19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म-नै ठेगानमा छैन

कविता प्रा. डा. माधवप्रसाद पोखरेल April 8, 2010, 6:54 am

मन साबुनको फोको जस्तो छ; उडिहाल्दछ ।

रापले, सेपले थोरै छोयो कि फुटिहाल्दछ ।

छातीमा इन्द्रिनी पर्दा, अति नै चल्बलाउँछ ।

आँखा झिम्क्याउँदै चल्ने हावाले सल्बलाउँछ ।

एकाग्र हुन खोज्ने म; उत्ताउलिन्छ यो भने,

डेगमा राख्‍न खोज्ने म; सैसैला खेल्छ यो भने ।

म बस्ने ठाउँमा हुन्छु; यो भने, डुलिराख्तछ ।

केले अड्याऊँ यस्लाई? अन्यत्रै खालि भाग्दछ ।

आँखाले खिच्छ यो फोटो, मनैमा साँचिराख्तछ ।

मनमा साँचिने फोटो, औधि नै नाचिराख्तछ !

हलुङ्गो कति सारो छ, थोरैले फुर्किहाल्दछ ।

गरुङ्गो कति सारो छ, पाखुरै सुर्किहाल्दछ ।

साना-साना कुराले नै फतक्क गलिहाल्दछ ।

जिउँदै हुन्छ यो मान्छे, मन चैँ मरिहाल्दछ ।

यो छातीमा म-नै दुख्छ; हरायो जिउमा म-नै ।

विज्ञान भेट्न सक्तैन छातीमा, शिरमा म-नै ।

म-नै ठेगानमा छैन, मेरो ठेगान के भनूँ?

मैले सकिन साँच्चै नै ताँदो लाउन यो धनु !

अड्याउन नसक्ता के तिमीलाई दिऊँ भन?

तिमीसित भए केही टुङ्गो लाग्छ कि यो मन !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।