'प्रदीप नेपाल' अर्थात् सञ्जय थापा आफैंमा एउटा घनीभूत अस्तित्व, ओजपूर्ण विगत र वर्तमान बोकेको नाम हो। उनी न्यायिक, निर्भीक र सत्यको पक्षमा लागेर कहिल्यै कसैसँग नडग्ने लेखक र राजनीतिज्ञ हुन्। अधिकांशतः लेखन क्षेत्रमा लाग्नेहरू राजनीतिमा अभिरुचि नराख्ने, राजनीतिक सुझबुझ नहुने र राजनीतिमा लाग्नेहरू पनि साहित्य भनेको 'कानो गोरुलाई औंसी न पूर्णेहरू' हुन्छन्। मूलतः यी दुवै प्रकृति र प्रवृत्ति एक किसिमको मानसिक अपाङ्गता नै हो। राजनीतिमा लाग्नेले साहित्यको मर्म र साहित्यमा लाग्नेले राजनीतिको धर्म र गहिराइ बुझ्न सके मात्र त्यस्ता व्यक्तित्वहरूले जीवन र जगत्को वास्तविकतालाई छुन, छाम्न र बोध गर्न सक्ने दर्बिलो क्षमता विकसित हुने धरातलीय यथार्थता हो। साहित्यकार एवम् राजनीतिज्ञ प्रदीप नेपाल यी दुवै क्षेत्रमा गर्बिलो व्यक्तित्व हुन्। त्यसैले उनको कथनी र लेखनीमा पुष्ट दायित्व, जिम्मेवारी र कर्तव्यबोध भएको पाइन्छ।
सतही र आडम्बरयुक्त प्रवृत्तिलाई स्थान दिएका छैनन् उनले। जे भन्नुपर्ने र जसलाई बुझाउन चाहेको हो त्यो वर्गलाई उनी बेजो पुर्याबएर भन्न खप्पीस छन्। दनक दिनुपर्नेलाई दनक र सुझाव दिएर हुनेलाई खुलस्त र प्रस्ट सुझाव दिन पनि उनी कहिल्यै पछाडि हट्दैनन्। साहित्यकार प्रदीप नेपालका सिर्जनाहरू पढेपछि एक किसिमको प्रस्टता र अवलम्बनीय मार्गदर्शन पाउँछन् पाठकहरूले, केवल लेख्नका लागि लेखिएका र खालीकागज भर्नका लागि मात्र छापिएका हुँदैनन् उनका रचनाहरू। उनका सिर्जनाहरूमा समय, समाज र परिस्थितिजन्य यथार्थतालाई परीक्षाको तराजुमा कसी लगाइएका छन्।
आख्यान विधाका (१) खुइते कडरिया (२) नओइलाउने फूल (३) पार्टीकी आमा (४) पूर्वतिर (५) बुङ्लाका साँझहरू (६) देउमाईको किनारमा (७) मुक्ति (८) नन्दिता (९) आकाशगंगाको तीरैतीर (१०) २१औं शताब्दीकी सुम्निमा (१०) दुर्गा हजुरमाको भूत (११) अनौठो पे्रमकथा (१३) स्वप्निल सहरसमेत तेह्रवठा उपन्यास नेपाली साहित्य भण्डारले प्राप्त गरिसकेको छ। त्यस्तै कथातर्फ (१) परोकार यात्रा (२) धरहराको सहर (३) कथाभित्रका नारी अनुहार (४) सुर्जेमान कथा शृङ्खला (तीन भागमा) (५) बाघमारेको लालसलाम (६) बेचिएका चेलीहरू र (७) फेवाको सुस्केरा (प्रकाशसोन्मुख) रहेको देखिन्छ।
