19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हाइवेक्रसमा प्रश्नहरू

कविता मनोज बोगटी April 25, 2010, 1:35 pm

चिसो चुल्हाको खरानी बुङ्‌...ङ उड़ाएर निस्कन्छन्‌ प्रश्नहरू।

बॉंझो कोख जस्तो खेत चर्‌....र चर्किएर उभिन्छन्‌ प्रश्नहरू।

खड़ेरीहरूको जुलूसमाथिवर्षने

त्यो निरंकुस असीनाको विरूद्धले आयोजित जनसभामा

प्रश्नहरूले टोपी खोलेर पुस्छन्‌

निधारको पसीना।

पसीनाहरूले हजारौं 27 जुलाईको शीर्षकनिधारमा टॉंसेर हेर्छ

माटोको नक्सा

जहॉं सपनाहरूको मानचित्रको कलिलो आङलाई रगतपच्छे पारेको छ

मधिशे कागले ठुँगेर।

अहिले एक-एक नीलडामहरू फुटेर निस्किएको छ

पीपहरूको स्वर

जसले थर्किएको छ नलकुपभित्रका लामखुट्टेका अण्डाहरू।

प्रश्नहरूलाई सम्बोधन गर्ने प्रतीक्षा

अझ हातमा बोकेका छन्‌

हरेक सिकुवाका निलाम्मे बिहानहरू

बिहानहरू

जसलाई अँध्यारो कोठामा हातखुट्टा बॉंधेर लड़ाइएको थियो

जसले दिउँसोको घामको सपना

देखेको थियो गहिरो गर्भबाट।

अब बिहानहरू दिउँसोको चर्को घामलाई अङ्गालो मारेर नॉंच्न चाहन्छन्‌

आफ्नो नयॉं राज्यीय गीतमा

जुन गीतलाई साङ्ली लगाएर राखिएको थियो

कुनै कोठीको गुप्ती कोठामा।

प्रश्नहरू उर्लिन थालेका छन्‌

गाउँका बाटोहरूबाट बगेर

हाइवेहरूमा/विल्डिङका गल्ली-गल्लीमा।

उनीहरूको अनुहार जस्तो चिसो भूइँमा

पलेंटी मारेर बसेका छन्‌

रगतका मुट्ठीहरू

अनशनमा।

संविधानका खिँड्की फुटाउ नेहरु

इतिहासका सिँढ़ी काट्‌नेहरू अनि

भूगोलका घुरेनबारी मिच्नेहरूको

भद्दा भूँड़ी फुटाउन

हाइवेक्रस गरिसकेका छन्

‌कुर्कुच्चा र ठेला फुटेका अक्षरहरू

अब कसले रोक्ने

यी निरक्षर प्रश्नहरूको

बलियो आँतलाई?

अब कस्तरी उभिने हुन्‌

पसीना गन्हाउने प्रश्नहरू सामु ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।