19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गाउँ विउँझेर

कविता रुपेश राई June 7, 2010, 6:53 pm

गाउँ विउँझेर शहर तर्सियोस् ।

दानाहरू,

लाम्चिलो, डल्लो

केही सानो, ठूलो पनि

प्रयास गर्दैछु, छुट्ट्याउने ।

‘वीरबहादुर’हरू,

गाउँका, गरा बिराउँदैछन्

रोप्नलाई क्रान्ति, भुँड़ि अघाइन्जेल ।

‘वुद्धिमान’,

सुटुक्क, शहर रोप्न भन्छन्

अरू, के...के पनि !

पापा, शहर कसरी बस्यो होला ?

यो, उत्तर दिनु छ

शहरबाट गाउँ चियाएर

गोजिमा ‘न्यानो’ हात घुसारेर ।

म,

आफैलाई हेरदैछु

मान्छे उभिएर

गुन्द्रुकको सुप पनि पिउँदैछु ।

अलिक त....ल देख्दैछु

बगर खोला पटक्क नमिलेको

किन होला ?

उसले धर्ती थुक्यो,

मैले आकाश थुके । अनुहार भिज्यो

सोच्दैछु किन भिज्यो ?

शृङ्खलित विशृङ्खलताले हो कि

साक्षर अशिक्षितताले हो !!

तर..अहो !

पार्थक्य देख्दैछु, गाउँ शहर माझ ।

यसैले त!

गाउँ बिउँझेर शहर तर्सियोस्

विकासले माला उनियोस्

शिक्षाले सन्दुक बनियोस् ।।

(शहर, गाउँतिर पस्दैछ रे)

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।