14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

समर्पण

कविता आचार्य प्रभा June 7, 2010, 1:28 pm

म पहाड उक्लेर

समतल नियाल्ने मान्छे

म पहाडको उचाइमा

अभिमानी बन्न सक्दिन

र समतलको होँचाइमा

उसलाई बिर्सन सक्दिन

किनकि पहाडको

स्वाभिमान बढ्नु भनेको नै

समतल भुइँमा लमतन्न परिदिनु हो

पहाडले नभ चुम्नु भनेको नै

समतलले तल बसिदिनु हो

समग्रमा कसैको स्वाभिमान

भनेको नै कसैको समर्पण हो

यसैले म भन्छु

कसैको समर्पणमा

आफ्नो आभा झल्केको

अनि आफू अग्लिएको

उचाइलाई ति सबैले

स्वच्छ आत्माले हृदयंगम गर्न सक्नु नै

अझ अर्को स्वाभिमान बढ्नु हो

कसैमा फेरि नौलो

सम्मानको कारोबार हुनु हो

यसर्थ,

स्वाभिमान बढ्नु र

उचाइ छुनुमा समर्पणको

कथा नीरिह छ

उ सधैं बिवश छ

अनि सबैको नजरबाट

ओझेलमा छ

त्यसैले नबिर्स कसैले पनि

पहाड उक्लेर

समतलको अस्तित्व भुल्नु,

समतललाई केवल लडिरहेको

निर्जिव शरीर मात्र देख्नु हो

त्यसैले म त

पहाड उक्लन

समतललाई नियाल्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।