14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

घान्द्रुकको यात्रा: बालसाहित्यका कुरा

नियात्रा छविरमण सिलवाल April 18, 2010, 2:57 pm
छविरमण सिलवाल
छविरमण सिलवाल

नेपाल बालसाहित्य समाजको योना मुताविक हाम्रो यात्रा तय भएको थियो । सोहि समाजको २० औं वार्षिक सम्मेलन फागुन २४/२५ घान्द्रुकमा हुने जानकारी पाएको थिए । घान्द्रुकको चर्चा मैले निकै सुनेको थिए । त्यहाँ पुग्ने जो कोही मित्रहरु पनि एकपटक पुग्नु पर्ने कुरा बताउँदै थिए । विश्वका विभिन्न मुलुकहरुबाट कति मान्छेहरु त्यहाँ पुगिसकेका छन्, तर हामी आफ्नै भू–स्वर्गमा पुग्न सकेका छैनौ । कस्तो दुर्भाग्य ? जे होस घान्द्रुकको कल्पनामा म डुबिरहें ।

बिहानीको उज्यालोसंगै फागुन २२ गते घरबाट हिड्यौं । करिव ७.४५ मा दईओटा बस गुड्यो घान्द्रुकको लागि । करिब ८१ जना स्रष्टाहरु सामेल थिए यस यात्रामा । अमेरिकाकी ७० वर्षिय बालसाहित्यकार लिन्डा भेल्ज, द.कोरियाकी यु जंगी यी सहित १२ जना बाल साहित्यकारहरु यस यात्रामा सहभागी थिए । नेपालका डा.अभि सुवेदी, विनय कसजुँ, रामकुमार पाँडे, चुडामणि बन्धु, नेवासासका अध्यक्ष रामबाबु सुवेदी सहित यस यात्राका अग्रज स्रष्टाहरुसंगको यात्राले हामीलाई उर्जा थपिरहेको थियो । पहिलो दिन हामी पोखरामै बस्यौं । पोखरेली सांस्कृतिक परिवारद्धारा हामीलाई स्वागत गर्दे हाम्रो सफल यात्राको कामन गरेका थिए । फागुन २३ गते घान्द्रुकको यात्रामा लम्कियौं । हेम्जा हुँदै वागलुङ्, कुस्मा, जाने बाटोमा पर्ने नयाँपुल हाम्रो बसको अतेम गन्तव्य थियो १०.३०मा हामी नयाँपुल पुग्यौं ।

मोदी खोलाको किनारै किनार अगाडी वढ्यो हाम्रो यात्रा । बिरेठाँटीमा रहेको होटल सनराईज एण्ड थकाली रेष्टुरेन्टमा हामीले खाना खायौं । मध्यान्नको १२ बजेको छ, सवैलाई घान्द्रुक पुग्ने कौतुहलताले सताएको छ । आफ्ना साना साना व्यागहरु पनि भरियालाई बोकाएर लौरो टेक्दै अगाडी वढिरहेका छन्, सर्जकहरु आन्तरीक पर्यटनमा यस्तो यात्राले निकै भरथेक गर्दो रहेछ । स्रष्टाहरुको लागि एउटा मौका थियो यो । बालसाहित्य समाजलाई धन्यवाद दिनै पर्छ । अनन्तप्रसाद बाग्ले, नवराज रिजाल, धीरकुमार श्रेष्ठ, कृष्ण प्रसाई, कपिल लामिछाने, शारदा शर्मा, ललिता दोषी, तेजप्रकाश श्रेष्ठ, कनैया नासनेनी, डा.सुमनराज ताम्राकार, महादेव अवस्थि, सुष्मा आचार्यसंगको यात्राले हामीलाई थकानको महशुस भएन । केहि साथीहरु अगाडी गइसकेका थिए । रामप्रसाद ज्ञवाली, मित्रलाल पंज्ञानी, राजेन्द्र शलभ, तुलसा पाठक, छायादत्त न्यौपाने, सूर्य विसी, कविता सापकोटा, प्रतिमा न्यौपाने, तारा सुवेदी, सविना सिन्धु, स्मिता मगर, नेत्र तामाङ् निकै फूर्तिला रहेछन् कति छिटै उकालोमा हिड्न सकेका । प्राज्ञ रमेश श्रेष्टले हामीलाई बाटोको बारेमा जानिकारी दिदै थिए । जति हिँडे पनि नसकिने ठाडो उकालोमा शुशिला प्रधानाङ्ग र शर्मिला खड्कालाई निकै कठिन भएको थियो । स्याउली बजारमा हामी थकाई मार्देगर्दा त्यहाँकै एकजना दिदीले ‘शहरमा चिल्ला गाडीमा कुद्ने बानी परेकालाई यो उकालोमा निकै सास्ती परेजस्तो छ नी ?’ भन्दै जिस्काउँदा हामी अक्क न बक्क भयौ कुनै शब्दहरु निस्केनन् । निष्कपट रुपमा निस्केका ति दिदीका कुरा सत्यनै थियो । हामी त्यहि पहाडमा जन्मे पनि अहिले त्यहि पहाडमा हिड्न कठिन भएकोमा कताकता लज्जाबोध भएको छ । डा.शैलेन्दुप्रकाश नेपाल, हरिप्रसाद भण्डारी, विजय न्यौपाने, मातृका पोखरेल पनि निकैै रसिला देखिय यस यात्रामा । अमर न्यौपानेले लिन्डा भेल्जलाई डो¥याउँदै निकै कठिनसाथ उकालो कटाएका थिए । लिन्डा भेल्जको मुहारमा खुशि देखिए पनि उनलाई निकै कठिन भएको थियो । पुतली जस्तै लाग्ने कोरियन साहित्यकारहरु पनि निकै फूर्तिला थिए । हाँसी ठठ्ठा गरिरहनु पर्ने उनीहरुको बानीले हाम्रो यात्रालाई निकै सहज बनाई दियो ।

