14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बरिष्ठ निबन्धकार, समालोचक तथा सम्पादक राजेन्द्र सुवेदीसँग कुराकानी

वार्ता श्रीओम श्रेष्ठ "रोदन" April 23, 2010, 1:04 pm

नेपाली साहित्यमा मूलत निबन्धकार, समालोचक र सम्पादकका रूपमा सुपरिचित हुनुहुन्छ, राजेन्द्र सुवेदी । लामो समयदेखि प्राध्यापन क्षेत्रमा संलग्न प्राध्यापक सुवेदी हाल त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख हुनुहुन्छ ।

उहाँ मानव मूल्यको ह्रासोन्मुख स्थितिका विविध प्रसङ्गलाई कलात्मकरूपमा निबन्ध सिर्जना गर्नुहुन्छ । उहाँका खाली सिसी पुराना कागज, मेरो यात्रा आˆनै परिवेश, अब मेरो क्यासेट बन्द हुन्छ, पाइला आˆनै परिवेशमा टेकेर र म हुँ औंला नकाटिएको एकलव्य निबन्धसङ्ग्रह आधा दर्जनभन्दा बढी समालोचनासङ्ग्रह र सम्पादनका कृतिहरू प्रकाशित भइसकेका छन् ।

स्रष्टा, द्रष्टा राजेन्दं सुवेदीको जन्म वि.सं. २००२ सालमा पाँचथरको अमरापुरमा जन्मिनु भएको थियो ।

१) साहित्यमा कहिलेदेखि र कसरी आकषिर्त हुनुभएको थियो ?

मेरो साहित्यमा प्रवेश हुने कारण केही पारिवारिक वातावरण थियो र केही शैक्षिक पनि थियो । म दशबाह्र वर्षको उमेरमा पुग्दा अर्थात् २०१५,१६ सालतिर मेरा पिता पद्मप्रसाद सुवेदीले मलाई र अन्य पनि केही सदस्यहरूलाई ज्योतिष विषयको अध्यापन गर्नु हुन्थ्यो । त्यसरी अध्यापन कार्य गर्नु हुँदा ज्योतिषका सूत्रहरू र फलित तथा शुभसाइत ठहर्‍याउने काममा सहयोग पुर्‍याउने सूत्रहरू नेपाली भाषामा पद्यमा रचना गर्ने काम गर्ने र तिनै सूत्र पद्यहरूका आधारमा पठनपाठनका कार्य सम्पन्न गर्नुहुन्थ्यो । उहाँले बनाउनु भएका पद्यहरूकै प्रभावले मेरो प्रारम्भिक सम्वेदनामा सिर्जनात्मक चेतनाको बीजाधान भयो । क्रमशः मेरो कलम पनि सिर्जनाको दिशातिर मोडिएको कुरा मलाई अनुभव भएको छ । पछि म अध्ययनका क्रममा मेरा सानाबा डा० डिल्लीराम तिमसिनाको सम्पर्कमा पुगेपछि उहाँको सिर्जना कार्यबाट पनि मैले प्रेरणा पाएको अनुभव गरेको छु ।

२) तपाईँ स्रष्टा र समालोचक दुवै हुनुहुन्छ , फाइदा बेफाइदा के भएको ठान्नुहुन्छ ?

फाइदा बेफाइदाको कुरा नितान्त भिन्न हो भन्ने लाग्छ । अझ मलाई त के लाग्छ भने फाइदा भन्ने कुरा सापेक्षित रहन्छ । मजस्तो व्यक्तिलाई समालोचना र सिर्जना दुवै पक्षले फाइदा पुर्‍याएको छ । म सिर्जना गर्दा समालोचकीय दृष्टिलाई अगाडि लिने गर्दछु । मेरा रचनामा रहेका त्रुटिका पक्षहरूलाई समालोचनाका अँाखाले नियाल्ने गर्दछु । त्यसले मलाई आत्मसमीक्षातर्फ प्रवृत्त हुन प्रेरित गरेको छ । म आफ्ना रचनाको वैज्ञानिक ढङ्गल्े प्रतिरक्षा गर्न सक्तछु । अब ठानियोस्् दुवै तर्फबाट लाभान्वित भएको छु ।

३) समकालीन नेपाली समालोचनाको प्रवृत्ति कस्तो छ ?

समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ । एकातिर यसको प्रवृत्ति स्वरूप नितान्त यथास्थितिपरक रहेको छ । अनि अर्कातिर आधुनिक र नवीनतम प्रवृत्तिका नाममा पश्चिमबाट प्रवेश गरेका क्षणिक र अशास्वत मूल्यहरूको अन्धानुकरणबाट ग्रस्त बन्दै गएको अवस्थाको सिकार बन्दै गएको वर्तमान समयमा थोरै मात्र समालोचकहरू शास्वत र सन्तुलित समालोचना कार्यमा क्रियाशील रहेका छन् । थोरै मात्र सन्तुलित रहेका आजको अवस्थाका समालोचकहरू किनारातिर धकेलिँदै जाँदा असन्तुलित बन्दै गएका एकलकाँटे नयाँ सम्ालोचकहरूको असमालाचकीय चेतले नेपाली समालोचनालाई निकै घातक परिणाम निम्त्याउने खतरा पनि त्यत्तिकै खतरापूर्ण हुन सक्ने भविष्य निकै नजिक आइपुगेको देखापरेको छ ।

४) मूल्याङ्कन र आत्मसन्तुष्टिका दृष्टिले निबन्ध र समालोचना मध्ये कुन अगाडि भएको ठान्नुहुन्छ र कसरी ?

मूल्याङ्कन र आत्मसन्तुष्टिको आधारमा निबन्ध र समालोचना मध्ये यो चाहिँ पक्ष अगाडि छ भन्ने कुरा भनिमात्र दिनु त्यति महत्त्वपूर्ण होइन , यो त त्यत्तिकै पनि भनिदिन सकिन्छ । दुवै विधाहरू आफ्ना आफ्ना ठाउमा त्यत्तिकै गरिमायुक्त भूमिका निर्वाह गर्दछन् । भावना र सम्वेगका दृष्टिले निबन्ध अगाडि रहेको छ र शास्त्रीय महत्ताका दृष्टिले समालोचना पनि त्यत्तिकै अग्रगामी रहेको छ , अतः यी दुवै पक्षहरू एकैसाथ सहमार्गी र सहगामी बनेर गतिवान् बनेका छन् ।

५) अन्य विधाका तुलनामा आत्मपरक निबन्ध पछाडि परेको हो ? हो भने कसरी ?

साहित्यका अन्य विधाका सापेक्षतामा अन्य विधाका सापेक्षतामा आत्मपरक निबन्ध केही पछि अवश्य परेको छ । यसो हुनुको प्रमुख कारण के हो भने आत्मपरक लेखनका निम्ति आवश्यक पर्ने प्रतीकात्मकताबोधी शब्दहरूको चयन , ध्वनि र विम्बका सम्वाहक रूप , शब्द , शब्दावली , तिनका मर्मको समुचित पदविन्यास , व्यङ्ग्य र ध्वनिको समुचित संयोजन र कलागत सम्वेदनाको उपयोग गर्न सके आत्मपरक निबन्ध गतिवान् बन्न सक्ने कुरामा विश्वास गर्न सकिन्छ । यति मात्र होइन स्रष्टाले कलागत सम्वेदना , कल्पना र सम्वेदनापूर्ण भाषिक सिप तथा शिल्पयोजनामा पर्याप्त अधिकार प्राप्त गर्न सक्नु पर्ने हुन्छ — आत्मपरक सिर्जन कार्यमा शक्ति सञ्चय गर्न ।

६) प्रगतिवादी साहित्यको वर्तमान स्थिति कस्तो छ र प्रगतिवादी साहित्य ०४६ साल पूर्वझैँ आज पनि यस फाँटको साहित्यको कला पक्ष दुर्बल बनेर पार्टीमुखी बन्दै गएको हो ?

