19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गणतन्त्रको पुतला(व्यङ्ग्य कविता)

हास्यव्यङ्ग्य नरनाथ लुइँटेल June 1, 2010, 11:18 am

खोलो अब तलतिर होइन मास्तिर बग्छ

आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ

र अब जमिन उचालिएर आकाश बन्छ

यो उलटपुलट हो, यो फेरबदल हो

समयले ल्याएको जबरजस्त अदलबदल हो ।

गणतन्त्रको स्वप्नवगैँचामा फुलेको म जुही हुँ, जाई हुँ

स्वनामधन्य म दुर्जकुमार राई हुँ

म राष्ट्रको पहरेदार एक सिपाही हुँ

धेरै खतराहरूसँग लड्ने बहादुर योद्धा

म जनता र व्यवस्थाको कुशल संरक्षक हुँ

राजशाही व्यवस्थाको विरोधमा

कमिलासरी मानिसहरू सडकमा ओर्लिंदा

बज्र भएर उभिने म राष्ट्रसेवक हुँ

यसो गर्ने हजारौँ हजारको म एक्लो प्रतिनिधि हुँ ।

थामिनसक्नुको हुरी बनेर मानिस ओइरिन थाले

परिवर्तनको आँधी रोक्न दुर्गमा खटिएको म दुर्ज

टुलुटुलु हेरर बस्न कहाँ सक्थेँ र

कमिलाको गोलोमाथि निशाना दागेर दनादन

फुरनदाना लोड गरिएको पेस्तोल चलाएँ

यिनै गर्विला हातको पौरख हो

एकै थलोमा आधा दर्जन जति ढलाएँ ।

रगतले सडक हिलाम्य भएथ्यो

अखबारभरि त्यही रगत पोतिएथ्यो

एउटा बेबकुफ पत्रकारले खिचेको तस्विर

मेरो पौरखी कार्यको नमुना, निशाना

मैले रोक्न खोजेको आँधी, झन भूमरी परे उठ्यो

र एउटा घुर्मैलो बिहान म थामिरहेको छु भन्दाभन्दै

राजशाही ढल्यो, म हतास भएँ, म निराश भएँ

अखबारमा छापिएको तस्विर हेर्दै

म बसेको घरतिर चोरऔँलो ठड्याएको देख्न थालेँ

मेरो बहादुरीको कदर एकदिन कसो नहोला ?

प्रतीक्षाको पलपल गन्दै केही वर्ष बिताएँ ।

मेरो हातमा गन त छँदै थियो तर गणतन्त्र आएछ

मेरो गनले ताक्दाताक्दै उम्किएकाहरू सांसद र मन्त्री भएछन्

मैले पक्रेर लात्तै लात्तले भ्यानमा खाँदेकाहरू माथिमाथि गएछन्

मलाई बिर्सिए कि भनी चिन्ता लाग्नलाग्न थालेको बेला

मेरो प्रमोशन भयो, जो हुनैपथ्र्यो

मेरो पौरखको प्रशंसा गरियो, जो गर्नैपथ्र्यो ।

बिचरा सगुनहरूका आमाहरू व्यर्थैमा रुन्छन् किन ?

उनीहरूकै आँसुमा मेरो पौरख फलिरहेको छ मुस्काउँदै

बिचरा प्रल्हादहरूका पत्नीहरू बिलौना गाउँछन् किन ?

उनीहरूकै आलापबिलापमा

मेरो बहादुरीको बाली मौलाइरहेछ

त्यसैले त गणतन्त्र दिवसको पुनित अवसरमा

मलाई ‘सुप्रवल जनसेवाश्री’को तक्मा थमाइयो,

शिर निहुराएर मेरो बहादुरीमाथि सम्मान जनाइयो

क्याबात, मेरो सम्मानका सिफारिसकर्ताहरू

क्याबात, मलाई सम्मान गर्ने निर्णयकर्ताहरू

आहा, म कति प्रफुल्ल भएको छु

माउजरबाट त्यही पेस्तोल झिकी

हजारौँपटक चुम्मा खाएको छु ।

रुन्चेहरू डाँको छोडेर रोइरहेका छन्

पिञ्चेहरू आँसुको भल काडेर रोइरहेका छन्

म भने मेरो ज्यानमारा पौरखप्रति गौरव गर्दै

खित्का छाडेर हाँसिरहेको छु

म बहादुर दुर्जकुमार राई

म हजारौँ हजारको एक्लो प्रतिनिधि हुँ

म मौलिक नेपाली गणतन्त्रको खाँटी पुतला हुँ ।

१५ जेठ २०६७

तेस्रो गणतन्त्र दिवस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।