साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिडयो अढाइ अक्षर प्रेमको आधा बाटो
साजिद वरिपरि चलिरहेको बतास उही थियो जस्ले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एस.एम.एस.। भगवानको हातले लेखेजस्ता एस.एम.एस. हरफहरू उडदै–उडदै आउथ्यो मुटुको आकार लिएर
“म यही छु तिम्रो सम्झनाको फोटो मुन्तिर
सायद,तिमी पनि आकाश र धरति जोडिएको
उही थोप्लोमुनि
सम्झनाको एल्बम पल्टाइ रहेका हौला ।”
आज ठीक उसरी नै असारको झमझम परिरहेको झरीमा रुझ्दै–भिज्दै एउटा रंगिन कार्ड साजिदको हातमा आइपुग्यो ।पृथ्वी घुमेजस्तै उसका आँखाभरी सम्झनाहरू वृत्त बनेर नाच्न थाले ।रोशनी र उस्ले एउटै छाता ओढदै नापेका काठमाडौंका सडकहरू अपदस्त शासकको नामजस्तो विस्तारै अपरिचित लाग्न थाले । अब उसँग बाँकी थिए केवल काठमाडौको जाममा परेका गाडिहरूजस्तै तछाडमछाड गर्दै आउने सपनाहरू । अमूर्त सपनाहरू देख्नलाई मात्र सिमित थिए,देखाउनलाई थिएनन् । जस्तो कि कवि लेखकसँग देखाउन केही हुदैन घर,गाडी,बैंक ब्यालेन्स । तर, भन्नका लागि धेरै कुराहरू हुन्छन् ।सायद,त्यसैले राज्य र समाजले लेखकलाई अनुत्पादक ठानेको हुन्छ ।अनुत्पादक सरह बाँचिरहेको साजिदलाई कहिले त फर्केर आफ्नै ठाउँ जान मन लाग्थ्यो ।समय–समयको कुरा हो यो सब, फेरि आफैले आफैलाई सान्तवना दिन्थ्यो ।
कुनै दिन संसारकै सुन्दर सपना देख्नेहरू मध्य पथ्र्यो ऊ । प्रेममा परेको खटपटसँगै,आँखामा सपनाहरू कम कुण्ठाहरू बढि ओइरिन थाले । त्यही दिनदेखि सुकिरहेको बुढो रुखजस्तो अर्ध–जिवित बाँचिरहेको थियो ऊ ।आजको विवाह निमन्त्रणा त एउटा औपचारिक सूचना मात्र थियो । कोमामा पुगेको बिरामिलाई,मृत घोषणा गरेजस्तै ।
साथीहरूमै पनि केहीले सोच्थे, साजिद समयभन्दा ढिलो हिडिरहेछ । केहीले भन्थे रोशनी घडिका काँटाभन्दा छिटो दौडिरहिछ ।
घडिका काँटाहरूले जत्तिनै घुमे पनि बनाउने एउटा गोलाकार न हो ।
समयको यही गोलाकारमा साजिद र रोशनी भेट्टिए र छुट्टिए पनि ।
साजिदलाई चिन्नेहरूले जे जस्तो कुरा काटे पनि उस्का मनमा समयका काला बादलहरू हटेर, नीलो आकाशमा सुन्दर सेता बादलहरू आएजस्तै जीवनमा दुःखःपछि सुख आउने कुरामा आशावादि थियो । उस्ले बुझेको थियो मान्छेलाई बाँच्न सिकाउने दुई कुराहरू हुन्छन्— आशा र परिश्रम । आशा र परिश्रमको वैशाखी टेकेर पुग्नु थियो उस्लाई, त्यो गोलो क्षितिज जहाँ टेकेपछि संसार आधा हुन्छ ।