वर्तमान जीवनको यथार्थलाई अपेक्षित रूपमा आत्मसात् गरिरहेको साहित्य नै प्रगतिवादी साहित्य हो । तर कलाबाट निकै पर पुगिसकेको साहित्यलाई आज जतिवटा वामपार्टीहरू छन् त्यति नै प्रगतिवादी साहित्यका खेमा र तप्काहरू पनि क्रियाशील बनाइरहेका छन् । कला र साहित्यका सर्वाङ्गीण पक्षहरू दुर्बल बन्दै गएको कुरा यस किसिमका पक्षहरूबाट आजका प्रगतिवादी साहित्यको कलात्मक सम्वेदना क्षीण बन्दै गएको कुरा आजको साहित्यको सिर्जनाले पुष्टि गर्दै आएको छ ।

७) नेपाली साहित्यमा देखिएका वादहरूलाई कसरी लिनु भएको छ ?

जिउँदो साहित्यमा वाद , अभियान र आन्दोलनहरू हुने गर्दछन् । तिनलाई नकारात्मक रूपमा लिनुहुन्न भन्ने मेरो ठनाइ छ । आधारविहीन आन्दोलन र आधारयुक्त अन्दोलनहरू आफ्नै हिसाबले पनि हुने गर्दछन् । त्यस्ता आन्दोलनहरूलाई हामी स्वयंले व्यवस्थापन गर्न र उपयुक्त ढङ्गले अँगाल्न सक्नु पर्दछ । यसलाई मैले सहज ढङ्गले लिने गरेको छु

८) उत्तरआधुनिकता मान्ने नमान्ने दुवै थरी छन् , तपाईले कसरी लिनु भएको छ ?

उत्तरआधुनिकता साहित्यमा मात्र होइन , समाज र जीवनका अन्य सबै पक्षमा लक्ष्यित हुने प्रवृत्ति विशेष हो । म त यस समग्र सत्यलाई सापेक्ष मान्दछु । सत्यको सीमा व्यक्तिको ज्ञानको परिधिको वृत्तव्यापी मात्र हुने गर्दछ । यसले विषयगत बहुलता, विविधता र सामयिकताका बढी विश्वास र्गछ । यसलाई हामी कसैले मान्नाले र कसैले नमान्नाले कत्ति पनि फरक पर्दैन । यसलाई मैले युगको एउटा बहाउ हो भन्ने रूपमा लिने गरेको छु ।

९) तपाईँ लेखक , प्राध्यापक र प्रशासक हुनुभएको नाताले तुलनात्मक रूपमा कुन क्षेत्र सहज र कुन क्षेत्र असहज अनुभव गर्नुभएको छ ?

म जीविकोपार्जनका दृष्टिले प्राध्यापक हँु । लेखन कार्यका दृष्टिले सर्जक हुँ र यसै लेखन र प्राध्यापन कार्यसँग सम्बद्ध बनेर आएको अवस्थामा कतैतिर प्रशासक पनि बन्न पुगेको छु । तुलनात्मक दृष्टिले म सबै क्षेत्रमा असफल भएको बोध गर्दिन , तर मलाई लेखन सम्वेद्य र सहज लाग्दछ , प्राध्यापन कर्तव्य पालनको क्षेत्र लाग्दछ र प्रशासन यिनै जिम्मेदारीसँग जोडिएर प्रशासक पनि बन्न पुग्नु एउटा पूरक पक्ष हो जस्तो लाग्दछ । सहजता र असहजताको दृष्टिले मैले सोच्नै भ्याएको छैन ।

मधुपर्कबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।