19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संघियता

कविता उमेश राई "अकिञ्चन" May 21, 2010, 12:11 pm

शासक

तिमीलाई घडि मनपर्छ वा समय ?

शासक

तिमीलाई फूल चाहिन्छ कि माली ?

भन

तिमीलाई

मेरो कविताको

कस्तो हरफ मनपर्छ ?

तिम्रो अनुहारजस्तो

वा

भोको नाङगो नेपालीजस्तो ?

आहाराको खोजीमा

प्रत्येक बिहान बाँसझ्याङबाट

उडिरहेका बकुल्लाझै

दिनहुँ

तेस्रो विश्वको

पासपोर्ट बोकेर

उडिरहेछन् हजारौं मदनहरू

उस्तै छ कर्णालीको कछाड

उस्तै छ कालापहाड जानेका कहानी

चुनावी नारामा

धेरै पटक सुनियो

उस्तादले गाएको

राष्ट्रवादको गीत

देखियो धेरै–धेरै

काचुली फेर्नेहरूलाई

सिँहदरबार छेउ

हामीलाई मनपर्देन

कालो जुत्तामा उभिएको मान्छे

कालो घोडा चढेको सालिक

अनि

बिरूपाक्ष भन्दा

कुरूप बनाइएको

कालो काठमाडौं

हामीलाई फर्काइदेउ

हाम्रो सानो संसार

हामी तराइको घुङी र सिपीले बाँचौला

हामी पहाडको चण्डि र भैलीमै रमाउला

हामी कर्णालीको कछाड नै लगाउँला

हामी हाम्रै आँगनको फूल बनौला

हामी हाम्रै माटोको माली बनौला ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।