14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

इराकका रातहरू

नियात्रा केदार संकेत April 26, 2010, 8:53 am

रातमा डिउटी पर्दा दिनमा सुत्नु स्वभाविकै हो । म यसलाई सहज रूपमा लिन्छु । लाटो कोसेराको जस्तो जिन्दगी भएपनि ।अनि स्वभाविकै ठान्दो हौं कि हामी सबैले साहेद । तैपनि रातमा सुत्नुको जस्तो मजा दिनमा कहाँबाट आओस् र ! ओछ्यानमा के पल्टेको मात्र थिएँ, ट्याङ–ट्याङ टेक्स मेसेज हो वा भ्वाइस मेसेजले हो सङ्केत दिन्छ मोबाइलमा । म­ अल्छी पाराले आँखाको ढकनी उघार्छु । मोबाइलको भ्वाइस मेसेज रहेछ । मेसेज सुनेर एकछिन किंकर्तव्यविमूढ हुन्छु । दिनरात गृहयुद्धले क्षतविक्षत भएको सहरतिर जानुपर्दा खिन्न हुन्छु म । त्यसो त मेरो यो बाध्यता थियो अनि एउटा नयाँ यात्राको अर्को पाटो पनि ।

मनमनै साधुवाद दिएँ ती मित्रलाई जसले मप्रति विश्वास का साथ सबै कागजात तम्तयार पारिदिनु भएको थियो ।

म लगायत अरू साथीहरू पनि थिए उतैतिर जाने । उनीहरू केन्टको आसफोर्ड र डोभरबाट आएका थिए । म भने ह्याम्पसायर भन्ने काउन्टीबाट । बेलायतमा जम्मा ४८ वटा काउन्टीहरू छन् ।

रेलयात्रा गर्नु भन्दा ट्याक्सीबाट नै ब्राइज नर्टनको सैनिक बिमानस्थल सम्म जाने निधो गरेँ । आवश्यक सरसामानहरूको एउटा सुटकेस अनि थोत्रे ल्यापटपको झोला काँधमा भिरें । बाहिर घरअगाडि ट्याक्सी लिएर लोक दाइ चुरोटको धुवाँसँगै जीवन साटिरहनु भएको थियो ।

जिन्दगीको हरेक बिदाइमा मन कुँडिन्छ सबैको । आज मेरो पनि घरबाट बिदाई हुँदा एक्कासि मन भक्कानिएर आयो । दुवै छोरीलाई अँगालोमा बाँधे । सम्भव थियो त त्यो चाहन्नथेँ म सधँै यसरी नै अँगालोमा बाँधिरहूँ, बसिरहूँ । तर यस्ता आत्मतृप्तिका समयका खण्डहरू खहरेकै भेल भइदिए ।

यो नदेखिएको भविष्यको परिवेशले क्वाप्लक्कै निल्दै छ म जस्ताको जीवनपद्धति । अन्ततोगत्वा, ब्ल्याकवाटर रिडिङ हुँदै ट्याक्सी चालक लोक दाइ र म बत्तिन थाल्यौं अक्सफोर्डसायरतिर दर्के पानीको दर्काइसँगै । भनाइ नै छ बेलायतमा तीन डब्लुहरूको भर नपर्नु रेः ‘वेदर, वुमन र वर्कका ।’

बाटोमा देखिने प्राकृृतिक दृश्यहरूले वसन्त निम्त्याउँदै थिए । पालुवाका मुजुराहरू उकुसमुकुसिंदै हरियालीमा परिणत हुने तरखरमा देखिन्थे । सडक बाटोको छेउबाट देखिने नजिकको घरहरूका बगंैचाहरूमा डेफोडिल र आरुबखडाका पूmलहरूले मेरै यात्राको स्वागत गरेजस्तै लाग्थ्यो मलाई ।

एक घण्टापश्चात् हामी ब्राइज नर्टन बिमानस्थल पुग्छौं, एयरपोर्ट पुग्दा साथीहरू नन्द, जित, खड्क र देवेन्द्रजी पनि पुगिसकेका थिए ब्राइजनर्टन गार्ड रुमको कारपार्कमा ।

