17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समय र सपनाको हिच्चा

कविता पवन चामलिङ किरण April 14, 2010, 11:17 pm

हुनसक्छ तिमीले बिर्सिसक्यो

तर पनि याद होला

एउटा सभामा हाम्रो भेट भएको;

तिमीलाई भेटेर मलाई रमाइलो लागेको थियो

मान्छेले मान्छेलाई भेट्दा रमाइलो लाग्नु

आनन्द अनुभूति हुनु

न्यानो र आफ्नो लाग्नु

आजकल अचम्मैको कुरा हुन्छ

मान्छेले मान्छेलाई मान्छेको साइनोमा अप्नाउनु

या त सम्मान गर्नु, सदभावना राख्नु

आजकल अपत्यारो लाग्छ

मान्छेलाई विश्वास गर्नु पनि अपत्यारो लाग्छ

मलाई आफैसँग

शङ्का लाग्छ।

जङ्गल हुनुपर्छ मान्छेको

आफैलाई एक्लो पाएर त्यहाँ

मलाई रुनु मन लाग्छ।

सायद त्यो हाम्रो पहिलो भेट थिएन

तर पहिलो भेटजस्तै लागेको थियो,

मैले त तर सधैं

कल्पना र सपनाका अदृश्य सड़कहरूमा

तिमीलाई भेटेको थिएँ

मैले त सधैँ तिमीलाई मेरो मनको आंखाले देखेको थिएँ।

हुनसक्छ, मेरो मनको खिड़की

तिम्रो घरतिर फर्किएको होला

कहिले-कहिलेदेखि

यो आँखाले तिमीलाई नियाल्दै थियो यो मनको घड़ेरीमा

तिम्रो घर निर्माण भइसकेको थियो।

कहिले-काहीँ असामान्य कुराहरू पनि सामान्य

लाग्नसक्छन्,

तब त्यो आफ्नै मनको भ्रम पो हो कि भन्ने लाग्छ

तर त्यो भ्रम लाग्ने स्थितिलाई नाघेर

त्यो असामान्य भीड़को हो-हल्लालाई चिरेर

तिम्रो कानसम्म शब्दको सहारामा पुगेको थिएँ

सपनाको बैशाखी टेकेर

तिम्रो छेऊमा केही क्षण उभिने हिम्मत गरेको थिएँ

अचानक मनको दैलो खोलेर

तिम्रो मनको घरमा पुगेको थिएँ।

मेरा मायालाग्दा सपनाका बालकहरू त्यतिखेर

कसरी रमाउँदै विपना नाच्दै थिए

कसरी मेरा विपना खुशीले एक्लै

संसार थर्काएर हाँस्दै थिए

मेरा सपनाका बालकहरू

विश्वासको सिँढ़ी चढ़ेर

कसरी आफैबाट उक्लिनसकेका थिए

कल्पनाको बाटो निरन्तर हिंड़ेर

कति युगपछि हुनसक्छ

कति यूनीपछि हुनसक्छ

तिम्रो विपनाको नजिक आएर

तिम्रो मनलाई शीतल स्पर्श गर्नसकेको थियो

एउटा सुखद अनुभव हुनसकेको थियो।

युग-युगदेखि तड्पिरहेको सपना

स्वयं व्यक्त भएको थियो

तिम्रो जिन्दगीको स्पर्श पाएर

सपनाले थकान मार्ने चौतारी पाएको थियो।

तिम्रो मनको हातले पकाएको

मायाको तातो चिया पिएर

क्षमभर नै भए पनि

सँगै जीवन बिताउन चाहन्थें

क्षणभर नै भए पनि जीवनलाई हँसाउन चाहन्थें।

