14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

समुद्र, अरक् र अरूणी

कथा मधुवन पौडेल April 19, 2010, 12:50 pm

समुद्र !

मलाई समुद्र भन्नासाथ केटाकेटीदेखि नै निकै मन पथ्र्यो र समुद्रका कुरा चाखले सुन्न मन लाग्थ्यो । त्यो समयमा आफुले समुद्र देख्न पाउने कुरा पनि भएन ! एकाध पल्ट आमाले कान पाक्दा समुद्रको फीँज भनेर एउटा केही चीज पिनेर कानमा खन्याइदिएको सम्झन्छु, त्यसरी खन्याउँदा फीँज आइरहे जस्तो लागे पनि निकै चीसो र शीतल अनुभव हुन्थ्यो ।

त्यसपछि समुद्रका बारे जति पनि, जहिले पनि सुन्दा पढ्दा म सधैँ रोमाञ्चक अनुभव गर्दथेँ । तैपनि नियतिले भने मलाई समुद्र हेर्ने र छुने अवसर मैले तीस वसन्त पार गरिसकेको थिएँ ।

काठमाडौँ खाल्डो र त्यसभन्दा बढी अधिकतम छिमेकी मुलुकतिर २÷४ पल्ट सरकारी खर्चमा पुग्न भ्याएको झण्डै कुवाको ब्याङ् जस्तै त थिएँ म । पहिलोपल्ट हाकिमको पछि लागेर समुद्र देख्न पुगेको त्यो ठाउँ मेरो लागि स्वर्गतुल्य थियो— श्रीलङ्काको राजधानी कोलोम्वोको मुटुमा रहेको ‘गल् फेस्’ नामको समुद्री तट ! ‘गल फेस’ साँच्चिकै अद्भुत थियो धेरै कुरामा ! प्रत्येक पल समुद्रबाट उर्लिएर आएको छालले आपूm बसेको होटलको पर्खालमै छोएर गड्गडाहट् गरिरहेको हुन्थ्यो । होटलबाट बाहिर निस्कन नपाउँदै आकर्षक फ्रेमभित्र राखेका तस्बिर र निवेदनपत्र पढाएर चन्दा माग्नेहरूको ताँती देखिन्थे, तिनले भने अलि दिक्क लगाउँथे ।

त्यही ताँती छिचोल्दै जाँदा मैले एकदिन अरूणीलाई भेटेको थिएँ । औसत श्रीलङ्काली तरुनीभन्दा अलग्गै थिई ऊ । पहिलो त उसको गोरो र पुष्ट अनुहार, नीला आँखा अनि उसको लवाई— कुनै कुरोले पनि अरूणीलाई स्थानीय बासिन्दा अर्थात् श्रीलङ्कामै जन्मेर हुर्के बढेकी भन्न मिल्ने ठाउँ नै थिएन । मैले पनि ठानेँ— ऊ म जस्तै कुनै काम विशेषले कोलोम्वो आइपुगेकी एशियाली हो ।

“के गर्नु हगि ? विचराहरूको लागि अरू कुनै उपाय नभएर त यहाँ हात फैलाउन बसेका होलान् नि !” माग्नेहरूप्रति दयालु शब्द व्यक्त गर्दै थिई अरूणी ।

“मलाई त त्यस्तो लाग्दैन, यो त एउटा प्रवृत्ति हो, मागेर खाने प्रवृत्ति ! आपूmसँग भएर पनि यस्ता मान्छेहरू सँधै अरूको आश गर्ने हुन्छन् । यस्ता मान्छेहरू मागेरै मात्र जीवन निर्वाह गर्न चाहन्छन् ।” म कठोर थिएँ ।

“हो र ? मलाई चाहिँ कताकता उनीहरू बाध्यतावश मात्र माग्न बसेका हुन् जस्तो लाग्छ । मैले आफ्नो देशको मनोविज्ञान बढी बुझेकीले मात्र भनेकी !”

अरूणीले त्यसो भनेपछि मात्र ऊ श्रीलङ्काली रहिछे भन्ने मलाई थाहा भएको थियो ।

त्यस दिन अरूणीसँग सामान्य परिचय मात्र भयो । संयोगवश ऊ म बसेकै होटलमा विजिनेस सेन्टरभित्र काम गर्ने रहिछ— पार्ट टाइम् ! मावलीसँग लण्डनको कोलाहलमा हुर्केकी र यदाकदा टाढा टोटोण्टोमा आफ्ना बाबु आमालाई भेट्न जाने गरेकी अरूणी यस पाला भने आफ्नी हजुरआमा भेट्न कोलोम्वो आएकी रहिछ ।

