19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विश्वासघाती समय

कविता मणिराज सिंह June 2, 2010, 10:21 am

चारैतिर उज्यालो छ र पनि

किन केही देखिँदैन कतै पनि

सून्य केबल सून्य फिँजिएझैँ

सबैतिर एकनाश छाएको छ सन्नाटा

भाङ्ग, धतुरो खाएर लर्बराइरहेको बिहानी

रेबजिग्रस्त बहुला कुकुरझैँ

पानीसँग डराएर

भीर–भीर ढुन्मुनिदै

आत्महत्याको प्रयासमा

बमसँग वसन्त साटिरहेछ

आफ्नै लाशमाथि कात्रो

सजाइरहेछ ।

रित्ता पेटहरूको युद्ध

र नाङ्गा आङ्हरूको हड्तालले

तिमी र ऊ बीचको अन्तर

झन–झन फराकिलो हुँदैछ

अन्धकारमा हुरी–बतास सँगसँगै

बाढी र पहिरोले गाजेझैँ

कोर्रा, सुम्सुम्याउँदै समय

ह्वाहर्वार्ती बलिरहेछ

आफैँभित्र गुम्साएर संवेदना

सपनासँग बम साटिरहेझैँ लाग्छ

आफैँलाई आश्वास्त पार्न

थपथपाएर आफ्नै बिद्रोह

विश्वासघात गरिहेझैँ लाग्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।