19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मन

कविता रीता खत्री April 6, 2010, 5:10 pm

जीवनको सुकिलो

ऐना अगाडि उभ्याएर

मैले मनलाई कैयौपटक

दोषी सावित गर्न खोजेँ

इच्छाको युद्ध रोक्न खोजेँ

आवेगको आँधी रोक्न खोजेँ

तर मन, मेरो देशको

पाखा, पखेरा र भीरजस्नै दुख्यो

गाउँ, बेसी र शहरजस्तै दुख्यो

चौतारी, भञ्ज्याङ्ग

र देउरालीजस्तै दुख्यो

यो देश जस्तै दुख्यो

देशको इतिहास जस्तै दुख्यो

र त मैले, मनविरुद्ध

युद्ध नलड्ने निर्णय गरें

मुद्दा नहार्ने निर्णय गरें ,

मन तिमी मलाई मार, काट,

बचाऊ, सिध्याऊ,

हराऊ, जिताऊ

जे गर तिम्रो स्वविवेक,

म तिमीविरूद्ध –

युद्ध लड्न सक्दिन

अदालत धाउन सक्दिन

र मुद्धा जित्न सक्दिन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।