रशस्तै धनजनको क्षति भएको समाचार मैले सुनेको थिएँ ।

भनसुन लाग्ने ठाउँ कतै थिएन, जसले जता धकेल्छ त्यतै हुत्तिनुपर्ने आफ्नो अवस्था ।

म रुकुम पुगेको केही महिनापछि माओवादीहरू देशका कुनाकाप्चामा भरिइसकेका थिए । एकान्तमा भएका प्रहरी चौकीहरू ध्वस्त हुँदै थिए । केही सुरक्षित ठाउँतर्फ सर्दै थिए ।

हामीहरू ‘माओवादी’ शब्दलाई चिर्कोकै रूपमा लिन्थ्यौँ । कहाँ कतिखेर आफ्नै टाउकामा बज्रिने हो ? कुन दिन आँधीबेहरीको रूप लिएर आफ्नै अफिसमा खस्ने हो ? पिरले दिनको चैन र रातको निद्रा उडाइदिएको थियो । दरबन्दी जिल्ला प्रहरी कार्यालयमा भएकाले गाउँघरबाट फोन आउँदा ‘आजसम्म आरामै छु’ भन्ने सौभाग्य भने पाइरहेको थिएँ ।

गस्तीका व्रmममा टाढाटाढाका गाउँमा पुग्दा काल खोज्दै हिँडिरहेझैँ लाग्थ्यो । दिक्क लाग्दो अर्को कुरा के थियो भने हामी प्रहरीमध्ये आधाजतिले बन्दुक नाम भएका तर नपड्किने घोचा बोकेका हुन्थ्यौँ । तिनको काम शत्रुका टाउकामा कुन्दाले हिर्काउनुपरे मात्रै आउँथ्यो । त्यसरी ठटाउन, छोडुवा हान्न वा देखाएरै तर्साउन नसके ती बन्दुक बोक्नका भारी मात्र थिए ।

एक दिन गस्तीमा हिँड्दा आफ्नो भागमा परेको नचल्ने थोत्रो बन्दुक ओल्टाइपल्टाइ गर्दै भनेँ– ‘यस्तो बन्दुक बोकेर के काम सा’ब ?’

कमान्डरले भने– ‘माओवादीको ठूलो सफलता तँलाई मार्नुभन्दा पनि तेरो हतियार हत्याउनुमा हुन्छ । सरकारले प्रहरीलाई हतियार नदिएको भए माओवादीहरू यति छिट्टै शक्तिशाली कहाँ हुन्थे ?’

हामी पन्ध्र जवान हिँड्यौं गस्तीमा । साङ्ले भन्ज्याङ पुगेका मात्र थियौं, अचानक गोली बर्सिन थाले । हामी माओवादीको घेराभित्र परिसकेका रहेछौँ ।

बन्दुक मात्रै पड्केको सुनिन र साथीहरू चिच्याउँदै ढल्न थालेपछि मेरा हातबाट बन्दुक झ¥यो । कसरी बच्ने ? मेरो टाउको रिङ्न थाल्यो । तत्कालै म पनि गोली लागेजस्तो गरी भुइँमा पछारिएँ । अनि स्याउलामा गुडुल्किँदै तल खोलाछेउ पुगें । त्यसपछि जुरुक्क उठेर खोलैखोला टाप कसेँ । लहरापहरा र ढुङ्गामा अल्झिएर लड्दा मृत्युले छड्के हालेको हो कि, एम्बुसमा परेँ कि भन्ठानेर मुटु चिसो हुन्थ्यो । सम्हालिँदासम्हालिँदै निकै टाढा पुगिसकेको हुन्थेँ । आखिर म केमा अल्झेर लडेंछु भन्ने चालै पाउँदिनथेँ । करिब एक बजेदेखि भाग्न थालेको म साँझ छ बजे ठूलै खोलाको तीरमा पुगेँछु । बालुवामा पल्टेर केही बेर सुस्ताएँं । उठेर हेर्दा चारैतर्फ अँधेरो बढ्दै गइरहेको थियो ।