त्यस्तै साहित्यकार प्रदीप नेपालका नियात्रासङ्ग्रह पनि थुपै्र प्रकाशित भइसकेका छन्। (१) मुक्त आकाशको खोजी (चार भागमा) (२) अमेरिकी बास–मातृभूमिको सम्झना (३) बाल्यकालीन संस्मरण (४) नेपालको जङ्गल (५) इलामको तारा (६) परदेशमा देश (प्रकाशोन्मुख) समेत आधा दर्जन नियात्रासङ्ग्रहद्वारा भाषा–साहित्यलाई अविष्मरणीय गुन र देन दिइसकेका छन्। साहित्यकार प्रदीप नेपाल अविश्रान्त सर्जक हुन्। राष्ट्र र समाजमा भएका व्यापक विकृति र विसङ्गतिहरूका प्रति उनले न्यायिक र निर्भीक वाण प्रहार गरेका छन्। राजनीतिका सम्बन्धमा पनि उनको स्पष्ट अवधारणा छ। किनकि 'मामाकी घोडी मेरी हिही' गरेर उनी यो धरालतमा आएका होइनन्। आफ्नै लगानी, साङ्गठनिक कार्यकुशलता, देशको वास्तविक वस्तुस्थिति, सामाजिक चालचलन, भाषा, साहित्य, कला, संस्कृति, नेपालमा बसोवास गर्ने विभिन्न जातजातिहरूकाबीचको सम्बन्धलगायतका भू–धरातलीय अन्तरसम्बन्धका बारेमा उनले नजिकबाट बोध गरेका छन्। त्यसैले गर्दा उनका सिर्जनाहरूमा पनि बौद्धिक प्रखरता र परिपक्वपन छ।
'पाइला छाडेर अस्ताएको घाम' साहित्यकार नेपालको हालसालै प्रकाशित भएको कृति हो। यस कृतिले पनि पाठकहरूलाई एक किसिमको मोहनीमुग्ध र चुम्बकीय स्वाद छाडेको छ। सत्यलाई जस्ताको तस्तै बुझ्ने आँट विरलै साहित्य श्रष्टामा हुन्छ। त्यही गुण प्रदीप नेपालमा प्रचुर र दर्बिलो भएर हुर्र्किएको प्रस्ट अनुभूत गर्न सकिन्छ। उनको अर्को पाटो राजनीति पनि हो र आफ्नो धरातलका उनी कुशल सङ्गठक हुन्। जहाँ गएर जे बने पनि उनले आफ्नो जीवनको मूल अंश साहित्यलाई नै माने र सिर्जनामै रमाइरहे। जसको परिणाम उनको लेखनीमा एक किसिमको प्रवाह र प्रभावकारीपन प्रखर भएको छ।
उनी सर्वत्र जडताको विरुद्धमा छन्, निरन्तरता, गतिमयता र उदारताको पक्षमा छन्। यसमा लेखक स्पष्ट छन्, माओवादी भाइहरू सिद्धान्तको जति चर्को बहस गर्छन्, त्यति नै नराम्ररी तिनीहरू अमार्क्सवादी भइरहेको हुन्छन्। मार्क्सवाद जीवनको दर्शन हो। जीवनको दर्शन भन्नेबित्तिकै त्यो मृत्युविरोध दर्शन हो। मानिसलाई मारेर विचार मर्दैन, संहारले क्रान्ति पनि निम्त्याउँदैन। परिवर्तनका लागि जनताका लागि जनताको परिचालनको अर्को कुनै विकल्प हुँदैन। चाहे बन्दुके लडाइँ होस्, चाहे शान्तिपूर्ण जनआन्दोलन, दुवै क्षेत्रमा जनताको व्यापक परिचालन नै अनिवार्य हुन्छ। जनता संलग्न नभएको माओवादी युद्धलाई मार्क्सवादी इतिहासमा कतै 'जनयुद्ध' भनिएको छैन। साहित्यकार एवम् राजनीतिज्ञ प्रदीप नेपाललाई विश्वास छ– अतीतका क्रियाकलाप, त्याग, सङ्घर्ष र निष्ठामा आधारित थिए, आजका बढी अराजक र उद्दण्ड छन्। राजनीतिबाट अर्थिइँदै गएर साहित्यमा पुगेको वादलाई सम्झेर उनी युगजीवी कथाको नाम रमेश विकलमा लेख्छन्– यो प्रगतिशीलता अप्रगतिशीलताले पनि एकपल्ट बेस्सरी खेद्यो रमेश विकललाई। साहित्यको सन्दर्भमा यो प्रगति र अगति बेकारको कुरा हो भन्ने ठहर हो। त्यसैले यो बहस पनि बेकारको कुरा थियो। नेपाली पाठकले स्वीकार्नुपर्छ– साहित्यले वर्गका बारेमा लेख्छ, तर 'साहित्यको कुनै वर्ग हुँदैन।'
