19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पीडित आँखा

कविता दीपेन्द्र के.सी. May 20, 2010, 12:11 pm

आँखा !

झिमिक्क गरिनसक्दै

अलार्म बजिसक्छ घडीमा

थर्को ठोकिन्छ कानमा

चोट लाग्छ आँखामा

एउटा तन्द्रा भंग भैसक्यो

तर पनि

आँखाले निद्राको अपेक्षा गरिरहन्छ

फेरि झल्यास्स बिउँझदै

सतर्कताको हाउभाउमा खोल्छ

आँखा

सपनाहरु अधकल्चो छोडेर

आजको लागि

दिमागमा योजनाहरु भर्दै

अमिलो मन गह्रुँगो तन वोकेर

एकतमास ओच्छयानमाथि लोभिदै

लाग्छ, अरुका सापट लिएझैं

आफ्नै आँखा आफैलाई बिझाउदै

ओच्छयानसँग

अस्थायी सम्बन्ध विच्छेदगर्न बाध्य छ

सपना देख्ने अधिकार पनि गुमाएर

थकान र अनिद्रासँग खेल्न अभ्यस्त

पीडित आँखा !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।