19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देश हराएको सूचना

कविता राजेन्द्र पहाडी April 18, 2010, 7:12 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

काठमाण्डौं बानेश्वरमा रहेको

संविधानसभा भवनबाट

फुत्त निस्केर

पूर्व लाग्यो या पश्चिम लाग्यो

उत्तर लाग्यो या दक्षिण लाग्यो

केही दिन अघि मेरो देश हरायो ।

खै! देश कोसँग डरायो ?

देशलाई कस्ले तसार्यो ?

देशलाई कस्ले चुस्यो ?

देशलाई कसले लुछ्यो ?

मेरो देश

पछिल्लो समय

भेषविहिन, परिचयविहिन

स्वाभिमानविहिन बाँच्न विवश

बनेको थियो

बनाइएको थियो

देश भाषाविहिन

इतिहासविहिन

नाङ्गो बन्दै गएको थियो

खै! कुन पीडाले मेरो देशले

माटो छाड्यो

थलो छाड्यो

मित्र

मेरो देश हरायो ।

महाशय,

तिमीले थाहा पायौ ?

मेरो देश हराएको छ

कहिँ कतै देख्यौं

कहिँ कतै भेट्यौं भने

पेरिसडाँडा दरबारमा

वा सानेपा दरबारमा

वा बल्खु दरबारमा

वा शितल निवासमा

खबर गरिदिनु ।

पहाडतिर

हिमालतिर

मदेशतिर

सबैलाई खबर गरिदिनु ।

देश देख्यौ भने

देश भेट्यौ भने

च्याप्प समात्नु मेरा मित्र !

देश फुत्किन सक्छ

देश उम्किन सक्छ ।

मेरा मित्र,

मेरो आस्थाको देश

ताम्सालिङतिर लाग्यो कि

लिम्बुवानभित्र छिर्यो कि

खुम्बुवानसँग मिल्यो कि

तमुवानसँग सल्क्यो कि

खै कता लाग्यो मेरो देश ?

मेरो चेतनाको धरोहर

मेरो देश

मगरातमा पस्यो कि

एक मधेश–एक प्रदेशमा फस्यो कि

खै! यहिँ कतै काठमाण्डौं खाल्टोभित्रै

नेवा प्रदेशमा बिलायो कि

अस्तित्वको संकट खप्न सकेर या नसकेर

मेरो देश हरायो ।

मेरो देशको भूगोल हरायो

मेरो माटोको अस्मिता लुटियो

म किंकर्तव्यबिमुढ देश गुमाएको पीडा

निशर्त भोगिरहेछु

आँखा फारेर नक्शामा

मेरो देश खोजिरहेछु । खोजिरहेछु ।।

मैत्रीचोक – ४, कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।