19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक्कैछिन सानो परिधि मलाई

कविता विश्व सिग्देल May 27, 2010, 12:36 pm

हेर है !

नछोए नि मेरा कविता

नसँगाले छरिएका पन्नाहरु

भुईं/टेबुल/किताबका पत्र/गोजी

रहन दिए

यथास्थान

सडक

राता हरिया बत्ती

आदेश दिन्छ

म लुरुक्क हुन्छु

अफिस

करेन्ट चरो, पाले

आदेश दिन्छ

म लुरुक्क हुन्छु

चामल पसल

बाँकी बक्यौता

आदेश दिन्छ

म लुरुक्क हुन्छु

अरु त अरु

तिमी

भान्छा,सयनकक्ष

आदेश दिन्छेऊ

म लुरुक्क हुन्छु

अब

आदेशमाथि आदेश सहेर

सधिएको गोरुको पिठ्यूँ

सिधा गर्न

छर्न/बढंगी बनाउन/भत्याङ भूतुङ गर्न

मैले नपाउने लेख्ने बेला ?

म छरिन्छु

सेता सूर्य किरण पन्ना

लुकाउँछ

अन्तर कुन्तर घाम

मात्तिन्छु/लड्खडाउँछु ,हदयको छाल

ठोक्किएर लड्छु, छरिएका कविता

चिप्लिन्छु, हिलो कविता

उ कमल...पख ! पख !

एक्कैछिन

सानो परिधि

तिम्रो के जान्छ ?

बरु ढोका लगाउँछु नि हुन्न !

हेर है !

नछोए नि मेरा कविता

नसंगाले छरिएका पन्नाहरु

भुईं/टेबल/किताबका पत्र/गोजी

रहन दिए

यथास्थान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।