19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शीशा र रत्नहरु

कविता राजेन्द्र शर्मा May 30, 2010, 5:41 pm

सूर्यको किरण

फुटेका शीशाका टुक्रामाथि झरेपछि

जाज्वल्यमान् ज्योतिपुञ्जहरु झैँ

झल्झलाकार छन्

प्रत्येक टुक्रा

लाग्छ उनीहरु नै हीरा हुन् ।

मानौ यस धर्तीमा

उनीहरु बाहेक

टल्कने अरु बस्तु नै छैनन्

अरु त टल्कन जान्दै जान्दैनन् ।

शताव्दीयौँ देखि

यस्तै हुँदै आइरहेको छ

यस शहरमा

कुनै नौलो र अचम्मको घटना होइन यो ।

पहिले पनि फुटेको शीशा

यस्तै टल्केको थियो

आज पनि उस्को स्वरुपमा

रत्तिभर फरक छैन

चम्काइ उही हो टल्काइ उही हो ।

जोहरीहरु मोलतोल गरिरहेका छन्

सबभन्दा धेरै टल्कने

सबभन्दा ठूलो दाम पाइरहेछ

त्यसैले शहरका टुटे फुटेका शीशाहरु

अथक प्रयत्न गरेर आफूलाई टल्काइ रहेछन् ।

लिलाम बढाबढको बजारमा

उत्तर दक्षिण र पर परका जोहरहरु

भेला भएका छन्

शायद पहिले पनि यिनीहरु सजिएका हुँदाहुन्

ती जोहरका बैठक र शयनागारमा ।

यसपाली फेरि शीशाहरु

अमूल्य रत्न झैँ बिकेका छन्

जोहरहरुका उन्माद र अट्टाहासमा

फेरि पनि उज्यालो भरिएको छ ।

फुटेका शीशाहरु

हीरा र मोती झैँ सजाइका छन्

पाहुना घरहरुमा

मूल्यवान बनाइका छन् ।

पुनः एकपल्ट उपहास भएको छ

रत्नहरुको हीराहरुको अनि अमूल्य मोतीहरुको ।

धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।