पासपोर्ट र कम्पनी कार्ड देखाएपछि चेकिङ कक्षसम्म क्याम्पको बसले पु¥यायो हामीलाई भित्र एयरपोर्टको होटलसम्म । भोलि पल्ट बिहानैको उडान भएकाले आजै चेकिङ गर्ने खबर पाइयो । चेकिङ गरेपश्चात् बोर्डिङ पास र कोठाको चाबी पाएपछि बेलुकीको आठ बजे ट्रान्जिटको भान्सा घरतिर लाग्यौं । खाना खाने ठाउँमा ब्रिटिस आर्मीमा कार्यरत केही गोर्खाली भाइहरूसँग पनि भेट्ने अवसर पाइयो । उनीहरू कुवेतमा छ महिनाका लागि आफ्नो टुर पूरा गर्न जाँदै गरेका रहेछन् । सबैजना मरुभूूमिमा लगाउने फुस्रा खालका कम्ब््याटमा थिए । शिरमा देब्रेपट्टि ढलक्क ढल्काएर लगाएका ब्यारेट क्याप । छोटो कपाल । मिजासिलो बोली । छोटा कदका खिरिला चिम्से आँखा । नुनखोर्सानी चटक्क लागेको तरकारी जस्तै देखिन्थे । गोर्खालीका छोराहरू त परे आत्मभाव र इमानदारीलाई खोकिलामा च्यापेर कर्तव्यको शिखर चढ्दै थिए चुम्न ।

धेरै दिनपश्चात्; घरदेश छोडेर परदेश, परदेश पनि छोडेर विदेश लाग्नुको पीडालाई केही हदसम्म क्याम्पकै भट्टीमा गएर एक दुई केन गहँुको सोमरस तानेर बिर्सने झिनो निर्णय ग¥यौं । रात छिप्पिदै थियो अनि लटपटिँदै थिए हाम्रा जिब्राहरू । बेलायतको बसाइले कचमचिएको काँचो मकैको च्याँख्लाझैँ ऋणमोचित निसास्सिएका हामी भूपू बेलायती सैनिकका पाँचभाइ कुनबेला गएर बिस्तारामा पल्टिइयौं धिरमिराउँदो सम्झना मात्र छ त्यो रातको हामीहरुमा ।

बिहान माइकमा बोलाएको आवाज एक्कासि कानमा बज्रिंदा पो धोती न टोपी हुँदै बाहिर पटाङ्गिनीमा निस्कियौं । हतारहतार झोली तुम्बी बोकेर करिब ७ बजेतिर बसमा विमानस्थलतिर प्रस्थान ग¥यौं ।

बडिआर्मोर (छातीमा लगाउने आधुनिक ढाल) र हेलमेट (फौजीले लगाउने नीलो फलामे टोपी) को झोला हातमा झुन्ड्याउंदै ओमनी एयर इन्टरनेसनल नामक जहाजतर्फ लाग्यौं । ब्राइज नर्टन बिमानस्थल बाट करिब ९ बजेतिर कुबेतका लागि उड्यौं । जहाजमा प्रायः आर्मीका जवानहरू थिए । घर छोडेर जानुपरेकाले होला सबैको अनुहारमा फिक्कापन छाएको देखिन्थ्यो । करिब सवा छ घन्टापश्चात् कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने खबर पाउँछौं । तैपनि किन हो कुन्नि तीन चारपटकसम्म आकाशमा नै फन्को मार्छ विमानले । हामी मुखामख हेर्छाैं । जमिन आकाशबाट एकदमै नजिक भएको कारणले गर्दा कुवेतको धरातल र सहरहरू प्रत्यक्ष रूपमा घुम्न नपाए पनि आकाशबाटै केही हदसम्म अवलोकन गरियो । चट्ट–चट्ट सलाईका काँटी जस्ता मिलेका समुद्र नजिकका ठुल्ठूला महलहरू, चौडा सडकहरू र सडकका दायाँबायाँ रोपिएका हरिया रूखहरूले सजिसजाउ देखिन्थ्यो कुवेत । सम्झें मेरो देश नेपाल अनि राष्ट्रका बारेमा भौतिक पूर्वाधारका विकासका भाषण छाँट्ने विद्वान्हरूको जमातलाई । जसको भाषणैपिच्छे चमत्कारी शब्द खिपेर ओठमा नौनीघीउ घस्दै खोक्रा आश्वासनमा मध्यदिउँसमै जनतालाई सपना देखाउँछन । हसाउँछन् । अनि तपाईंहरू पनि हाँस्नुहुन्छ, खितितिति–खितितिती । म त झन् हाँस्ने भइहालें त्यसै पनि ।