भेट्टिनु र छुट्टिनु आफैमा संयोग हो जीवनको । एउटासँग माया बस्नु,अरू कसैसँग विवाह हुनु चलेकै चलन हो । तर साजिदको मनको गहिरो दुःख के थियो भने धर्म उनीहरूको विछोडको कारण बन्यो । संसारका सबै धर्मले मान्छेलाई माया गर्न सिकाउछ । भगवान आफैमा रोटि हो जस्को संसारभरि फरक नाम छ तर मान्छेलाई बाँच्न आवश्यक हुन्छ । भगवान कसैका पनि खराब हुदैनन् । खराव त मान्छे हुन्छ जस्ले धर्म र भगवानलाई आफ्नो स्वार्थ अनुरुप ब्याख्या गर्छ । रोशनी पनि त्यही मध्य परी जो समय अनुरुप रङ्ग बदल्छन् । मौसमझै बदलिने बेइमानीहरूलाई जात,धर्म,वर्ग टाढा हुने ठूलो बहाना बन्दो रहेछ । जबकि प्रेममा,जात,धर्म,वर्गभन्दा माथि उठेर सँगै बाँच्ने सँगै मर्ने कसम खाइएको हुन्छ ।
साजिद अन्सारी त्यही विद्यार्थी हो, जस्का लागि विश्वद्यिालय अंगालो हाल्न आइपुग्थ्यो । विरगंज गहवाबाट आएर काठमाडौंमा पाइला राख्दा सूर्यजस्तो उदाउने सपना थिएन उस्को । उस्लाई त समाजशास्त्र पढेर संसारका मानिस एउटै हुन भन्ने भावनामा केही उर्जा मात्र थप्नु थियो । कक्षा शुरूका दिनहरूमा,तराई मूलको भनेर साजिदलाई कसैले वास्ता गर्दैनथे । कक्षामा हुने विभिन्न टेस्टहरूमा उस्ले राम्रो नतिजा प्राप्त गरेपछि, विस्तारै ऊ सबैको आँखामा परेको थियो ।
काठमाडौकी रैथाने रोशनी र उस्को पहिलो बोलचाल भने लाइब्रेरीमा भएको थियो । उपन्यासमा वर्णन गरिने नारी पात्रजस्ति रोशनी देखेर ऊ चकित बन्थ्यो । साजिद स्वभावतः कसैप्रति झट्ट आर्कषित हुने व्यक्ति थिएन । चलचित्रमा देखाइने जस्तो काल्पनिक प्रेम र जीवनले उस्लाई छुदैंनथ्यो । उस्को आदर्शनै पढनु,पढनु र फेरि पढनु नै थियो । तर किन–किन त्यो दिन रोशनीका पाइला सरेतिरै उस्का गोडाहरू उचालिए । रोशनीले उस्लाई नछोएपनि, रोशनीको रूपले उस्को मुटुलाई छोइसकेको थियो । तनको सुन्दरता जस्तै, रोशनीमा भएको विद्घता पनि उनले पल्टाएका किताबहरूबाट साजिदले थाहा पायो । रोशनीले र्याकबाट निकाल्दै,हेर्दै फेरि र्याकमैं राखेका किताबहरूलाई साजिदले यसरी सुम्सुम्यायो मानौ ती किताब नभइ रोशनीका हातहरू हुन् ।
साजिदले आफैं बोल्न शुरु ग¥यो “एक्सक्यूज मि,कुन बुक खोज्नु भएको होला ?”
रोशनीले मुस्कुराएर उत्तर दिइन “पिपल्स अफ नेपाल”
“तपाइँले नि?”रोशनीले प्रश्न गरीन् ।
“फैटलिज्म एण्ड डेभलेपमेन्ट”साजिदको उत्तरमा उमङ्ग मिसियो । दुई किताबहरू तर उही लेखक डोर बहादुर बिष्ट मिल्न गएकोले उनीहरू दुबै खुसी देखिए ।
“पिपल्स अफ नेपाल”जुन किताबले नेपाललाई साझा फूलबारीको रूपमा चित्रित गरेको छ । साजिद नेपालको अल्पसंख्यक मुस्लिम समुदायबाट आएको भएर होला उस्लाई समता र विकासका किताबहरू मन पथ्र्यो ।
यसरी यिनै बोलिका बाटाहरूले उनीहरू मित्रतामा गाँसिए । अब साजिद र रोशनी पढाइसँगै एक अर्कालाई प्रेम गर्न थाले । काठमाडौंको जाडो महिना,रातो गुलाफको शहरजस्तो देखिने मौसममा नयाँ उमङ्गको साटासाट गरे यी दुईले । “ह्यापि भ्यालेण्टाइन डे”, “वि स्याल लिभ आवर लाइफ लाइक पोएम” लेखिएका कार्ड र राता गुलाफहरू ।
“कविता जस्तो जीवन कस्तो हुन्छ,थाहा छ ?”
