19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म फेरी हारें

कविता दिनकर नेपाल May 1, 2010, 12:32 pm

म फेरी हारें ।

पहिले ढुङ्गा-मूढा

अनि धनुषबाँण

बन्दुक बारुद तोप टैंक

र अणुबम

इतिहासदेखि इतिहाससम्म

एकपछि अर्को

विजय ध्वनि गाउँदै रहे।

प्रत्येक पटक

म हारी रहें।

मासुका टिलाहरु थोपरेर

पर्खालहरु बनाइदिएँ -

भोक बढी रह्यो तर!

रगतका खोलाहरु बगाएर

धर्तीको छातीमा लेखिदिएँ

सिमानाहरु

तिर्खा मेटिएन तर!

श्रीपेचको प्रत्येक स्थानान्तरणसँगै

इतिहासको पाना पल्ट्याउने प्रकृयामा

मैले कैयौं टन मासु हारें

कैयौं लिटर रगत हारें

कैयौं जीवन हारें

म हारी रहें।

प्रत्येक हारपछि

बादलको किनार चम्किदा

सुर्य उदाउने आश

त्यही

फेरी नहार्ने प्रण

तर अर्को भुकम्प संगै

मेरो विश्वास पग्लेर पानी बन्यो

आस्था तापमा उड्यो

मुस्लोमा सुर्य छोपिनै बित्तिकै

बदलिएको समयको प्रचण्डतासँग

म फेरी हारें।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।