19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेच नाच

कविता कृष्णदेव रिमाल May 20, 2010, 12:19 pm

वेपर्वाह नाच

नाच्दैछन् मेचहरु

संसारकै मन तान्ने

मनमोजी नाच

वाह ! क्या रङ्गीन

यो भुईँफुट्टे नाच ।

घरी पाङ्ग्रा गुडाउँदै

कैल्हे ज्यान मर्काउँदै

छारो छर्केर आँखाहरुमा

भुलाएर दुनियाँलाई

वाह ! क्या शानले

नाच्छ यो मेच ।

पाङ्ग्रा खुस्किए पनि

खुट्टा भाच्चिएर पनि

ज्यूँका त्यूँ तन्मयता

मादकता थै थै मा

मचकता पादहरुमा

वाह क्या गजवको

कर्कान छ मेचको ।

हल्लाउँदै हर भट्टीहरु

कल्लीका छमछमीले

टक्क रोकिएला कि

ब्रम्हाण्डै भने झैँ

वाह ! क्या वेहोस छ

असरल्ल नाच यो ।

मर्काउँदै कम्मर अनि

झिम्काउँदै आँखा पनि

त्यै पारीको लुठासँग

नाचिरा'छ हाम्रो मेच

वाह ! क्या लहसिँदै

नेपथ्यको निर्देशनमा

उफ्रीरेछ हाम्रो मेच ।

जामाको फहरानमा

पगरीको फुस्कानमा

यो मोजको मेच नाच

समिपकाले सनेत्र हेरे

दूरकाले दुर्विनले हेरे

कतै हजुर चैँ

छुट्नु भो कि भन्ने

यो ज्यानलाई

यत्ति एउटा खुट्को रह्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।