कुइरेहरुको भारी बोकेर अधिराज्य घुमियो । न रुपैया समाउन पाइयो न मैया नै हात लाग्यो । आफ्नो खुट्टामा अरु नै उभिए जस्तो लागेर आफु नै उभिन पर्यो, भनेर उपियाँ जस्तो यता र उता उफ्रिदा उफ्रिदै दुई बिसा पुग्न लागिसकियो । अहिले सम्म घरजम भा'होइन । अब त कसैको घरमा सगुन लिएर गइयो भने पनि 'मेडिकल रिपोर्ट' र 'पुलिस रिपोर्ट' साथमा लिएर जानुपर्छ । नत्र त बुढो कुमार केटा कन्या माग्न आएको देखेर मान्छेहरुले अड्कल गर्छन् 'यो मान्छेको कि त आनिबानि खराब छ कि त जीउको हावापानी धराप छ, होइन भने यो बेला सम्म पनि किन चाहदा चाहदै पनि अकेला छ' भनेर । हुन त धेरै बर्ष पहिला एक बालासँग प्रेमिल संसारको सयर नगरेको कहाँ हो र । तर के गर्नु ? मेरो पिठ्युमा झुण्डिएको दुई वटा जिल्ला स्तरिय परिक्षा उतिर्ण प्रमाण पत्र बाहेक अरु शैक्षिक योग्यताको चिनोबानो नदेखे पछि मेरो माया त के छायासम्म पनि आफ्नो दायाँबायाँ पर्न दिएको हैन ।
'घुम्दै जादा कुकुरले पनि मासुको पोको भेट्छ रे' भन्ने सुनेर मेरो मनमा पनि जुक्ति फुर्यो । अब नेपालको माटोपानीले मेरो लहना चम्कन्दैन । अब यसलाई नुनिलो पानीले घोटेर झलल पार्ने भनेर समुन्द्र तरियो । यहाँ झन कन्तबिजोग । नेपालमा त दुःखसुख जिब्रो रमाउने दानापानी त खान पाइन्थ्यो । यहाँ त रातभरि भूतले झैं काम गर्यो, खाने बेला एक डबका नुनपानी झोलमा जरा पलाको भटमासको पाँच दाना, हुइहुइ पौडी खेलिरहेका, नेपालमा बाख्राले पनि नखाने काचा झारपात, नाक बन्द गर्दापनि आँखैबाट गनाउने अचार, अपुङ्गो जति भात । त्यति भात अप्सनी फाल्दा आधा जान्छ, आधा दाँत मै हराउछ, पेटमा त सम्झना मात्र पुग्छ । त्यति पनि हातले मज्जाले खान पाए त हुन्थ्यो नि दुई वटा सिन्काले खानु पदाँ दाँतबाट पसिना छुट्छ ।
कामको बारेमा त कुरा नगरेकै जाति । मोटरगाडि बनाउने कम्पनि भनेर नेपालमा त फुरुङ्ग भएको मन । यहाँ आएर आरनमा फलाम पिट्दा नेपालमा अनौले उठाउन नसकेका ठेलाहरु उठ्दै फुट्दै गर्छन् । पछाडिको हवाइजहाजको जत्रो पंखाले भोक लाग्दै गए पछि मान्छे उडाउला झैं गर्छ पसिना उडाउने हैन । जिउबाट बगेको पसिनाले एक फोक्टा खेतमा रोपाई गर्नै पुग्छ होला । नेपालमा हलो जोत्न अल्छि लाग्दा माछा मार्न कोशीतिर दौडेको सम्झन्छु । यहाँ त काम गरेन, पैसा आएन, पैसा आएन, ऋण घटेन । ऋण तिरेन, छोरा नेपाल फिरेन । घोटिनै पर्यो ।
हिजो देखि हल्का ज्वरो आइरहेको थियो । आज साह्रै भए पछि काममा जान पनि सकिएन । विदेशको ठाँउमा शत्रु पनि बिमारी नहोस् । तातो पानी सम्म खुवाइदिने कोहि छैन । बगरको मुढा झै लडिरहदा विगतका दृष्यहरु आँखाको पर्दामा कुनै मार्मिक चलचित्र झैं बग्न थाले । सानैमा बुबाआमाको प्यारबाट बन्चित हुनु परेको, घरको जिम्मेबारी काँधमा आउदा विधालय जाने रहरहरुको घाटी थिचेर हातमुख जोर्न यता र उता भौतारिएको । अब भगवानसँग रिस उठ्यो । मैले जिन्दगीभर कसैलाई नराम्रो वचन गरिन । ढाँटेर छलेर कहिल्यै आफ्नो पेट भरिन । कसैलाई दुःख दिएको छैन, न त हात नै बाधेर बसेको छु । फेरि मलाई किन कहिल्यै सुखशान्ति छैन ? पाखुरी बजाएर खाने मान्छेलाई किन यसरी ओछ्यानमा लडाएको ? मनमनै भगवानलाई सोधिरहे । अचानक कोठामा बिजुली चम्कदा एउटा आकृटि प्रकट भयो र सोध्यो ।
'बालक ! भन तिमीलाई के चाहियो ?'
