19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भ्रमको पर्दा च्यातिएको दिन

कविता चंकी श्रेष्ठ ‘अभय’ May 2, 2010, 1:32 pm

तिम्रो भ्रमको पर्दा च्यातिएको दिन

आँसुहरूको दियो बालेर म तिमीलाई भेट्न आउनेछु

र, प्रकट गर्नेछु मेरो युगको अन्तिम समवेदना तिमीलाई ।

मिच्नेहरू मिचिरहेछन् हत्केलामा

आँसु र पसिनाका फूलहरू

निमोठ्नेहरू निमोठिरहेछन्

निश्छल/कोमल जिन्दगीका पालुवाहरू

यो बेहिसाब आँसु र पसिनाको हिसाब कसरी हुने हो,

त्यो हेर्न बाँकी नै छ ।

बन्दुकका खेलहरू तिमीलाई प्रिय लाग्छन्

प्रिय लाग्छन् तिमीलाई धारिला खुकुरी र छुरीका खेलहरू

तर, बन्दुकको पर्रा खोस्रेको घाउले

मेरो इख तिम्रो विरूद्ध पहाड बन्छ

छुरी र खुकुरीको चोटले मेरो आवाज

तिम्रो विरूद्ध तरबार बन्छ

बन्द हुन्नन् तिम्रा कारबाहीले मेरा ओठहरू

रोकिँदैन मेरो युद्ध ।

निभ्न लागेको दीप केही क्षण चहकिलो हुन्छ तर निभ्छ

गर्जिरहेको बादल भयावह हुन्छ

तर हावाको एकै झोक्काले छिन्नभिन्न हुन्छ ।

जब फुट्नेछ बिद्रोह र असन्तोषको एउटा प्रचण्ड ज्वालामुखी

र, सल्कनेछ अन्यायको धुरीमा आगो

म विश्वास गर्छु,

त्यस दिन तिम्रो अपराधको आकाशमा

रापिलो घामको संक्रमण हुनेछ ।

तिम्रो भ्रमको पर्दा च्यातिएको दिन

आँसुहरूको दियो बालेर म तिमीलाई भेट्न आउनेछु

र, प्रकट गर्नेछु मेरो युगको अन्तिम समवेदना तिमीलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।