गल् फेस्को त्यो खुल्ला ठाउँ मलाई ज्यादै सुन्दर लाग्थ्यो । परिष्कृत माग्नेहरूले दिक्क नलगाउने भए त म जतिबेर पनि काट्न सक्थेँ त्यहाँ— खासगरी जुनेली रातमा टाढा टाढाबाट आएका ठूला–ठूला जहाजको बत्तीको प्रकाशमा समुद्र र उसको गडगडाउँदो छाल ! वास्तवमा कता–कता, टाढा–टाढाबाट आएको पानीको छालले गल फेसको किनारालाई सफा मात्र पारेको थिएन, किनारामा अनगिन्ती माछा, सिपी र समुद्री झार समेत अरू धेरै थोक थुपारेर जाने गथ्र्यो । सम्झँदै उदेक लाग्छ, कति जनाले त त्यसकै भरमा आपूm र आफ्नो परिवारको पेट समेत पाल्ने गर्थे ।

म फाटफुट प्रत्येक साँझ होटलबाट बाहिर निस्कने गर्थें । मूल प्रवेशद्वारबाट बाहिर निस्कनासाथ सडक, अनि १÷२ मिनेटमै गल फेस । अर्कै किसिमको आकर्षण ! मान्छेको हूल, खेलौना र खानेकुरा बेच्ने स्थल, तर त्यो भन्दा पनि नीलो समुद्रमा जून र बिजुलीको प्रकाश अनि हुत्तिएर आएका छालहरू ! बाल्यकालमा आफ्नो गाउँको गहिरो खोला, त्यसपछि वाग्मती र अहिले मात्र यति धेरै पानी देखेको म ! समुद्रको अर्को पट्टि सडक अनि सडकपारी हरिया रूखको छहारीमा नगरबधूहरूको ताँती पनि लाग्ने गथ्र्यो । कहिले कहिले त लाग्थ्यो— समुद्रको नीलो टलपल हेर्नतिर लागुँ कि सडकपारी आफ्ना ग्राहकलाई लोभ्याउन आतुर नगरबधूहरूको हाउभाउ नाप्नतिर लागुँ ! तर मेरो आकर्षण त समुद्र थियो, त्यसैले म गल फेस्को भीडमा नै हराउने गर्थें । एकाध परिष्कृत माग्नेहरू पछि लाग्थे, तर म आफ्नै धूनमा लम्किने गर्थें । गल फेस मैदानको उपल्लो छेउमा गल फेस होटल थियो, त्यहाँसम्म पुगेर फर्कंदा त साँच्चि नै थकाइले चूर नै हुन्थेँ म ! अनि मस्तसँग निदाउँथेँ ।

गल फेसको बयान गर्दागर्दै अरूणीलाई पो भुलेँछु !

कस्तो बेला थियो त्यो ? सम्झँदा पनि आङ् सिरिङ्ग हुन्छ झण्डै ३० वर्ष अघिको सञ्चार व्यवस्था ! आफ्नो राजधानी सम्पर्क गर्न टेलिफोन र टेलेक्सबाहेक केही सुबिधा थिएन । त्यसमाथि काठमाडौँसँग त सम्पर्क गर्नु भनेको फलामको चिउरा नै थियो ।

“आजको भाषण सात बजेको रेडियो नेपालमा सबै कुरा आउनुपर्छ, म अर्थोक केही जान्दिन !”

मानौँ रेडियो नेपाल मेरै बाउको सम्पत्ति ठानेर एकातिर हाकिम कुर्लिन्थे । म त्रस्त थिएँ, नयाँ नयाँ जागीर न ठहरियो ! मेरो निमित्त त्यतिबेला अरूणीले नै त्राण दिन सक्थी । त्यसैले गएँ उसको च्याम्बर खोज्दै !

“काठमाडौँ त सम्पर्कमा नै छैन । माथि गएर फोनमा टिपाउनोस् न ! नभए हेरौँ, केही उपाय लाग्छ कि ?”

मेरो अनुहारअगाडि हाकिमको अनुहार आउँथ्यो, अनि उनको कठोर व्यवहार ! एउटै कुरा कहिल्यै दोहो¥याउँदैनथे उनी !

“केही उपाय छैन ?”

“छ, तपाईंको टोकियोमा कुनै सम्पर्कसूत्र छ ?”

“छ, किन नहुनु ? हाम्रो दूतावास नै छ नि !”