'तपाई को ? यहाँ कसरी आउनु भयो ?'
'बालक ! म भगवान हूँ । तिमीले जे नामले पुकारे पनि हुन्छ । म तिम्रो दुःख हरण गर्न आएको । छिट्टो माग के वर माग्छौं ?'
मैले आफैंलाई जमाएर एक चड्कन लगाए । गिदी गनायो त्यति साँघुरो कोठामा पहेल्यै तोरी फूलेको फाँट देखेपछि विश्वास भयो यो सपना हैन । यस्तो समयमा कसले देशमा सुखशान्ति अनि समृद्धि माग्छ र मैले पनि छोटो वर मागे 'पैसा' ।
'आजको चिठ्ठा तिमी एक्लैलाई भयो ।', यति भनेर भगवान अन्तर्ध्यान हुनु भयो ।
करोडौ डलर बराबरको 'ज्याकपट' मलाई । यति भए पछि के चाहियो । मेरा चिम्से आँखाले ठूलाठूला भविष्यहरु देख्न थाले । राजधानीको मुटुमा सुविधासम्पन्न भव्य महल, महंगा मोटरकार, घरभरि नोकर चाकर, अप्सराजस्ती जीवनसखी आदि इत्यादि । 'भगवानले दिदैन, दियो भने दिन जान्दैन' भन्थे हो रहेछ । मेरो ज्वरो कतिखेर चट् भयो पत्तै भएन । सपिंग मल तिर निस्के । महंगा विलासिताको सामानहरु भएको ठाँउतिर निक्कै अल्मलिए । भोलिबाट मैले चाहे भने ति सबै मेरा हुनेवाला थिए । एउटा सय डलर पर्ने वाइन लिएर फर्के । वाइनको चुस्कीसँगै बाकि रहरहरुको लिस्ट बनाउन थाले । कति चाडै दिन ढलेछ मेलै पाइन । साँझ भयो । टेलिभिजनमा चिठ्ठाको नतिजा आउने च्यानल लगाए । प्रत्यक्ष प्रसारण शुरु भयो । मेरो ढुकढुकी बड्दै थियो । चिठ्ठाको नतिजा आयो, सकियो । म पातालभित्र भासिन पुगे । अरु नै छ जनाले रकम जति दामसाहि बाँडेर लगे । मलाई त केहि पनि बचेन । फेरि भगवानलाई सम्झे । गाह्रो नमानि फेरि प्रकट भए । रिसाउदै सोधे - 'यसरी मेरो भावना माथि किन खेलवाड गरेको ? भगवान भएर यस्तो घटिया मजाक गर्ने ?'
'मैले कहाँ ठट्टा गरेर, बालक ?'
'अनि खै त मलाई चिठ्ठा परेको ?'
'कुनै फल प्राप्त गर्न त्यसको लागि केहि न केहि कर्म गर्नु पर्छ । बिना कर्म म पनि केहि गर्न सक्तिन । '
'अनि मैले के गर्नु पर्थ्यो त ?'
'बालक तिमीले कमसेकम चिठ्ठाको टिकट किन्नु पर्थ्यो, तिमीले नम्बरै लिएनौं मैले कसरी तिमीलाई चिठ्ठा पारिदिने ?' यति भनेर भगवान फेरि अन्तर्ध्यान हुनु भयो ।
ज्यामिरे-३, खोटांग; हाल: दक्षिण कोरिया