कविताको कुनै धर्म हुदैन, वर्ग हुदैन, लिङ्ग हुदैन, उमेर हुदैन, भाषा हुदैन । जीवन पनि त्यही हो जहाँ बन्धन नहोस, धर्म नहोस, वर्ग नहोस, मीठा–मीठा कल्पनाहरू होस, जस्तो एउटा मीठो कवितामा हुन्छ । रोशनी र साजिद यसरी नै एक अर्कामा, जीवन र कवितालाई दाँजेर हेर्थे ।
यो एक्काइसौ शताब्दि सभ्यता र एकताको युग हो । दुवैलाई जात, धर्म, वर्गको प्रवाह थिएन । प्रवाह थियो त पढाइको,त्यसपछि बनाउनुपर्ने करिएरको । द्वितीय वर्षको परीक्षा पश्चात साजिद र रोशनी पनि शोधपत्र लेखनतिर लागे । “शोधपत्र होइन, सारपत्र हो”, साथीहरू ठट्टा गर्थे । तर रोशनी र साजिद आ–आफ्नो शोधपत्रको विषयमा दत्तचित्त भएर अध्ययन गर्थे ताकि कुनै उपयोगी तथ्य उजागर गर्न सकियोस । सायद त्यही नयाँ विषयवस्तु खोज्ने जिज्ञासु बानिको कारण, साजिदले ‘न्यू एरा’ अनुसंधान संस्थाबाट दिइने अनुसंधानवृत्तिको सहयोग प्राप्त ग¥यो । रोशनीले ‘केयर नेपाल’ अन्र्तगत अनुसंधान अधिकृतको जागिर पाइन ।
यसै वीचमा, दुर्भाग्यवस साजिदको बुवाको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । घरमा एक्लि आमा र बहिनीको भरोसा बनेर उस्ले विरगंजमै केही समय बितायो । साजिदका लागि अब जीवनका गोरेटाहरू सरल भएनन् । साजिद आफ्नै टोलको १०+२ मा केही समय पढाएर काठमाडौं फक्र्यो । काठमाडौँमै बसेर लोक सेवा आयोगको तयारी गर्दै, १०+२ पढाउन थाल्यो ।
समयले अब यी दुई प्रेमीहरूलाई समुद्रको दुई किनारजस्तो बनाएर टाढा–टाढा पु¥याइदियो ।
रोशनीको घरमा उनको विवाहको कृुरा उठन थाल्यो । केही प्रस्ताबहरू रोशनीले सोचुला भन्दै टारीन । यता साजिद आफ्नै दुःखले थिचिएर लिक छोडेको रेलजस्तो भएको थियो । उनीहरूबीच अब समझदारी र प्रेमभन्दा ‘व्यक्तित्व टकराव’ बढन थाल्यो । प्रेम निस्वार्थ भइन्जेल अन्धो हुन्छ । प्रेममा स्वार्थ मिसिनासाथ त्यो नाफा घाटा अनुसार चल्ने ब्यापार बन्छ । हाम्रो जस्तो अल्पविकसित समाजमा झन एउटा मुस्लिम केटा र हिन्दू केटीको प्रेम समाजले सहज रूपमा स्विकार्ने अवस्था थिएन ।यही सामाजिक बिभेद रोशनीलाई,साजिदबाट टाढा हुने बहाना बन्यो ।
साजिदमा अब हिजो जस्तो सफल मान्छे बन्ने संभावना पनि थिएन । परिस्थितिले उस्लाई यसरी बाँध्दै लग्यो, अब उस्का नजिकका मित्रहरू नै ऊ बाट टाढिन थाले । रोशनी जस्को साथ यो समय उस्कालागि अपरिहार्य थियो तर रोशनीनैं ऊ बाट र्र्तिर्कन चाहेको उस्ले राम्ररी बुझ्यो ।