त्यसपछि म दगुरेर आफ्नो कोठामा पुगेको थिएँ ठेगाना टिपेर ल्याउन । अरूणीले के गरी, कसरी गरी मलाई थाहा भएन । तर काठमाडौँमा रेडियो नेपालले भनेकै समयमा हाकिमको भाषण फुकेछ । “टेलेक्स टोकियोमा पास भयो, तपाईं गए हुन्छ” भनेर अरूणीले भन्नासाथ म उसँग बिदा भएर हिँडेको थिएँ ।

“धन्यवाद अरूणी, मेरो यत्रो समस्या यति सजिलैसित सुल्झाइदियौ ।” मैले शिष्टाचारका दुई शब्द यसरी व्यक्त गरेको थिएँ । अरूणीले टेलेक्स् पठाइवरी त्यसको कन्फर्मेसन समेत लिएकी सुनेर खुशी मात्र होइन, त्यो बेला मलाई एउटा ठूलो बोझ टाउकोबाट बिसाएको अनुभव भएको थियो । त्यसपछि म बाहिर वातावरण अलि बढ्तै आद्र्र छ भन्ने थाहा पाएरै पनि एकपल्ट “गल फेस” बाट समुद्रको गहिराई नाप्न हिँडेको थिएँ । ठीक आठ बजे आफ्नो हाकिमसँग खाना खान साथ दिनुपर्ने बाध्यता पनि त थियो !

फर्केर होटलको लबिमा पुग्दा त हाकिम त्यहीँ पो कुरेर बसेका !

“कता हो ? राम्रो गरेछौ, नेपालबाट फोन आएको थियो ।”

मैले मनमनै अरूणीलाई फेरी धन्यवाद दिएँ ।

“हिँड आज ‘रुफ टप्’ मा जाऊँ, अब काम सकेजस्तै भइहाल्यो !”

आफ्नो भाषण रेडियोले फुकेपछि हाकिम ज्यादै नै प्रसन्न थिए । उनका पनि हाकिमले सायद उनलाई त्यसै भनेका थिए ! म केही नबोली उनको पछि लागेको थिएँ ।

“कसरी पठायौ मेसेज् ?”

मैले सबै वेलिविस्तार लगाएँ आपूmलाई भन्दा बढी अरूणीलाई महत्त्व दिएँ, मानौँ अरूणीलाई उनको भाषणको विवरण सात बजेको रेडियो नेपालमा फुकाउने आतुरी छ ।

“त्यसो भए भोली त्यसलाई राम्रो रेस्टुराँमा डिनर खान लैजाउ ।” हाकिमले एउटा हरियो नोट पनि मेरो हातमा हालिदिएका थिए ।

हाकिमका कुरा सुनेर म असमञ्जसमा थिएँ । डिनरमा निम्त्याउन सक्ने हदसम्म पुगेको पनि थिइन म । अरूणीलाई निम्तो दिउँला, अनि उसले त्यस्तो निम्तोलाई कसरी लिने हो भन्ने चिन्तामा थिएँ म ! “नाईं भन्ने हो कि” भन्ने कुराले पनि त्रस्त थिएँ म ! तैपनि कोशिस गर्नै प¥यो भनेर अरूणीलाई भेट्नासाथ भनेको थिएँ— “हिजो तिमीले गरेको सहयोगका लागि धन्यवाद ! तिमीलाई फुर्सद भए आज साँझ कतै श्रीलङ्काली खाना खान जाऊँ न ?”

“पीरो हुन्छ, खान सक्छौ ?”

“हामी नेपाली पनि पीरो खान्छौँ । तिमीले छानेको कुनै रेस्टुराँमा जाऊँ न ।”

“लौ त यहाँबाट ६ बजे जाउँला त !” त्यति भनेर अरूणी आफ्नो काममा लागेकी थिई ।

म खुशीले फुलेको थिएँ ।

हाकिमलाई पनि सबै कुरा भनिदिएँ । अरूभन्दा पनि कमसेकम एउटा साँझ भए पनि उनको हकी र रवाफ हेर्नु नपरेकोले म दङ्ग थिएँ ।

अरूणीले मलाई पूर्व सहमतिअनुसार आफ्नो गाडीमा हालेर लगेकी थिई । अरूणीले कहाँ जाने कता जाने केही नभनेकीले मलाई ठूलो कौतूहलता थियो—

“कति टाढा छ ?”

“हिँड न, म छाडिदिउँला नि पछि ।”

“त्यसो भन्न खोजेको होइन ।” मैले के भनेँ उसले के बुझी ? बुझ्नै सकिन मैले ।

मलाई थाहै भएन, अरूणीले आधा घण्टा गल् रोडमा गाडी दगुराएपछि एउटा सानो कटेजमा लगेर रोकेकी थिई । ढकमक्क पूmलले ढाकिएको त्यो सानो कटेज साँच्चिकै मन छुने थियो ।

“लौ उत्र, पहिले मेरी हजुर आमालाई भेट ।”

मलाई छाँगाबाट खसेजस्तो भएको थियो । कहाँ रेस्टुराँमा गएर अरूणीसँग अरक्को

(स्थानीय रक्सी) सुरमा छिल्लिन पाइएला भनेको त हजुरआमाको पो फेला परियो ! सेतै फुलेकी, आधा अङ्ग्रेजी आधा सिंहालीमा बुढीले मलाई स्वागत गरेकी थिइन् । करीब ७० वर्षकी लाग्ने उज्याली ती बुढी अहिले पनि मोहनी लगाउलिन् जस्ती थिइन् ।

अरूणी भन्दै थिई— “तिम्रो घर त लुम्बिनी नजीक छ रे ?”