पानी खानलाई घोप्टे के परेथेँ आफ्नै जिउका कपडाको छाया देखेर झसङ्ग भएँ । जिउमा प्रहरीको बर्दी, टाढाटाढासम्म फैलिएको जङ्गलको बीचमा पर्ने खोला, माओवादी नामक बाघहरूका निम्ति मैले आफूलाई खसीका रूपमा देखिएको अनुमान गर्न थालेँ । तत्काल बर्दी खोलेर खोलामा बगाएँ । त्यसपछि चारपाँच अँजुली पानी खाएर निकै माथि देखिने गाउँतिर सोझिएँ ।

जङ्गलमा जहाँतहाँ मृत्यु फैलिएको हुनसक्थ्यो । बिस्तारै मुसो पछ्याएको बिरालोझैँ हिँडेर गाउँमा पुगेँ । कसैको घरमा बास माग्न जाऊँ, माओवादी भन्ठानेर बास नदिन सक्थे । जसले माओवादीलाई बास दिनसक्थ्यो ऊ प्रहरीदेखि डराउँथ्यो । यदि कसैले दयामाया देखाएर बस्न दिए पनि माओवादीको गुप्तचर बन्ला भन्ने डर । कुनै स्वतन्त्र मान्छेको घरमा पुगिहाले पनि प्रहरीलाई बास किन दिइस् भन्ने आरोपमा पेलिन सक्थ्यो । पूरै गाउँ माओवादीमय पनि हुनसक्छ । यस्तै मनमा उठेका शङ्काउपशङ्काले बास माग्ने हिम्मत जुटेको थिएन ।

एउटा घरको आँगनमा छाप्रो देखेँ । कसैले चालै नपाउने गरी त्यहीँ गएर रात बिताउने मनसुबा भयो । बिस्तारै छाप्रोभित्र घुस्दै थिएँ, कुकुर भुक्दै आयो । भाग्नु उचित थिएन, एउटा कुनामा बसेँ तर कुकुरले मान्दै मानेन । मतिरै हेरेर भुकिराख्यो ।

‘के देखिस् हो काले ?’ एकजना टर्च बालेर हेर्न आयो ।

कुकुरले आफन्तको आड पाएछ, टर्चको प्रकाशसँगै मलाई झम्टिन आयो ।

‘काले !’ मालिकले चिच्याउनेबित्तिकै कुकुर रोकियो । उसले भन्यो– ‘को हो ?’

मैले हात जोड्दै भनेँ– ‘हजुर, पारि सहरबाट फर्किंदा जङ्गलमा लुटेराहरूको फन्दामा

परेँ ।’ बर्दी खोलामा फालेपछि मेरो जिउमा गन्जी र कट्टु मात्र थिए ।

‘मान्छे हेर्दा चोरी गर्दागर्दै चुटाइ खाएर भागे जस्तो छ नि ? अनि यहाँ आएर किन

लुकेको ?’ त्यस मान्छेको व्यवहार कुकुरको भन्दा कम लागेन ।

‘के गरूँ हजुर ? कसैको घरमा बास माग्न जाऊँ भने जिउमा कपडै छैनन्, अर्कोतर्फ आजभोलि बास माग्न पनि गाह्रो छ, यहाँले भनेजस्तो को हो, के हो जस्ता अनेक प्रकारका शङ्काउपशङ्का गर्ने वातावरण छ । यही छाप्रोमा रात बिताउन पाए आभारी हुने थिएँ, हजुर ।’

‘साइँलो !’ उसले निकै चर्को स्वरमा भन्यो– ‘तुरुन्तै झर् त, छाप्रोमा चोर लुके जस्तो छ ।’

उसले चिच्याउनेबित्तिकै तीनचारजना केटाहरू माथ्लो घरबाट हामफाल्दै आए ।

‘को हो ? कहाँ छ ? कस्तो छ ? छोपछोप !’ हल्लीखल्ली मच्चियो ।

छोपछोप भन्ने शब्दले मलाई तर्सायो । उठेर दौडूँ, कुकुरले झम्टिने पक्का छ । नभागूँ, गाउँलेहरूले कुटेर मार्ने डर । हात जोडेर टुक्रुक्क बसिरहेको म टर्चको प्रकाशको घेराभित्रै थिएँ ।