यस्ता सूक्तिमय वाक्य र प्रभावशाली विचार प्रवाह भएका छन् 'पाइला छाडेर अस्ताएको घाम'भित्र। यो कृतिको पठनले असङ्ख्य चेतनाका बन्द ढोकाहरूलाई खोलिदिएका छन् लेखकले। विशेषगरी भोलिका युग हाँक्ने आजका सम्पूर्ण युवाले एकपल्ट अनिवार्य रूपमा पढ्नैपर्ने कृति हो यो।
यस्तो उपयोगी कृति प्रकाशनमा ल्याएर रत्न पुस्तक भण्डारले आफन्ो प्रकाशनलाई गुणस्तरको सिँढी चढाएको छ। पुस्तक प्रकाशन भनेको माटोपुला होइन। यसले मान्छेको मनमस्तिष्कमा हलचल र तरङ्ग मात्र नभएर समाज रूपान्तरणमा समेत महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। आफ्नो व्यावसायिक दायित्व र धर्मलाई पनि निर्वाह गर्नुपर्ने भएकाले पनि रत्न पुस्तक भण्डारका यस्ता उच्चस्तरीय कृतिहरूले राष्ट्र र समाजलाई घनीभूत योगदान र सेवा गर्दै आइरहेको छ। 'पाइला छाडेर अस्ताएको घाम'का लागि रत्न पुस्तक भण्डारलाई साधुवाद भन्नैपर्छ।
'उत्तरी भारतीयजनमा नेपालीप्रति पे्रम छ, नेपाललाई उनीहरू पुन्यभूमि ठान्छन् र यो दर्शनीय भूमिप्रति उनीहरूको समेत ठूलो आस्था छ। हरेक धार्मिक भारतीयको मनमा बराहक्षेत्रको बास हुन्छ। देवीदेवताको दर्शनमा भारतवर्ष जाने यात्रीलाई भारतीय भक्तले भन्दछन्– सब से वडा है बराहभक्त तिमीहरू मूल देवताको दर्शन लत्याएर किन प्रतिकृतिको पछाडि दौडिरहेका छौ?' सृष्टिको शिर नेपालप्रति विश्वका जनमानसको यति ठूलो सम्मान पाएको छ। तर, हामी नेपाली स्वयम् आफ्नो देशको गुणवत्ता र महत्त्वप्रति बेखबर छौँ। आफ्नो राष्ट्रलाई सम्मान, इज्जत र प्रतिष्ठापूर्ण बनाउने दायित्व र जिम्मेवारी सम्पूर्ण नागरिकहरूको समेत हो भन्ने कर्तव्यबोध यो कृतिले सबैलाई गराएको छ।
साहित्यकार प्रदीप नेपाल जे बोल्छन् त्यही गर्ने र जे गर्छन् त्यही लेख्न रुचाउने स्पष्टवादी स्रष्टा भएकाले पनि उनका कृतिमा बेग्लै किसिमको स्वाभाविकता छचल्किएको छ। देशको ऐतिहासिक झलक, प्रकृति–पर्यावरण, ऐतिहासिक गौरव, राजनीतिक प्रयास र बेइमानी, सामाजिक मनोविश्लेषणलगायतका बहुविध ज्ञान सम्पे्रषण गर्ने पठनीय कृति हो 'पाइला छाडेर अस्ताएको घाम'। यसलाई प्रदीप नेपालको प्रदीप्त पौरख मान्न सकिन्छ।