19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पठन- २

कविता मनोज बोगटी May 14, 2010, 1:08 pm

ई-अक्षरहरू डाउनलोड गरेर

कागजमा हेर्दैछु म

प्रिन्टरबाट निस्किएको मेरो पाठको आजको आँखा।

मलाई यत्ति चाहिएको हो

आज बुझ्ने

डा. गोबिन्दराज भट्टराईको पोस्टमोर्डन लिटरेचर-माथिको लेख।

विचार ठुन्का-ठुन्का भएर छरिएको

एक्स् रे हेरेर

पाठकलाई लागेको रोग चिन्नु अघि

मेरो स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपले औंली उठाउँछ।

तक्निकीको पछिपछि कुद्ने कविले

गरेको उत्पादनको वकालत

कम्पनीको विज्ञापन हो कि उसको कला?

मेरो नाममाथि हुन नसकेको तर्क

उसको दाममाथि हुन्छ।

गाईको थुन निचोर्ने औंला

अमूल मिल्कको प्याकेट निचोर्दै गर्दा

कविता पढ्ने पाठकले

विज्ञापन पढ्छ?

प्रकृति र विज्ञानसँगसँगै कुम मिलाएर उभिएको छ अघिल्तिर

मैले दुइमा एकलाई राम्ररी चिन्न सकिन भने

विश्वको सबैभन्दा इमान्दार अन्धो हुन्छु म?

आज पनि

घरमा पढ़ेको चेतनभगतको किताबको रिव्यू

नेट-मा पढ़ें मैले।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।