दिनभरि परिस्थितिको गोता खाएर

हैरान भएको मनमा

जब तिम्रो सम्झना आउँछ

अनायासै अपार उमङ्ग भरिएर आउँछ

धूपीका हरिया रूखहरूजस्तै

लहलह इच्छाहरू जागेर आउँछन्

तिमीसँगसँगै

जिन्दगीका सुन्दर सड़कहरूमा

मिठा सपनाका कुरा गर्दै

सुन्दर कल्पनालाई आकार दिंदै

समयलाई गति र दिशा दिन चाहन्थें

भविष्यको संसारलाई तिमीसँग मिलेर निर्माण गर्न चाहन्थें

धूप्पीका हरिया रूखहरूजस्तै

इच्छाहरू सँगालेर

जिन्दगीका थकानहरू मेट्न चाहन्थें

तिमीसँग भेट्न चाहन्थें

विगत भुलेर तिमीसँग बाँच्न चाहन्थें

जीवनको सत्य

तिम्रो मनको सुन्दरतामा खोज्न चाहन्थें।

मैले थाहा पाएँ तिम्रा विचारका सुन्दरताबाट

मैले थाहा पाएँ जीवनका उमङ्ग र तरङ्गहरूबाट

तिम्रा मनका भाव र गहिराइबाट

कि मनको माटोमा

सत्यहरू कसरी फूल्दारहेछन्।

सत्यहरू फूलेपछि

मन कति रमाइलो छ

अनन्त खुशीले मनलाई कसरी समाएको छ

म अव्यक्त भएको छु यसरी आफैमा

म आवाजहीन, शब्दहीन भएको छु आफैमा।

मेरो मनले कसरी एक दिन सुटुक्कै भनेको थियो तिम्रो मनलाई

म तिमीलाई भेट्न आउँछु

भेटेर भूत, वर्तमान र भविष्यका कुराहरू भन्छु

जीवनका कथा, व्यथा र सपनाहरू बताउँछु

मनलाई उदाङ्गो पारेर तिम्रो सामु राखिदिन्छु

यही मेरो इच्छा थियो,

र तिमीसँग गरेको वाचा पनि थियो,

तर अहिलेसम्म पनि सपनाहरू सपनै रहे

मैले चाहेरै पनि तिमीलाई भेट्नसकिनँ

तिम्रो मनमा पक्कै पनि

एउटा शक्तिशाली मान्छेको रूप स्थापित हुनुपर्छ

जे पनि गर्नसक्ने

चाहेको सबै पाउनसक्ने

त्यो शक्तिरूप स्थापित हुनुपर्छ।

म डाँड़ोमा बस्छु

अग्लो डाँड़ोमाथिको घरमा बस्छु

यो घर सबैले देख्नसक्छन्

सहजै कसैले पनि देख्नसक्छन्, तर त्यस घरभित्र

म कमजोर कैदीजस्तै भएको छु

फरक यति छ

कैदी जेलमा कि बेलमा हुन्छ

म एक्लो जिन्दगीको जेलमा छु।

आफू भएर पनि आफू नहुनुको

वेदना र व्यथामा

एक्लो तड़पिरहेको छु।

प्रसव वेदनाजस्तै

समयको एउटा कालखण्डले मलाई

हाम्रो भविष्यलाई आकार दिनू

अनि त्यो आकारलाई जीवन दिनू

भनेर अह्राएको छ..

म विगतलाई प्रेम गरेथें भने

आफैबाट पलायन भइसकेको हुनेथिएँ

म वर्तमानलाई प्रेम गर्ने भए

स्व-केन्द्रित भएर

दुनियाँलाई बिर्सिसकेको हुनेथिएँ

म अनागतलाई प्रेम गर्छु

र नै म कैदी हूँ...