एक घण्टासम्म हामी कुवेतको विमानस्थमा नै बस्नुप¥यो किनकि हाम्रो सामानहरू अर्को हवाइजहाज सी वानथर्टी (सैनिक तथा मालसामान ओसार्ने बेलायतको फांैजी जहाज) मा सारिने भयो । रात परिसकेको थियो । फाट्टफुट्ट नेपालीका अनुहार झुल्किन थाले । कोही सामानका गड्डीहरू घिसार्दै थिए त कोही टसाक–टुसुक बसेका । जमर्काे थियो छोटो बोल्ने । आफ्नो देशका दाजुभाइसँग भलाकुसारी गर्न कसलाई पो मन लाग्दैन र ? दिनभरमा कति कमाउँदा हुन् ? वर्षमा छुट्टी कति पाउँदा हुन् ? आदि इत्यादि प्रश्नका गुजुल्टाहरू मनभित्रै गुटमुट्याउँदै म भोक टार्न कफी पसलतिर लम्कन्छु ।

केही यात्रुहरू कुवेतमा नै उत्रिए । मधुरा बत्तीहरूले कुवेत सहर झिलिमिलिन लागेको थियो । जित भाइ चुरोटको सर्काे तान्दै थिए । हामी भने फेरि सी वानथर्टीमा चढेर इराकको यात्रा छोट्याउनतर्फ लाग्यौं ।

बडिआर्माेर र हेलमेट अवतरण हुनुभन्दा पन्ध्र मिनेटअगाडि नै लगायौ । जहाजका सबै बत्तीहरू झ्याप्प निभाइयो अनि उडेको उँचाइ­बाट एक्कासि जमिनको सतहतिर ह्वात्तै झर्न थाल्यो । आङ सिरिङ्ग भयो । मेरो छेवैमा बसेका बीबीसीका क्यामेराम्यानले क्यामेरा पनि उछिट्याए । अर्का उनका साथीले झ¥याम झुरुम हुनबाट बाट भने जोगाउन सम्म भने भ्याए ।

पछि पो थाहा भयो, बत्ती निभाउनको कारण रहेछ इराकी आतंकवादीले जमिनबाट नदेखोस् र जमिनबाट प्रक्षेपण गरिने आरपिजी (रकेट प्रिपेल ग्रिनेड) प्रहारबाट बच्नुको खातिर रहेछ ।

इराकको बाज्रा अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टा पच्चीस मिनेटमा उत्रियौं । एउटा सेतो फर्ममा आफ्नो डिटेल्स भरेर हामी एउटा सेतोबसमा चढ्छौं । बसमा नीलो पर्दा लगाइएको थियो । अन्धकार थियो बसभित्र । एकजना ब्रिटेनका नाइकबाट छोटो ब्रिफिङ पाउँछौं । बसमा जाँदा कथम् काल कतैबाट हमला आएमा त्यही नै निहुरेर उसको अर्डर पर्खिएर बस्नु रे । मनमा चिसो पस्यो । सोमरसको चिसो र मनभित्र यतिखेर उम्रने चिसो अर्कै हुँदो रहेछ । सम्झें एकचोटि फेरि, बेकारमा के दुःख बेसाएको ? पैसा जाबोको लागि यस्तो कष्ट ? के दिनमा टोनी ब्लेयरले गोर्खालीलाई बेलायतमा ओसारेर धर्म गरे भनेको त भन् पाप पो गरे जस्तो लाग्यो मलाई ।

बेलायतमा बसेपछि भाडामा त बस्नै प¥यो । भाडाको पैसा फर्किने कुरा आएन भविष्यमा । अनि त किन्नै प¥यो यहाँका महँगा कुच्रुक्क परेका गाईगोठ जस्ता घर । करिब शतप्रतिशत नेपालीहरूले घर भने किस्तामा नै किनेका छन् । हुनेले मजैले घटाएका छन् मोरगेज । हुन पनि कत्तिले त थोपरेका छन् ब्यालेन्स पचास प्रतिशतको इर्दागिर्दा । तर म जस्ता कैयांै मित्रहरू पनि छन् जो कमाएको धन सर्वस्व किस्ता चुक्ता गर्दैमा ठिक्क हुने ।

बसको यात्रा निक्कै टाढा होला भनेको त नजिकै रहेछ । पाँच मिनेटपछि हामी हाम्रो गन्तव्य स्थानमा पुग्छौं ।

अन्धकार साँझले स्वागत गर्छ हामीलाई । आकाशमा एकचोक्टा बादल देख्या हैन । जमिनबाट आउने बाफले शरीर तातिन थाले । एकजना बेलायतका सिपाहीले फेरि बाटो देखाउन थाल्यो । नभन्दै हामी एउटा फुस्रो पालाको ठूलो घ्याङ्घरतर्फ छिर्छाैं । यहाँ पनि एउटा फर्म भर्नुपर्दाे रहेछ । सोधपुछ शाखा रहेछ ।

कहाँ जाने ?