“साजिद, मेरो विहेको चर्चा घरमा व्यापक भइरहेको छ,क्यानाडा बस्ने डाक्टरसँग ।”साजिदको अघि रोशनीले आफू दुःखी भएको अभिनय गरेपनि उनको आँखामा नाचिरहेको उमङ्र्र्र्गलाई साजिदले स्पष्ट देख्यो ।
विचरा ! साजिद के गरोस ? आफ्नी आमा र बहिनीलाई त सहारा दिन नसकेर विरगंजमै छोडि आएको छ । काठमाडौंमा १०+२ पढाएर आफू मात्र बाँच्न त मुश्किल परेको बेला, रोशनीका महत्वकांक्षा उस्ले कसरी पूर्ति गरोस । फेरि १०+२ पढाउने जागिर पनि के जागिर हो र ? प्रिन्सिपलको हजूर–हजूर गरेसम्म न हो । उस्ले यस्तै सोच्यो ।
तर पनि कुनै समाधानको उपाय निक्ली हाल्छ कि उस्ले केही हप्ता पर्खन आग्रह ग¥यो ।
संवाद भएको केही दिनपछि नै रोशनीको विवाह पक्का भएको कुरा साजिदले साथीहरूबाट थाहा पायो । आज विवाहको रङ्गिन कार्ड उस्को हात पर्दा उस्का आँखाभरि पृथ्वी घुमेसरी सम्झनाहरू ओहोर दोहोर गरीरहे । सँगै जिउने, सँगै मर्ने कसम खाएर जीवनमा गरेको पहिलो प्रेम विर्सन खोजे पनि सम्झनाहरूले उस्लाई ठुङ्गि नै रहेँ ।
*********
विवाहको केही दिन पछि नै रोशनी क्यानाडातिर उडिन, जिन्दगीको आकाश भेटन । साजिदका लागि अब रोशनी सुन्न सकिने तर गाउन नसकिने गीतजस्तै बनिन् । रोशनी देख्न सकिने तर छुन नसकिने बादल भएर उड्दै–उड्दै टाढा धेरै टाढा क्षितिज भन्दा पर पुगिन ।
समयले सधैं मान्छेलाई अन्याय मात्र गर्दैन ।परिस्थिति सधैं प्रतिकुल मात्र बन्दैन ।संसार आशावादिहरूको हो जस्ले कालो बादलमा चाँदीको घेरा देख्न सक्छ । संसार परिश्रमीहरूको हो जस्ले सिपीमा मोति बटुल्न सक्छ । अवसरको लागि प्रेम गर्नेहरू, नाफा घाटाको हिसाबमै अल्झिन्छन् । साचो माया गर्नेहरू, सुखमा पनि दुःखमा पनि सँगै जिउँछन, सँगै मर्छन् ।
साजिद आज परराष्ट्र अधिकृत बनेको छ । क्यानाडामा खुल्न लागेको दूतावासमा उस्को पोस्टिङ् भएको छ । कसैे–कसैले भनेको सुनिन्छ,श्रीमानसँगको सम्बन्ध विच्छेद पश्चात रोशनी क्यानाडामा एक्लै छिन् । यता, साजिद र डा.सवाना खातुनको सानो संसार,सानो सन्तानसँगै खुसीसाथ चलिरहेको छ । साजिदकी आमा र बहिनी अहिले काठमाडौकै घरमा पूर्ण सन्तुष्टिका साथ जीवनयापन गरिरहेका छन् ।
अन्ततः आशा र परिश्रमको वैशाखी टेकेर साजिद पुग्यो त्यो गोलो क्षितिज, जहाँ टेकेपछि संसार आधा हुन्छ ।
विराटनगर,हाल: किर्तिपुर