जे होस साढे सात घण्टाको हिडाई पछि हामी हाम्रो गन्तव्य घान्द्रुक पुग्यौं । झमक्क साँझ पर्ने लागेको थियो । प्रमोद प्रधान अघिल्लो दिनमा नै पुग्नु भएको थियो हाम्रो व्यवस्थापनको लागि । अठार ओटा होटलहरुमा बाडिएर बस्यौ हामी । अबको तिन रात हामीले यहि बिताउँनु पर्छ भन्दै थिए गायक रामकृष्ण दुवाल । हामी बसेको होटलमा नौ जना थियौ । प्रदिप प्रधान निकै रसिला थिए स्वयंम पाक्य खाना खाने उनको बानी रहेछ खाना बनाउँन तम्सिहाले । हुम्लाबाट आएका कालिबहादुर शाहीको देउडा गाउन निकै खप्पिस रहेछन् । साहित्यिका कुरा, गायनका कुरा, यात्राका कुरा गर्दे माछापुच्छे«को काखमा हामी कतिखेर निदायौं पत्त्तै भएन ।

विहानै ८.३० बजे मेश्रम बराह स्कुलमा पुग्नु पर्ने जानकारी थियो हामीलाई । केहि उकालो र केहि ओरालो हुँदै हामी स्कुलमा पुग्यौं । सर्जकहरु आउने क्रम चलिरकेको थियो । सफा बाटो मिलेका सिँढी लोडसेडिङ्को मार खप्नु नपर्ने कस्तो मज्जा ! मलाई लाग्यो म यहि नेपालमा छु कि ? विदेशमा ? गर्लम्म हिमाललाई अगालो मारु जस्तो कता कता काउँकुती लागे जस्तो । मन त्यसै हर्षले विभोर भएको छ । राताम्य फुलेका गुँराशहरुले हामीलाई स्वागत गरिरहेका थिए । केहि समय पछि लाली गुँरासका मालाहरुले हाम्रो गला सजिएका थिए । कत्ति सहयोगी ति हातहरु निश्चल रुपमा हामी त्यसै त्यसै हर्षविभोर भएका छौं । प्रदिप बमजन आफ्ना गीतहरु सुनाउँदै छन् । रामकृष्ण दुवाल पनि के कम ? आफ्नो गला तिर्खादै थिए । रामबाबु सुबेदीका बाल कविताले सबैलाई मुग्ध बनाएको थियो ।

यस सम्मेलनमा ‘प्रकृति,बालबालिका र बाल साहित्य’ विषयमा प्रा.रामकुमार पाँडे, ‘द्धन्द्धपीडित बालबालिका र बालसाहित्य’ विषयमा गौरी प्रधान, ‘बालबालीका लागि लोकसाहित्य’ विषयमा डा.शिवप्रसाद पौड्याल र २०६४ तथा २०६५मा प्रकाशित नेपाली बालसाहित्यबारे नवराज रिजालले कार्यपत्र प्रस्तुत गर्नू भएको थियो । सहलेखन, कथा वाचन, पुस्तक सार्वजनिकिकरण, पुस्तक प्रर्दशन भएको थियो । नेवासासले विद्यालयलाई करिव ६५ हजार बरावरको पुस्तक हस्तान्तरण गरेको थियो । माछापुच्छे«, धौलागिरीको काखमा लाली गुँरासलाई साक्षिराखेर विनय कसजुले १३ वँुदे धोषणपत्र जारी गर्नू भएको थियो । यो सबै भन्दा ठूलो उपलब्धी पनि हो । यसरी हाम्रो दुईदिने यात्रा सकिएको थियो २६ गते बिहानीको उज्यालोसंगै हामी हाम्रो यात्रालाई सार्थक बनाउँदै शहरतिर हुईकियौं । सिधा र सोझा गुरुङ्ग वस्तीको हाम्रो आतिथ्यलाई हामी कहिल्यै पनि भूल्ने छैनौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।