कुन कम्पनीमा ?

के काम ?

कतिसम्म ?

कुन हो इन्सुरेन्स कम्पनी ?

बाफरे बाफ प्रश्नै प्रश्नको ओइरो । फर्म भरेर त्यहाँका एकजना हाकिमलाई बुझाएपछि मात्र हामी हाम्रो सामान लिन प्यालेट (काठले बनेको, सामान राखेर उचाल्न सजिलोको खातिर) भएकोतिर लाग्छौं ।

‘ओहो कस्तो गर्मी यहाँ त’ खड्क दाइले खोक्न थाल्नुभो ।

‘अब भइने भएछ खोले’ अर्का मित्र नन्दले थपे । हुन पनि सामानहरू प्यालेटमा चाङ भएर खाँदिएको छ । चिन्नै गाह्रो । देवेन्द्र दाइले त पाउनु भयो, माथि नै परेछ क्यार उहाँको त । हामी चारजनाको त भेटिँदैन त खै ? मै बोले यो बखत । देखिँदैन कतै पनि । क्या फसादमा परियो । निधारमा चिटचिट पसिना उम्रन थाले हामी चारैजनाको । जित भाइले तान्न थाले धतुरो अनि निकाले धुवाँ फुसुसुसु नाकका प्वालबाट । अम्मल भनेको अम्मलै रहेछ । न मौसमको पर्वाह, न समयको ? समय पायो कित लाइटर फ्याँट–फ्याँट ।

कुखुराले चारो खोस्रेको झैं खोस्रदा खोस्रदा पिंधमा बल्ल भेट्टाइयो हाम्रा सामान । हातमा, काँधमा, पिठ्युँमा सामान बोकेर बाहिर निस्कन्छौं हामी ।

हामीलाई लिन दाइ शाही (शैलेन्द्र नाल्बो) र उहाँका टिम युवराज र याम भाइहरू आएका थिए बाज्रा विमानस्थलमा । बाटोमा जाँदाजाँदै यहाँको विभिन्न वातावरणको बारेमा जानकारी पाउछांै शाही दाइबाट । बम आउँदा कसरी लुक्ने ? कति मिनेटसम्म ट्रेन्चमा बस्ने, आदी ईत्यादी वकबासहरु ।

मान्छेको जातलाई लाग्ने भोक र रोग नै त रै’छ । सायद बिरलै पाइएलान्, मलाई कुनै रोगले छोएको छैन र भोक लागेको छैन भन्नेहरू । जिन्दगीमा को होला त्यो व्यक्ति जसले दबाई नै खाको छैन भन्ने । भारतका ऋषिमुनीहरुले पनि दबाइ खाएका कुरा ओकल्छन् बेलाबेलामा । ता कि उनीले नै पछि दबाइ खानुहुन्न व्यायामको माध्यमबाट शरीरलाई निरोगी राख्न सकिन्छ भनेर विश्वभर प्रचार गर्दै छन् ।

केही बेरमै भुँडी भित्रका सयपत्री रमाउन थाले । खानापछि हामी क्याम्पको हाताभित्र छिरेर अरू कुरा गर्दै कोठामा बस्दै थियौं त्यत्तिकैमा साइरन बज्यो । गोराहरू चिच्याउन थाले ‘गेट–डाउन गेट–डाउन’ भन्दै । हामी पनि कोठामा नै छाती जोतेर लम्पसार प¥यौं । केही आकाशमा नै पड्किए केही नजिकैको हातातिर खसे । डम का डम ।

‘स्वागत गरेको यो ति’मेरुलाई’ यो साइरन बजेन र दिनमा एकदुईवटा बम पड्केन भने शून्य लाग्छ हामीलाई त, कुन्ताका गफाडी झन् हामी माथी गफ छाँट्न थाले साही दाइले ।

मुटुमा ढ्याङ्ग्रो बज्न थाल्यो । बेकारमा छँदाखाँदाको घुरेनको जागिर छोडेर ठूलो भाग खान आ’को हैन ? खाइस्, मजाले खाने भइस् । धित मर्ने गरी खा ।

सराप्न थाले मनमनै आफैंले आफैंलाई ।

भोलिपल्ट बाज्रा क्याम्पको हाताभित्र रहेका आर्मी क्याम्पदेखि लिएर हाम्रा काम र कर्तव्यहरूको बारेमा जानकारी गराइयो ।