मास्तिरबाट आउनेमध्ये एउटा मतर्फ बढ्दै बोल्यो– ‘कुकुरलाई छोड्दिनुस् ।’ ऊ अगाडि बढेर मेरो कपाल समाएर उठायो । कुकुर पनि झम्टिन आएको देखेर मैले कपाल समात्नेलाई कुकुरतर्फ हुत्याउँदै हाम फालेँ, जताबाट त्यस छाप्रोमा पुगेको थिएँ त्यतै ।

गाउँलेहरू ढुङ्गामुढा हु¥र्याउँदै केही तलसम्म आए । म निकै टाढा पुगिसकेको थिएँ । केही बेर सुस्ताएपछि एउटा रूखमा चढें । रात त्यसैमा बित्यो । दोस्रो दिन बिहान जङ्गलैजङ्गल मेरो यात्रा सुरु भयो । करिब एघार बजेतिर एउटा बटुवा भेटेँ । उसको जिउको कपडा देखेर मैले आफूमाथि गुजे्रको समय सम्झेँ । वास्तवमा माओवादीभन्दा कम खतरनाक थिएनन् ती गाउँले । कहाँ छ र मानवता ? म बटुवामाथि झम्टिन पुगेँ । उसको जिउका दौरा–सुरुवाल निकालेर आफ्नो जिउमा घुसारें । गोजीमा पाँच सय रुपैयाँ पनि रहेछ । मलाई आफ्नो गाउँ पुग्न, खानबस्न र गाडीभाडा पुग्यो ।

प्रहरी भएको नाताले मेरो नाम माओवादीको बहीखातामा थियो नै । त्यसैले गाउँमा पनि मेरो काम घरभित्रै लुक्ने भइरह्यो ।

पाँच गाउँको माओवादी इन्चार्ज ‘टाइगर’ छिमेकी काकीको माइती पथ्र्यो । आपत्विपत्मा लुक्न काकीकहाँ आउँदो रहेछ । उसैको प्रभावले काकीका दुवै छोरा गङ्गे र रङ्गे पनि माओवादीको धाक लगाउने गर्थे ।

एक साँझ तिनै गङ्गे र रङ्गेले टाइगरलाई मेरै घरमा ल्याइपु¥याए । माओवादी आएको चाल पाउनासाथ घरमा रुवाबासी मच्चियो ।

गङ्गेले मेरा बुवालाई भन्यो– ‘नरुनुस् न काका, आफ्नै दाइभाइलाई लिएर काटमार गरौँला त ? रुकुमबाट अचानक किन आउनुभयो ? त्यहाँको स्थिति के छ ? सामान्य सोधपुछ मात्रै हो । घडी हेरेर बस्नुस्, दाइ दुई घण्टाभित्र आइपुग्नुहुन्छ ।’

उनीहरूले मलाई घरबाट निकाले र लगे । केही अगाडि लगेपछि मेरा दुवै हात पछाडि बाँधे र आँखामा पट्टी लगाए । करिब दुई घण्टाजति हिँडाएर एक ठाउँ बसाएपछि आँखाको पट्टी खोले । मलाई एउटा गोठमा पु¥याएका रहेछन् ।

मैले भनेँ– ‘दुई घण्टामा घरै पु¥याइदिन्छौं भन्नुभएको हैन ?’

