17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रोडम्याप

लघुकथा कृष्ण बजगाईं June 7, 2010, 12:08 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

यस पटक पनि नेताहरुले भनेको रोडम्याप अनुसार जनता लोकपथमा हिँडे । नेता अघिअघि जनता पछिपछि । लोकपथ सिधै गएर सिंहदरवारमा टुंगियो । त्यहाँ त आम जनतालाई प्रवेश निषेध थियो । जनतालाई बाहिरै छोडेर नेताहरु ससम्मान भित्र छिरे ।

त्यस भन्दा अघि प्रजा पथमा हिंडेका थिए जनता । त्यसबेला पनि सिंहदरवारको पर्खाल बाहिरै रहे ।

त्यो भन्दा पनि अघि राजपथमा हिंडेका उनीहरुले आधा बाटो पनि पुरा गर्न पाएका थिएनन् ।

फेरि प्रचण्ड पथमा हिँडे जनता । यस पटक पनि अघिल्लापटक जस्तै जनतालाई बाहिरै छाडेर नेतामात्र सिंहदरवार छिरे ।

नेताहरुले जुन्जुन् पथ हिँड्नु भने त्यहीत्यही पथमा जनता हिँडे । तर आधाबाटैमा उनीहरुलाई छाडेर नेतामात्र दरवार तिर छिरे । बाटो थाहा नपाएर अल्मलिएका जनता वर्षौदेखि चक्रपथमा झैं कहिले दायाँ, कहिले बायाँ तिरबाट फन्फनी घुमिरहेका छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।