चरक्क चर्किएको घाम लागेको छ ।

बिभिन्न मुलुकका काला, गोरा, लंगडा सबै सबै अटाएको रहेछ यो क्यम्पमा ।

क्याम्प घुम्न मिनीबसमा एक घण्टाभन्दा बढी लाग्यो । क्याम्प घुुम्दै जाँदा सद्दामको भत्किएको सालिक नेर पुग्ने मौका पनि पाइयो । मात्र टेलिभिजनमा भत्काइएको देखिएको थियो । आज प्रत्यक्ष रूपमा आफ्नै आँखाले देख्न पाउँदा सपना जस्तो लाग्यो मलाई । जिन्दगीमा यसरी यो ठाउँ­­­मा आइन्छ भन्ने सोचेको पनि थिइनँ मैले । यात्रा न हो जीवन, कहाँ पुगिदो रहेछ, रहेछ । कहिले बैरीको पोथ्रोमा, कहिले कल्पबृक्षको निर्छलो धाममा ।

यहाँ काम गर्दा इराकी इन्जिनियरदेखि कुल्ली कामदारहरूसँग घुलमिलिने मौका पाइयो । मैले उनीहरूलाई गफैगफमा सद्दाम हुसेनको कार्यनीतिदेखि लिएर जनताप्रतिको उदारताको बारेमा सोधे र असी प्रतिशतभन्दा बढीले सद्दाम इराकी जनताका लागि उदारनीति लिएर हिँड्ने व्यक्ति भनेर जवाफ दिन्थे । उनी राष्ट्रपति हुँदा इराकी जनताका लागि सहुलियत स्वरुप प्रत्येक महिना जियाको दुई लिटर खानेतेल, एक किलो चिनी, एक बोरा चामल, फ्री टेलिफोन सेवा, बिजुलीबत्ती र खानेपानी जस्ता जनतालाई सित्तैमा उपलब्ध गराएका थिए रे । तर आज इराकी जनताले न सित्तैमा चामल पाएका छन् न त एक थोपा तेल नै ।

इन्जिनियर इसाम थप्तै थिए, हो उनीले कुर्दिसहरूलाई दुःख दिए र विषाक्त रसायन छरेर निर्दाेष जनतालाई मारे, त्यो नै सबैभन्दा सद्दामको गल्ती थियो र पतनको बाटो पनि ।

धेरै दिन भएको थियो रकेट नआएको । आज एक्कासि आइडिएफ अर्थात् (इन्डाइरेक्ट मिसाइल) आएको साइरन बज्यो । एकदम अत्यासलाग्दो ध्वनि । म चिप्लेकिरा जसरी भुइँमा टाँसिन्छु । तीन मिनेटसम्म यसरी बस्नुपर्छ यहाँको नियममा त्यसपछि मात्र टे«न्चमा गएर माइकमा अल क्लियर नभनुन्जेलसम्म पर्खिनुपर्छ । त्यतिखेर अरू राष्ट्रहरू भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका साथीहरू पनि तँछाडमछाड गर्दै आएका थिए ट्रेन्चमा आफ्नो ज्यान जोगाउन । साइरन झन्डै तीन मिनेटसम्म बज्यो । बम पड्कि

एका आवाजहरु सुनिन्छ । पाँच मिनेटपछि साइरनबाट नै अल क्लिएर भन्ने सुन्छांै । हामी त्यसपछि आ–आफ्नो कोठातर्फ लाग्यौं । त्यो हामी गएपछिको दोस्रो रकेट प्रहार थियो । पुनः भोलिपल्ट दुईचोटि हाम्रैै हाताभित्र बम खस्यो । कसैलाई पनि चोटपटक भने लागेन ।

यी बम खसाउनेहरूमा यहाँका सिया उग्रवादीहरूको ठूलो हात भएको रहेछ भने बम पैठारी गर्ने गराउनेमा छिमेकी राष्ट्र इरानको दरो हात भएको यहाँका स्थानीय बासिन्दालगायत बेलायतका गुप्तचर विभागबाट सुन्न पाइयो ।

आज धेरै दिन भयो साइरनको कर्णप्रिय धुन सुन्न नपाएको । मेरो कार्य अवधिमा निकै हताहत भए यहाँ भन्न असमर्थ छु, तर नेपालीहरू भने सबै स–कुशलै छन् आजको दिनसम्म । सदा कुशल भइरहून् भन्ने कामना गरौं ।

हामी यसरी बाज्रा सहरमा अमेरिका र बेलायतका मित्रहरूसँग काम गरेर तीन महिनाको अविस्मरणीय क्षण बिताएर बगदादतर्फ लाग्र्छौ । खैः, अरु कति दिनसम्म चिप्लेकिरा बन्नुपर्ने हो, हेर्न बाँकी नै छ यो जिन्दगीमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।