समयको चाबुक खाएर

हाम्रो विगतको हिच्चा इतिहासभरि दुखिरहन्छ

मनभरि रोइरहन्छ

वर्तमान रोगी नभए पनि हाम्रो सञ्चो पनि छैन

हिजो लागेको चोट

र घाउका दागहरू

मेरो जीवनदेखि मेटिएर गएको छैन

हाम्रो मनदेकि मेटिएर गएको छैन

यस व्यथाले हाम्रो वर्तमानलाई सताइरहन्छ

हाम्रो जीवनलाई घरिघरि ऐंठन पारिरहन्छ

आफैलाई इतिहासमा हराएर

वर्तमानमा आफैलाई खोजिरहेछु

मेरो जीवनको यस सत्यदेखि

तिमी पनि अनभिज्ञ छौ

अरू पनि अन्जान छन्

आजकल मान्छेको मनमा करुणा र सम्वेदना कुहेको लाश गह्नाउँछ

के भएको छ अचेल

मान्छे भीड़मा मात्र होइन, आफैसँग हराउँछ

त्यसैले हो सायद

डाँड़ाको यस घरलाई

कतिले ईर्ष्याले आँखा तर्छन्

अनेक आँखाहरूले घोच्छन्

म तिम्रो नजरमा चाहेजस्तो नदेखिनु

तिम्रो मनमा भनेजस्तो नउभिनु

त्यो मेरो कारण होइन

म प्रत्येक दिन हजारौं मनहरूबाट फ्याँकिनु

त्यो मेरो अपराध पनि होइन

त्यो विडम्बना हो विचारको

यही विडम्बना भोगेर म पीड़ित छु

विचार र मनका चट्टानहरूमा ठोक्किँदै

मुर्छित बाँचेको छु

मलाई छटपटी हुन्छ

असह्य हुन्छ

उकुसमुकुस हुन्छ

म जमिएको स्विमिङपूलको पानीजस्तै भएको छु

मानिसहरू पौड़ी खेलेर पानी धमिल्याएर जान्छन्

र भन्छन् पोखरीको पानी सफा थिएन

म त स्वतन्त्रतासँग बग्ने खोला र नदीको पानीजस्तो

जिन्दगी बग्न चाहन्छु।

यो मेरो चाहना हो

जबकि म त्यसो गर्न पनि नसक्ने

अशक्त भएको छु।

म आफ्नै घरको मर्यादा र पवित्रताको

गोठाला भएको छु

म त्यसैमा कैद भएको छु।

अन्यथा यो घर फेरि बन्दकी पर्नसक्छ

विश्वास र आस्थाको यो घरबाट

मान्छेका सपनाहरू मर्नसक्छन्।

डाँड़ोको यस घरले

सधैँ आँधी-तुफान सामना गरेको छ

ठिही र हिउँले पनि

यही घरलाई ज्यादा प्रभाव पार्छ

यस घरभित्र मेरो

शरीर मात्र होइन, मन पनि कठ्याङ्ग्रिन्छ

जिन्दगीका सुन्दर सपनाका आग्रहहरू पनि

फ्रीज भएर जमिन्छन्।

दैलोबाहिरको अदृश्य लक्ष्मण रेखालाई

पार गर्न पनि सक्तिनँ

चाहेर तिमीलाई भेट्न आउन पनि सक्तिनँ

म यही चार दिवारभित्र रहेर

भविष्यलाई परिखिरहेको छु

तिम्रो लागि नयाँ संसार निर्माण गरिरहेको छु

निरोगी भविष्यका सपनाहरू गोड़िरहेको छु।

मलाई माफ गर मेरो जिन्दगी

मैले तिमीसँग बाँच्न सकिनँ

तिम्रो लागि समय दिनसकिनँ

आजभोलि तिम्रो माया असाध्यै लागेर आउँछ

आफैलाई अँगालोमा

बेस्सरी कसेर माया गर्न मन लाग्छ

एक्लै चिच्च्याई-चिच्च्याई कराएर

माया गर्छु आफैलाई भन्न मन लाग्छ

आफ्नै छाती सुमसुम्याएर

आफैलाई माया गरिरहुँ लाग्छ

आफ्नै लागि जिन्दगी बेस्सरी बाँचु लाग्छ

किनकि म आफ्नो जिन्दगीदेखि विच्छेद भएर

आफैबाट निर्वासित भएको छु

म त आफैबाट सत्ताच्यूत भएको छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।