‘यो पनि घरै त हो । हेर्नु त, यिनीहरू सबै आफन्त हैनन् ?’ इन्चार्जले अर्को कुनातर्फ टर्च देखायो । चारजना छिमेकी केटालाई हात बाँधेर राखेका रहेछन् ।

त्यसपछि मसँग सोधपुछ गरे । मैले आफ्नो विगत बताउँदै माओवादीमा आश्रय लिने मनसाय व्यक्त गरेँ । मेरो कुरा पत्याएर टाइगरले मलाई आफ्नो गाउँको कमान्डर बनायो । मलाई नयाँ नाम दिए— ‘आपत्’ ।

मेरो अन्डरमा काले सुनार, हर्के दमाईं र रामबहादुर खड्का थिए । हामी चारले आफ्नो काम तदारुकतासाथ थाल्यौँ । आफ्नो गाउँ मात्रै हैन, मैले आफ्ना नातागोतालाई समेत छोडिनँ । गाउँलेहरू आफन्त हुन् या पराई, म सबैको निम्ति आपतै थिएँ । सामन्तवादी र हैकमवादीहरूको घरको अन्न, ओढ्ने कपडा, खसी, बोका, कुखुरा केही छोडिएन । कहिलेकाहीँ मेरी श्रीमतीले आगनमै बसेर रुपैयाँ गन्थी । छिमेकीहरू आँखा च्यातीच्याती हेर्थे । भन्थे– ‘यसरी लुटेका रुपैयाँ यिनीहरूलाई खान होला त ?’

रुपैयाँका बिटा बोकेर टाइगरलाई बुझाउँथें । मैले गर्दा कतिपय गाउँलेहरू विस्थापित भए । कति त मेरै पछि लाग्न तयार भए । यस विषयमा टाइगरलाई सोध्दा उसले केही नियम पालन गर्नुपर्ने बतायो ।

‘म, मेरो जस्ता शब्दलाई त्यागेर हामी, हाम्रो भन्न थाल्नुपर्छ । हाम्रो पार्टीमा प्रवेश गर्नुभन्दा पहिला आफ्नो श्रीसम्पत्ति, जायजेथा सबै पार्टीको नाउँमा समर्पण गर्नुपर्छ । आफ्ना निम्ति नभएर अरूका लागि बाँच्नुपर्छ । छाती खोलेर भाषण दिन सक्नुपर्छ । एकदुई सैनिक या प्रहरी मारेर आए सिधै छापामार हुन पाइन्छ ।’

हाम्रो इन्चार्जबाट जारी गरिएका यस्ता नियम सुन्दा नयाँ कार्यकर्ता तर्सिन्थे र मुग्लानतिर पलायन हुन्थे ।

सरकार र जनसरकारको वार्ता सफल भएपछि हाम्रो इन्चार्जले काठमाडौं, नेपालगन्ज, सुर्खेत जस्ता ठाउँमा घडेरी किन्यो । हाम्रो नाम पार्टीमा दर्ता भएको रहेनछ । इन्चार्जले हामीलाई अगाडि पर्न नदिनुको कारण र नयाँ नियम बनाउनुको लक्ष्य बुझियो । हामी यता न उताका भयौं ।

सरकारबाट पहिल्यै भागिएको थियो । माओवादीको काम गरे पनि हामी इन्चार्जद्वारा बेग्लै तरिकाले सञ्चालित रहेछौँ । अलपत्र प¥याँै । पालो ती गाउँलेहरूको आयो । मेरा सहयोगीहरूले भने– ‘हामी गाउँमा बस्न नपाउने बाध्यताले आपत्को पछि लागेका हौँ, नेता त यही हो ।’ उनीहरू गाउँलेको शरणमा गइहाले । अन्ततः म आफ्नै निम्ति आपत् भएँ । फेरि मेरो काम घरमै लुकिराख्ने भयो । एक दिन सबै गाउँलेहरू घरमै आएर मरणासन्न हुने गरी कुटे । मेरा आमाबुवा नभए मलाई मारेरै फाल्न बेर लगाउँदैनथे ।

त्यसपछि भागेर सुर्खेत पुगेँ । विस्थापितहरूले त्यहीँ भेट्टाए, कुटे । त्यसपछि अहमदाबाद पुगेँ । मेरा कारणले जागिरै छोडेर पलायन भएकाहरूले चाल पाएछन् । त्यहीँ पनि कुटेर मरणासन्न बनाए ।

ठाउँठाउँको कुटाइले अहिले म कुँजिएको छु र आफ्नै निम्ति आपत् भएको छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।