म सँग
गिटारको खोल मात्र छ
गिटार
र
गिटारको आवाज
तिमीसँगै बिलाए कहाँ......कहाँ...........
यो
वर्षाको समय
बगिरहेको बाग्मतिजस्तो
धमिलो आँसु झार्दै
परीरहेछ झरी
म
तिम्रो सम्झनाको सप्कोले
ढाकिरहेछु रातो गुलाफ
कालो–सेतो खुइलिदै गएको
जेब्राक्रसमा
एक्लै छु
कुनै क्याफेको
टेबल न. २ मा
तर
सँगै बसेको छ
तिम्रो सम्झना
कालो कोकको बोतलमा पनि देख्छु
तिम्रै अनुहारको गोरो झझल्को
कहाँ सँगै छैनन् सम्झनाहरू?
यो सिंहदरवारको
फराकिलो गेटदेखि
त्यो सुदुर गाउँको
केरा झ्याङसम्म
अझै पनि
कुनै पहाडी बाटोमा
गुडने गाडीको पछाडि झुण्डिएको
गाउँले मान्छे वा उसको छायाँसरी
झुण्डिदैँ–झुण्डिदैँ पछयाइरहन्छ किन ?
तिम्रैं एक अँगालो अनुहार
भर्खरै देखिएको छ
चित्रकारको आलो पेन्टिङजस्तो
इन्द्रेणी
आकाशमा
यही इन्द्रेणीमुनि
तिमीलाइ सम्झेर लेख्दा
किन काम्छन मेरा हातहरू
सायद
माइकल ज्याक्सनको
मृत्युझैं
दुखे मेरा औलाहरू
यहिनेर हो यहिनेर
बच्चाले हिर्काएको फुटबलजस्तो
पुग्न नसकेर टाढा
रोकिएको थियो
हम्रो गोलो यात्रा ।
बिराटनगर