19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्रो सपना र म

कविता मणिराज सिंह April 29, 2010, 1:55 pm

आलुबारीमा गोडेको

तिम्रो सपना

र रातको अन्धकारमा भौतारिएको

तिम्रो यौवनको लाली

बाँसको झ्याङ्बाट बगेको

बतासको गाढा सुसाई

हत्केलामा नअटेको

गुँरासको रंग

एकविहानै चियाएर हेरे आँखीझ्यालबाट

डाँडापारि रगतको होली खेलेर

घुरझैँ सम्पूर्ण परिवेश तताउँदै

अनन्त ज्योतिका लप्काहरू उचाल्दै

घाँटीमा सुर्केनी कसेझैँ

छङ्छङ झरिरहेको झरनाको पानी

मेघको गर्जन र विजुलीको उज्यालोमा

त्यो परिचित देउरालीमा मयूरको नृत्य

तिमी नै तिमी पोखिएकी रहिछौ

पानी–पानी भएर ।

पसिनाले सुम्सुम्साएर

हातका ज्यावलहरू

एक टुक्रा अध्याँरोसँग

पत्रैपत्र पट्याएर

सम्झनाका चिनोहरू

सिँचेर राखेको छु

मनको अगेनीमा

तिमीलाई पर्खेर रङ्गहरू पोतेको छु

सपनाहरू उघारेर सिरानीमा थापेको छु

तिमी आउछ्यौ कि भनी

घरि–घरि चियाएको छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।