हामी आउनुअगाडि अरूणीले हजुरआमालाई मेरो इतिहास बताइसकेकी रहिछ ।

“नजीक त होइन हजुरआमा, म लुम्बिनी भएको देशको चाहिँ हुँ ।”

नरीवलको तेलमा बनाएको छ्यास्मिसे तरकारी र समुद्री माछा, मोटो न मोटो चामलको भात, माछाको सुकुटी र खुर्सानीमा काँचो नरीवल कुटेर बनाएको अचार जसलाई आजसम्म पनि म बारुद भन्ने गर्छु, यी सब परिकारलाई केराको पातमा पस्केर ख्वाइन् हजुरआमाले । अरूणीले एउटा सानो ग्लासमा ‘अरक्’ पनि ल्याएकी थिई मेरो लागि । हामी तीनै जना खान बस्यौँ, म एक्लै अरक्को आनन्द लिँदै थिएँ । उनीहरूले के पिए थाहै भएन ।

हजुरआमा त कुन बेला सुत्न गइन् कुन्नि म भने अरूणीले अलि साह्रै गरी घिच्याएपछि झसङ्ग भएको थिएँ । मलाई लाज र डरले मेरो रगतबाट एकैपल्ट अरक् सुकेको अनुभूति भएको थियो ।

“हजुरआमाले बुबालाई भनेर अरक् राख्नु भएको रे तिमीले अलि बढ्तै लिए जस्तो छ । होटल जान्छौ कि बस्छौ ?”

मैले अरूणीको रसीला आँखा, र उसको लाली चढेको अनुहारको चमक मात्र देखेँ ।

“जसो भन्छ्यौ”, मैले त्यसपछि यतिमात्र सुने ।

“हा...हा...हा...”

म त्यो रात कतिबेला होटल फर्कें, मलाई साँच्चिकै हेक्का नै थिएन । भोलिपल्ट बिहान उठ्न खोज्दा त टाउको नै धार्नीजत्रो भएको थियो, मुख पनि आफैँलाई गन्हाएको, पसीनाले गर्दा लथपथ लुगा, अनि एक गाग्री नै पिउँला जस्तो प्यास लागेको थियो । यत्तिकैमा टेलिफोनको घण्टीले झसङ्ग पारिदियो ।

“के चाला हो ? ब्रेकफास्ट पनि कोठामै ?”

हाकिमको गडगडाहट ! नहुनु पनि किन ? बिहानको दस पो बजिसकेको रहेछ । मेरो त बोली नै बन्द भयो ।

“लौ त ! तयार भएर यता आउ ।”

मलाई भने उठ्नै मन थिएन । अनि एक्कासी अरूणीको अनुहार सम्झेर डर लाग्यो— कतै अरक्को सुरमा केही तलमाथि पो भयो कि ? त्यो दिन छुट्टी भएकोले लञ्चपछि एउटा सामान्य अनौपचारिक कार्यक्रम मात्र थियो । त्यसैले म एक घण्टापछि गल फेस्को एक चक्कर मारेर हाकिमलाई भेट्न गएँ ।

दिउँसो लञ्च खाने बेला मैले हाकिमको हरियो नोट पनि फिर्ता गरिदिएँ । उनी जिल्ल परेर हेर्दै थिए ।

“खर्चै भएन, उसले घरमा लगेर खुवाइ ।” हाकिमका लागि धेरै वर्षपछि सम्म यो घटना मलाई जिस्काउने नमूनाको घटना भएको थियो ।

भोलिपल्ट होटल छाड्ने बेला म अरूणीलाई भेट्न उसको च्याम्बरभित्र छिरेको थिएँ— ऊ छुट्टीमा थिई । इच्छा भएर पनि भेट्न पाइएन न त्यो दिन न त त्यसपछि कहिल्यै ! कामको सिलसिलामा धेरैपल्ट कालोम्वो गएँ म, गल फेसको चक्कर, समुद्रको छालको गडगडाहट, परिस्कृत माग्नेको भीड, बाटोपारी नगरबधूहरूको लाम सबै नै त्यस्तै थिए, तर अरूणीको उपस्थिति थिएन न गल फेसमा न त ऊ काम गर्ने होटलमै !

भाद्र ७, २०६६

भीमनिधि तिवारी मार्ग, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।